विदेशबाट फर्किएर माटो मुसारिरहेका शम्भुलाललाई फेरि उडाइदिने धनुषाको ‘रित्तो चापाकल’
धनुषा : मैथिलीमा एउटा भनाइ छ, ‘पग-पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल।’ अर्थात्, पाइला-पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र मिथिलाञ्चल।
यसरी पोखरीले प्रसिद्धि पाए पनि अहिले मिथिलाञ्चल सुक्खाको मारमा परिरहेको छ। एकातिर वर्षा नहुनु र अर्कोतिर भूमिगत पानीको जलस्तर घट्दै जाँदा खेतीपातीमा प्रत्यक्ष असर त पारेको छ नै, पोखरी सुक्खा भए, गाउँभरिको चापाकल पनि सुक्न थालेको छन्।
अनि यसको मारमा परेका छन् शम्भुलाल पासवान(चमार) जस्ता किसान। धनुषाको औरही गाउँपालिकाका वडा नम्बर ३ का शम्भुको जमिन भनेको जम्मा १० धुरमा बनेको एउटा माटोको घर मात्रै छ। आर्थिक अवस्था कमजोर भएपछि धनुषाको औरही-३ का उनी १२ वर्ष अघि परिवार पाल्न साउदी अरब पुगेका थिए। २०६८ सालमा नेपाल फर्किए।
त्यसपछि बाबु बाजेले गरेको खेती नै सुरु गरे। उनका बुवाले पनि अरूकै खेतमा अन्न उब्जाएर जीवन बिताएका थिए। उनी पनि त्यतै लागे। तर बुवाको समय जस्तो भएन। उनको बुवाको समयमा पानीको समस्या थिएन। आकाशे पानीले नै खेती गर्न पुग्थ्यो। तर अहिले त्यस्तो छैन। खेतीको समयमा आकाशे पानी नपर्नु अनि जमिनमुनिको पानी पनि सुक्दै जाँदा ५५ वर्षका उनी पून विदेशै जाने हो कि क्या हो भन्नेमा पुगेको देखियो।
१० वर्ष अघि उनको गाउँ नजिकै खहरे खोला थियो, इनार धाराहरू थिए। ५ सयको घरधुरीलाई पानीको कुनै अभाव थिएन। तर त्यस यता समय फेरियो। खोला मात्रै सुकेन इनार पनि सुक्यो। धारामा पानी समेत नआएपछि केही गैरसरकारी संस्थाले डिप बोरिङ गरेर पानी आउने तीन वटा धारा बनाइदिए। तर धेरै घर-धुरी भएकाले पानी पुर्याउन हम्मे हम्मे हुन्छ।
“१० वर्ष यता जस्तो पानीको संकट कहिल्यै देखिएन। तीनवटा धाराले पानी पुर्याउन हम्मेहम्मे पर्छ। बस्तुभाउलाई समेत त्यही धाराको पानीले पुर्याउने हो,” शम्भुलालले भने, “पहिले यस्तो थिएन। घर-घरै धारा थियो। इनार पनि थियो। अहिले त पानीको हाहाकार नै छ। पानी पर्दैन, फसल हुँदैन। अब विदेश जाऔँ भने उमेर पनि ५५ कटिसक्यो। कसरी परिवार पाल्ने होला भएको छ।”
८ जनाको परिवार रहेको शम्भुलालको परिवारले डेढ बिघा अरूको जमिन ठेक्कामा लिएका छन्। आर्थिक रूपले कमजोर पासवान परिवार पर्याप्त पानी परिदिए कमसेकम खान समस्या हुन्न भन्नेमा छन्।
पहिला त उनीहरूले दुई बाली लगाउँथे। अहिले पानीकै अभावमा एक बाली मात्र लगाउने गरेको शम्भुलालले बताए। धान नलगाए चामल किन्नु पर्ने भएकाले जस्तो खडेरी परे पनि एक बाली धान लगाउँछन् उनी। बाँकी बाली कम पानी लाग्ने, मुसुरो वा गहुँ लगाउने गरेको उनी बताउँछन्।
“भातै खानको लागि धान बाली लगाउनु परिहाल्यो, बाँकी कहिले मुसुरो त कहिले गहुँ खेती लगाउँछौँ” उनले भने “पानीले सताउनु सतायो।”
