उकेरा प्रभाव : मिलेमतोको खुलासापछि मदन भण्डारी प्रतिष्ठानले साढे तीन करोडको टेन्डर रद्द गर्यो
काठमाडौं : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले करिब तीन करोड ४० लाखको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’को टेन्डरमा मिलेमतो गरेको उकेराको खुलासापछि प्रतिष्ठानले टेन्डर रद्द गरेको हो। उकेराले प्रतिष्ठानले अगाडि बढाएको खरिद मापदण्डसहितको प्रक्रियाको अध्ययन गर्दा त्यसमा मिलेमतो देखिएपछि प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।
मदन भण्डारी प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’को टेन्डर रद्द गरेको बताए। तर कारण खरिद प्रक्रिया ढिला भएको दाबी गरे। “चुनावको कारण खरिद प्रक्रिया अगाडि बढाउन करिब डेढ महिना ढिला भयो,” उपकुलपति डा. ज्ञवालीले उकेरासँग भने, “बजेटको स्रोत सुनिश्चितता भएपनि खरिद प्रक्रिया नै ढिला सुरु भएकाले टेन्डर रद्द भएको हो।”
तर, उकेराको खोजमा मकवानपुरस्थित हेटौँडामा रहेको प्रतिष्ठान नेतृत्वले सेटिङ अनुसार चाहेकै निश्चित सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी तीन करोड ४० लाखमा ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको खुलेको थियो।
प्रतिष्ठान नेतृत्वले ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन किन्न गरेको टेन्डरको प्रावधान तथा प्राविधिक स्पेशिफिकेशनका मापदण्डहरू मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यु’लाई नै लक्षित गरेर उसैको नेपाली सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति देखिएकोबारे उकेराले खुलासा गर्दै समाचार सम्प्रेषण गरेको थियो।
उकेराले मिलेमतोको खुलासा गर्दै वैशाख ४ मा ‘मदनको नाममा भ्रष्टाचार, उपकुलपति डा. ज्ञवालीको सक्रियतामा साढे तीन करोडको स्वास्थ्य उपकरण खरिद सेटिङ’ शीर्षकमा समाचार सम्प्रेषण गरेसँगै मिलेमतो छताछुल्ल भयो र प्रतिष्ठानले यो टेन्डर रद्द गर्यो। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको लागि यो मेसिनको टेन्डर भएको थियो।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबीएएचएस) ले २०८२ चैत १० (२०२६, मार्च २४) मा हेटौँडा अस्पतालका लागि ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन खरिद गर्नेगरी टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो।
यसरी बदनियतले अगाडि बढाएको प्रतिष्ठान नेतृत्वले २०८३ वैशाख १० (अप्रिल २३)को दिउँसो १२ बजे सम्ममा ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोके पनि टेन्डर प्रस्ताव हुनु अघि नै टेन्डर रद्द भएको हो।
प्रतिष्ठानले टेन्डर रद्द गरेको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘एमबीएएचएस–एचएच–गुड्स–इन्डोआथ्र्र्रो एनसीबी–१एस२इ-२०८२-०८३-२४’ हो।
वैशाख २०, २०८३ आइतबार १९:४७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।