गाउँमा बोरिङको व्यवस्था नभएको होइन। औरही वडा नम्बर ३ मा रहेको प्राय खेती गर्ने सबैको बोरिङ गाडेका छन्। तर शम्भुलालले अरूको खेती गरेकोले साहूले बोरिङ गाडिदिएको छैन भने आफूसँग गाड्ने पैसा छैन। “अब हाम्रो त बोरिङ पनि छैन। जुन मान्छे बोरिङ लगाउने (गाड्न) सक्छ त्यही लगाउँछ। त्यस्तो खेती गरिराखेछ। जसको छैन भने त त्यसको त्यस्तै सुखै परिरहेछ। खेत साहूले गाड्दैनन्। हामीसँग पैसा छैन। एक लाख लाग्छ अहिले बोरिङ(पानी तान्ने मोटर) गाड्न कहाँबाट ल्याउनु?” उनले प्रश्न गर्दै जवाफ दिए।
पर्याप्त पानी परेको वर्ष शम्भुलालले खेत नजिकैको पानी तान्ने मोटरबाट पैसा तिरेर पानी तान्छन्। जब सुक्खा हुन्छ त्यसबेला उनको खेत पनि सुख्खै रहन्छ। आकाशबाट पानी नपर्दा जमिन भित्र पर्याप्त रूपमा पानी पस्दैन। बोरिङबाट पानी तान्न पनि गाह्रो छ।
“जसको मोटर छ। उसले पहिला आफ्नो खेती गर्छन्। अनि बाँकी रह्यो भने हामीलाई चलाउन दिन्छन्। तर जमिनमै पानी छैन। उनीहरूलाई पनि पुग्दैन। हामीलाई कसरी दिउन्!” उनले भने।
शम्भुलालका अनुसार, औरहीमा यसरी खडेरी पर्न थालेको एक दशक जति भयो। त्यो भन्दा अगाडि वर्षामा तीन महिनासम्म रात-बिहान पानी पर्ने गरेको उनले सम्झिए।
सरकारसँग शम्भुलालको ठूलो माग छैन। पानीको व्यवस्था, बिउ-बिजन र मल समयमै पाउन पाए उनी अरू जग्गा पनि ठेक्कामा लिएर खेती गर्न चाहन्छन्। तर मुख्य समस्या नै पानीको देखियो।
सुक्खाले ऋणमाथि ऋण
गत वर्षको दसैँ ताका देशभर भारी वर्षा हुँदा शम्भुलालले धान काटेका मात्रै थिए तर घरमा भित्र्याउन नपाएपछि सालभर नै किनेर खानु पर्यो। उनका अनुसार असार- साउनमा पानी नै परेन। जेनतेन खेती गरे। भदौ- असोजमा पानी पर्यो। अलि अलि उम्रिएको खेती पनि बिगार्यो। अनि परिवारका लागि वर्षभरि चाहिने १० क्विन्टल चामल पनि किन्नु पर्यो।
उनका अनुसार पानी परेको बेलामा एक कट्ठामा दुई क्विन्टलसम्म उब्जाउ हुन्छ। पानी नहुँदा ४० किलो मात्रै हुन्छ। खेती नभएपछि विकल्पमा उनी मजदुरीमा जान्छन्। यो वर्षको हालत पनि उस्तै भयो। पर्याप्त पानी नपरेकाले वर्षभरिलाई खान पुग्ने उब्जाउ नहुने उनले बताए। अर्थात् यो वर्ष पनि खाना जुटाउन मजदुरीकै भर।
“आठ जनाको परिवार हो। अरू बेला मेहनत गरेपछि त्यही खेतीले पुग्थ्यो। तर यो साल त मुस्किल छ। पानी नै परेको छैन” उनले भने।
औरही ३ कै अर्का किसान राजेन्द्र पासवान ५७ वर्ष पुगे। उनले आफूले बुझेदेखि खेतीमै जीवन बिताए। अहिले उनको अवस्था पनि शम्भुलालको जस्तो छ। पानीको अभावले पाउनुसम्म दुख पाइरहेका छन् उनले।
“धानलाई सुरुदेखि नै पानी चाहिन्छ। तर त्यही बेलामा जमिनमा पानी हुँदैन। बिउ लगाउँदा देखी नै पानीको समस्या हुन्छ। पानी नभएपछि उता किरा पनि लाग्छ। पानी भएन भने खरेटो (एक प्रकारको रोग) हुन्छ” उनले एकै सासमा भने।
विकल्पमा सबैले मोटरबाट जमिनमुनिको पानी तान्छन्। तर त्यो पनि घट्दै गइरहेको छ। राजेन्द्रका अनुसार पछिल्लो समय जमिन मुनी नै पानी नभएको र घामले जमिन फुटेकाले मोटरले तान्दा पनि पर्याप्त पानी नै आउँदैन।
“सबै जनाले मोटर चलाउँछन्। अब जमिनमै पानी छैन भने कसरी पानी आउँछ र। पानी आए पनि तीन इन्चवाला ठूलो मोटर चल्दैन। तीन इन्चको मोटरमा दुई इन्च डेढ इन्च मात्रै चल्छ अलि अलि पानी दिन्छ” उनले भने।
उनले पनि खेतीका लागि १० कट्ठा जग्गा ठेक्कामा लिएका छन्। वर्षभरको चामलदेखि अन्य आवश्यक सरसामान किन्ने आर्थिक स्रोत नै धान हो। जब खेती गतिलो हुन्न खेती लगाउँदाको ऋण तिर्न पनि मजदुरीमा जान बाध्य हुन्छन्।
उनका अनुसार खेतीका लागि ट्याक्टर लगाउँदा मात्रै पनि घण्टाको २५ सय रुपैयाँ लिन्छन्। त्यसमा पनि एक पटक हैन चार पटक जोत्नु पर्छ। रोपाई, त्यसमा औषधी, बिउ लगायतमा पनि खर्च हुन्छ नै। खेततिर हेर्दै उनले यो वर्ष पनि घरको खर्च धान्ने त परको कुरा, खेती लगाउँदाको खर्च पनि नउठ्ने बताए। पानी नआउँदा खाद्यान्न संकट, घरको आम्दानी, शिक्षा स्वास्थ्यमा पहुँच गुम्दै गएको देखियो।
“वर्षभरि यही उब्जनीले परिवार पाल्ने हो। पानी नपरेर हाम्रो खर्चै चलाउन गाह्रो भयो,” राजेन्द्रले भने, “डिप बोरिङ गरेर खेती गर्न बिजुली किन्न सकिन्न, पानी नभई धान फल्दैन। यही अन्न नभए केटाकेटीलाई खुवाउन र पढाउन सकिन्न। सरकारले कि डिप बोरिङका लागि खर्च दिनु पर्यो की त हाम्रो खानाको टुंगो लगाइदिनु पर्यो।”
खडेरीको समस्या बढेको बढ्यै
गत वर्ष मनसुनको सुरुवाती चरण (विशेष गरी जेठ, असार र साउनको पहिलो सातासम्म) मा मधेश प्रदेशमा लामो समयसम्म खडेरी भयो। मनसुनी वायु कमजोर हुँदा यस क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भयो।
पानीको चरम अभावका कारण मधेसका धेरैजसो जिल्लाहरूमा धान रोपाइँ समयमै हुन सकेन। कतिपय क्षेत्रमा रोपाइँ आधाभन्दा कम भयो। खेतहरूमा धाजा फाट्ने समस्या देखिएपछि प्रदेश सरकारले गम्भीर सुक्खा सङ्कटको सामना गर्नुपरेको थियो। खानेपानीको लागि चापाकल र इनारहरू सुक्दा ट्याङ्करबाट पानी वितरण गर्नुपर्ने अवस्था आएको थियो।
त्यसपछि २०८२ असार २६ गते मधेश प्रदेशलाई नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरियो। साउन ७ मा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशका आठवटै जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त घोषणा गरेको थियो। मध्ये बर्षातको समयमा सरकारले मधेश प्रदेशलाई नै सुख्खा प्रदेशको घोषणा गरे पनि किसानको लागि कुनै राहत प्याकेज ल्याएको देखिएन।
यो वर्ष पनि मधेश प्रदेशमा वर्षाको वितरण खण्डित र अनियमित नै रह्यो। मनसुनयाममा केही ठाउँमा बेलाबेलामा झरी पर्सा, बारा, रौतहट, सर्लाही लगायतका केही क्षेत्रमा बाढी वा डुबानको छिटपुट समस्या देखिए पनि समग्र मौसमी तथा कृषि तथ्याङ्कले यो वर्ष पनि भूमिगत जलस्तर र सिँचाइका स्रोतहरू पूर्ण रूपमा पुनर्भरण हुन नसकेको देखायो।
मधेश प्रदेश सरकारको ऊर्जा सिँचाइ खानेपानी मन्त्रालयका प्रवक्ता राम कुमार खंगका अनुसार पछिल्ला वर्षभरिमा मधेश प्रदेश भरी नै सुख्खा देखिएको छ। यसको प्रमुख कारण चुरे क्षेत्रको बन विनाश र बढ्दै गएको तापक्रम समेत रहेको उनले बताए। अहिले सरकारले पानी बगेका खोला किनारमा सिँचाइ गराउने तयारी गरेको उनले बताए।
“अब भएको पानीलाई सदुपयोग गर्नुको विकल्प छैन,” उनले उकेरासँग भने, “चुरेको दोहन रोक्ने, पोखरी बनाउने योजना प्रदेश सरकारको छ।”
घट्दै पानीको सतह
राजेन्द्र पासवान र शम्भुलाल पासवानले भनेजस्तै पछिल्लो समय मधेसमा खेतीको लागि आवश्यक पानी घटेको पछिल्लो अध्ययनले नै देखाएको छ। आकाशे पानी कम पर्नु, अनियन्त्रित बोरिङले जल भण्डारमा कम हुँदै जाँदा मधेसका जिल्लाहरूमा पानीको संकट भयावह बन्दै गएको देखिन्छ।
मधेसमा पानी संचित गर्ने सबैभन्दा ठूलो स्रोत चुरेबाट निस्किएका बहुसङ्ख्यक नदीहरू खहरे हुन्। इनार र चापाकलको पानीको सतह घट्दै जाँदा पानीको संकट चुलिँदै गएको अध्ययनले नै देखाएको छ।
२ सेप्टेम्बर २०२६ मा प्रकाशित मधेश प्रदेशको ८ वटै जिल्लामा गरिएको “जलवायु, भू–उपयोग र मानवीय गतिविधिका कारण मधेश प्रदेशमा भूमिगत पानीको भण्डारणमा हुने परिवर्तनको यान्त्रिक–अध्ययनमा आधारित प्रक्षेपण” नामक अध्ययनमा अध्येताहरू अञ्जना कुमारी महतो, विशाल दाहाल, रामकृष्ण रेग्मी, गोविन्दप्रसाद पौडेल, रमेश कार्की, प्रकाशचन्द्र घिमिरे र शुक्रराज पौडेलले अध्ययन अनुसार पछिल्लो समय मधेसको भूमिगत पानी घटेको देखाएको छ।
अध्ययनले उपग्रहबाट प्राप्त भूमिगत पानीको भण्डारणसम्बन्धी तथ्याङ्क, एआई तथा जलवायु परिवर्तनसम्बन्धी भविष्यका अनुमानलाई एकीकृत गरेर मधेश प्रदेशको भूमिगत पानीको अवस्था सन् २००३ देखि २०४५ सम्म अध्ययन गरेको छ। अध्ययनले पछिल्लो २० वर्षमा मधेश प्रदेशको भूमिगत पानीको भण्डारण करिब ५० मिलिमिटरले घटेको देखाएको छ।
अर्थात् औसतमा प्रत्येक वर्ष करिब २.५ मिलिमिटरका दरले भूमिगत पानीको भण्डारण घटेको अध्ययनको निष्कर्ष छ। अध्ययनले यसको प्रमुख सम्बन्ध वर्षाको उतारचढावसँग देखाएको छ भने शहरी विस्तार र सतही पानीका स्रोतमा आएको कमीले पनि पानी घट्ने क्रमलाई थप तीव्र बनाएको उल्लेख गरेको छ।
अध्ययनमा दुई प्रकारका पूर्वानुमान प्रणाली प्रयोग गरिएको छ। पहिलोले मुख्यतः वर्षा र तापक्रमलाई आधार मानेर भूमिगत पानीको अवस्था अनुमान गरेको छ। दोस्रो वर्षा र तापक्रमसँगै भूमि प्रयोगमा आएको परिवर्तन, माटोको चिस्यान, भूमिगत पानीबाट सिँचाइ हुने क्षेत्रफल र घरायसी पानीको मागलाई समेत समेटेको छ।
दोस्रो प्रणालीले तथ्याङ्कका हिसाबले पहिलोभन्दा केही कम शुद्धता देखाए पनि मानिसको गतिविधि र पानी निकाल्ने दबाबलाई समेत समेटेकाले वास्तविक अवस्थालाई बढी प्रतिनिधित्व गर्ने अध्ययनको निष्कर्ष छ।
अध्ययनले मधेसको भूमिगत पानी वर्षामा अत्यधिक निर्भर रहेको पनि देखाएको छ। मनसुनका बेला पानी पुनर्भरण हुने भए पनि त्यसको उच्चतम मात्रा क्रमशः कमजोर हुँदै जाने र भूमिगत पानीको समग्र भण्डारण घट्दै जाने अनुमान गरिएको छ। अध्ययनले यो प्रवृत्ति सन् २०४५ सम्म जारी रहने देखाएको छ।
अझ महत्वपूर्ण कुरा, अध्ययनले पानीको मागमा परिवर्तन हुँदा भूमिगत पानीमा कस्तो असर पर्छ भनेर पनि परीक्षण गरेको छ। भविष्यमा पानीको कुल माग १० प्रतिशतले घटाउने अवस्था मान्दा औसत भूमिगत पानीको भण्डारण ६३५.२० मिलिमिटरबाट बढेर ६३९.८२ मिलिमिटर हुने अनुमान गरिएको छ। तर कुल पानीको माग ३० प्रतिशतले बढ्ने अवस्था मान्दा औसत भण्डारण ६२३.९१ मिलिमिटरमा झर्ने अनुमान गरिएको छ।
संकटको कारण जलवायु परिवर्तन हो?
जल तथा मौसम विभागले उकेरालाई गत वर्ष उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालभर कुनै पनि क्षेत्रमा सधैँ भरी एकैनासले पानी पर्दैन। गत वर्ष सरकारले बर्षातको समयमै सुख्खा क्षेत्र घोषणा गरेपछि उकेराले तराई क्षेत्रको विषयमा रिपोर्टिङ गरेको थियो।
जल तथा मौसम विभागलेको उपलब्ध गराएको ५० वर्षको तथ्याङ्क केलाउँदा, कुनै साल अत्याधिक पानी परेको देखिन्छ भने कुनै साल खडेरी नै परेको देखिन्छ। सन् १९७१ मा तराई क्षेत्रमा औसतमा २ हजार ७५ .६ मिलिमिटर पानी पर्दा सन् १९७२ मा जम्मा १ हजार २ सय ५७ मिलिमिटर पानी परेको देखिन्छ।
एक वर्षकै अन्तरमा झन्डै ८ सय मिलिमिटर पानी कम परेको थियो। २०८१ सालको जसरी खेती गर्न तराइका किसानले नसकेको तथ्यांकले देखाएको थियो। गत साल तराईमा बर्षातको समयमा सुख्खा लागेको थियो।
त्यसपछिका वर्षमा भने १ हजार ५ सय मिलिमिटर देखि १८ सय मिलिमिटरकै वरपर पानी परे पनि सन् २०२३ मा १४४८ मिलिमिटर मात्रै पानी परेको थियो। आजभन्दा ३ वर्ष अघि पनि तराईमा पानीको हाहाकार भएको थियो।
कहिले ठूलो बाढी आउने कहिले खडेरी लाग्ने किन भइरहेको छ त ? जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जलवायु परिवर्तनका कारण सुख्खा बढेको बताइन्।
“जलवायु परिवर्तनका कारण तराईमा थप गर्मी हुँदै गइरहेको छ, पानीको स्रोतहरू सुक्दै गइरहेका छन्,” उनले भनिन्, “यसका लागि चुरे संरक्षण गर्ने र जलाधार क्षेत्र संरक्षणका लागि थप काम गर्नु पर्ने देखिन्छ।”
अस्वाभाविक गर्मी
जल तथा मौसम विभागले सन् २०२४ मा निकालेको “स्टेट अफ दि क्लाइमेट नेपाल २०२४” प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालमा अप्रिलदेखि डिसेम्बरसम्म अधिकतम तापक्रम सामान्यभन्दा बढी रह्यो। न्यूनतम तापक्रम भने फेब्रुअरीबाहेक सबै महिनामा सामान्यभन्दा माथि रेकर्ड भयो।
यस वर्ष ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेका ५० वटा अत्यधिक गर्मीका दिन रेकर्ड भएका थिए। अप्रिलदेखि जुनसम्म दक्षिणी तराई क्षेत्रमा मुख्यतः प्रभाव परेको हिटवेभ लगातार ५ देखि १७ दिनसम्म कायम रहेको थियो।
नेपालमा वर्षाको अन्तरवार्षिक अवस्था सामान्यको १११.१ प्रतिशत रहेको थियो। यसले समग्रमा देशभर सामान्यभन्दा बढी वर्षा भएको देखाउँछ। मनसुन अवधिमा भने नेपालमा सामान्यको १२२.० प्रतिशत वर्षा भएको थियो।
यसको विपरीत, मनसुन पूर्व र मनसुनपछिको अवधिमा वर्षा सामान्यभन्दा कम भयो। मनसुन पूर्व अवधिमा सामान्यको ८०.९ प्रतिशत र मनसुनपछिको अवधिमा ८०.४ प्रतिशत मात्रै वर्षा भएको थियो। जाडोयाम भने अझै सुख्खा रह्यो। यस अवधिमा सामान्यको केवल १९.८ प्रतिशत वर्षा भएको थियो।
नेपालमा मनसुन जुन १० मा पूर्वी भूभागबाट प्रवेश गरेको थियो, जुन जलवायु औसत प्रवेश मितिभन्दा तीन दिनअघि हो। मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो, जुन सामान्यभन्दा १० दिन ढिलो हो। यस वर्ष मनसुनको अवधि १२५ दिन रह्यो, जुन औसत ११२ दिनभन्दा १३ दिन बढी हो।
सन् २०२४ मा ४९ वटा मौसम मापन केन्द्रले २४ घण्टे वर्षाको अहिलेसम्मकै उच्च नयाँ रेकर्ड कायम गरे। त्यस्तै, १४ वटा केन्द्रमा दैनिक अधिकतम तापक्रमको नयाँ उच्च रेकर्ड बन्यो भने एउटा केन्द्रमा दैनिक न्यूनतम तापक्रमको नयाँ न्यूनतम रेकर्ड कायम भयो।
नेपालको इतिहासमै एक दिनमा भएको सबैभन्दा धेरै वर्षाको नयाँ राष्ट्रिय रेकर्ड पनि सन् २०२४ मै कायम भयो। जुलाई ८ बिहान ८: ४५ बजे सुदूरपश्चिम प्रदेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने कञ्चनपुरमा अत्यधिक वर्षा भएको थियो। दोधारा केन्द्रमा ६२४.० मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो।
यी सबै वर्षा मापनले सन् २०१७ अगस्ट १३ मा हेटौँडा एनएफआई केन्द्रमा कायम भएको ५१६.२ मिलिमिटरको अघिल्लो राष्ट्रिय रेकर्डलाई समेत उछिनेका थिए। सन् २०२४ मा अप्रिलदेखि सेप्टेम्बरसम्म नेपालको तराई क्षेत्रका विभिन्न मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यसले तातो दिन तथा तातो हावाको लहर (हिटवेभ)को अवस्था देखाएको थियो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अप्रिल १९ मै पहिलोपटक तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। त्यसपछि अप्रिल २० सम्ममा यसको प्रभाव क्रमशः पूर्वतर्फ फैलिँदै मधेश प्रदेशको मध्य भागसम्म पुगेको थियो। मधेश र लुम्बिनी प्रदेशमा अप्रिल महिनाको अन्त्यसम्म नै हिटवेभको अवस्था कायम रह्यो।
मे महिनाको पहिलो साताको पहिलो आधामा मधेश प्रदेशको पश्चिमी क्षेत्रमा हिटवेभ देखिएको थियो भने दोस्रो आधामा सुदूरपश्चिम प्रदेशको दक्षिणी क्षेत्रमा पनि यस्तै अवस्था देखियो। त्यसपछि मे महिनाको तेस्रो साता अर्थात् मे १५ देखि २० सम्म अर्को हिटवेभको अवस्था देखियो।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा यसको प्रभाव बढी थियो। मे ७ देखि १४ सम्म केही समय रोकिएको हिटवेभ मे १५ देखि पुनः सुरु भएको थियो। यो मुख्यतः लुम्बिनी प्रदेशमा केन्द्रित रहँदै मे २० सम्म जारी रह्यो। मे २४ देखि ३१ सम्म पनि हिटवेभ जारी रह्यो।
यसपटक मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रभावित भए र यसको प्रभाव जुन १ सम्म कायम रह्यो। त्यसैगरी, जुन ३ देखि ७ तथा जुन १४ देखि १९ सम्म पनि हिटवेभ देखियो, जसको प्रभाव विशेषगरी पश्चिमी तराईमा केन्द्रित थियो। जुन २० देखि २३ सम्म छोटो विश्रामपछि जुन २४ मा बाँकेमा पुनः अधिक तापक्रमको सीमा पार भएको थियो।
वर्षको पछिल्लो समयमा पनि असामान्य रूपमा तातो दिन देखियो। सेप्टेम्बर २३ मा जनकपुरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। सामान्यतया तातो मौसमको अवधि सकिइसकेको समयमा देखिएको यो घटना एक छुट्टै तातो दिनका रूपमा देखिएको थियो।
मधेसमा जलवायु परिवर्तनको असर
काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक पवन थापाले सन् २०१९ मा प्रकाशित ‘अब्जर्वड प्रिरिसिभड क्लाइमेट चेन्ज एनलाइसिस इन तराई रिजन’ शीर्षकको जर्नल लेख अनुसार जलवायु परिवर्तनका कारण तापक्रम र वर्षामा फेरबदल आएको र अगामी दिनमा पनि फेरबदल आउन सक्ने उल्लेख गरेका छन्। जलवायु परिवर्तन नै अत्याधिक तापक्रम बढ्दै गएर साबिकमा भइरहने प्राकृतिक कुरा नहुने हुन्।
उनको अध्ययन अनुसार तापक्रम र वर्षा हुने तौर तरीकामा नै फेरबदल आउने हुँदा किसानहरूलाई गम्भीर असर पर्छ।अध्ययनले न्यूनतम र अधिकतम औसत तापक्रम दुवैमा वृद्धि भएको देखाएको छ। कैलाली चितवन र रौतहटमा गरिएको अनुसन्धानमा तीन वटा जिल्लाको ६ वटा स्टेसनमा मनसुनपछिको वर्षा बढ्दो क्रममा रहेको पाइयो। तर प्रि-मनसुन, मनसुन र जाडोको मौसममा पर्ने वर्षा भने उल्लेख्य रूपमा घट्दो देखिएको छ।
सर्वेक्षण समेत गरिएको अनुसन्धानमा स्थानीय बासिन्दाले पहिले भन्दा ९० प्रतिशतभन्दा बढीले गर्मीयाम तातो बन्दै गएको बताएका थिए भने झन्डै ५१ प्रतिशतले जाडोमा पानी नै नपरेको बताएका थिए। उक्त अध्ययनले जलवायु परिवर्तनले तराईमा समग्र कृषि प्रणालीमै असर परेको र त्यसका लागि अनुकुलन हुन सिकाउनु पर्ने औँल्याएको छ।
कसरी हुन्छ समस्या समाधान ?
‘राष्ट्रिय कृषि गणना २०७८ पालिका स्तरका नतिजाहरू मधेश प्रदेश’अनुसार ३ लाख ६५ हजार ६ सय ३० हेक्टर जमिन मात्रै सिञ्चित छ जब की मधेश प्रदेशको कुल कृषिजन्य काम भइरहेको जमिनको क्षेत्रफल ४ लाख ९२ हजार ४ सय ९७ हेक्टर रहेको छ।कुल सिञ्चित पनि १२ महिनै सिञ्चित हुने जमिन कुल सिँचितको ३५ प्रतिशत मात्रै हो।
यसपटक पानी नपर्नुमा जलवायु परिवर्तनका कारण हुन सक्ने विज्ञहरूले औँल्याएका छन्।पानी विज्ञ अजय दीक्षितको ‘ नेपालमा जलवायु परिवर्तन विज्ञान, अनुभव र प्रस्तावहरू’ पुस्तक अनुसार जलवायु परिवर्तनका कारण जलचक्रमा फेरबदल हुन पुग्छ।जलवायु परिवर्तनले वर्षाको चरित्रमा परिवर्तन गर्ने, बाढी र सुख्खा छिटोछिटो हुन थाल्ने, हिउँ पर्ने, जम्ने र हिउँ पग्लने दर घटबढ हुन गई हिमनदीहरू प्रभावित हुन्छन्।
जसका कारण नदीका प्रणालीको चरित्रमा परिवर्तन आउन सक्छ। दीक्षितको पुस्तक अनुसार जलवायु परिवर्तन मानव निर्मित र प्राकृतिक जन्य हुन्छ।मानवनिर्मितमा कार्वनडाइअक्साइडको धेरै उत्सर्जन, मिथेन ग्यास, बन विनाश, औद्योगिक, ऊर्जा,फोहोरमैला, भू-उपयोग दोहन,आवास वृद्धि, अत्याधिक खनिज इन्धनको दोहन, यातायातका साधनका इन्धन आदिका कारण जलवायु परिवर्तन हुन्छ।
नेपालको भूमिका जलवायु परिवर्तन हुनुमा नगन्य छ जब की अन्य विकसित र उदाउँदा अर्थतन्त्र भएका देशहरूको धेरै छ। नेपालले ०.०२७ मात्रै कार्बन उत्सर्जन गर्छ भने चीनले ३२.८८ प्रतिशत त्यस्तै अमेरिकाले १२.६० प्रतिशत।
तर जलवायु परिवर्तनको जोखिममा नेपाल १० उच्च जोखिम देशमा पर्छ ।विश्व बैंकका अनुसार जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू मध्ये नेपाल चौथो नम्बरमा पर्छ।नेपालमा भइरहेको अनावृष्टि र अतिवृष्टि जलवायु परिवर्तनकै कारण हुन्।
जलवायु परिवर्तनका कारण हुने क्षति न्यून गर्न स्थानीय तह,प्रदेश र संघ मिलेर काम गर्न भने सक्छन्। हामी जस्ता कमजोर आर्थिक अवस्था भएका मुलुकले जलवायु परिवर्तनका कारण हुने क्षतिलाई कम गर्दै कृषिमा अनुकुलन हुन उपयुक्त हुने पानी विज्ञ सन्तोष नेपाल बताउँछन्।
“जलवायु परिवर्तनले हामीले गर्दै आएको कृषि प्रणालीलाई नै असर गर्छ। हामीले गर्न सक्ने भनेको परिवर्तन भएको समय अनुसार कृषि प्रणाली ढाल्नु हो” उनले भने।
पानी विज्ञ अजय दीक्षितले केही उपायहरू आफ्नो पुस्तकमा सुझाएका छन्। जस अनुसार कृषिमा मात्रै आश्रित समुदायलाई अन्य रोजगारको अवसर सिर्जना गर्ने, सूचनाको पहुँच सबै तिर पुराउने, वैकल्पिक खानेपानीको व्यवस्थापन गर्ने, जलवायु परिवर्तनले कृषिमा थप रोग लिएर आउँछ जसका कारण नयाँ बाली लगाउनु पर्ने हुन सक्छ त्यसको लागि अध्ययन गर्ने, बहुबाली प्रणाली अपनाउने लगायतका काम गर्न सकिने दीक्षितको पुस्तकमा उल्लेख छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।०८३ मा कृषि उत्पादनमुखी नीति ल्याए पनि मधेसमा अहिले खडेरी चर्किँदै गएको देखाउँछ। जसको असर औरहीमा पनि परेको छ। प्रदेश कृषि विकास निर्देशनालयका २०८३ साउन १५ (धान रोप्ने अन्तिम समय) अनुसार धनुषा जिल्लामा खेतीयोग्य जमिन ७६ हजार ५३१ हेक्टर छ। जसमा ४३ हजार ७ सय हेक्टर जमिनमा धान खेती हुन्छ। तर यस वर्ष जम्मा ३७ हजार १४५ हेक्टर जमिनमा धान रोपाई गरेको छ।
तथ्याङ्क धनुषा जिल्लामा मधेश प्रदेशको दोस्रो सबैभन्दा कम धान रोपाई भएको जिल्ला रहेको तथ्यांकले देखाएको छ। जसमा जम्मा ८५ प्रतिशत मात्रै धान रोपाई भएको तथ्यांकले देखाएको छ।
जलवायु परिवर्तनले बसाइसराइ
“क्लाइमेट चेन्ज, माइग्रेसन,एन्ड सोसल भल्नारेब्लिटी इन नेपाल” शीर्षकमा दीपक पुन मगरले नेप्जोलमा प्रकाशित गरेको जर्नल लेख अनुसार नेपालमा सन् १९९० देखि २०२५ सम्मको कृषि जीविकोपार्जनमा आएको ह्रास तथा हिमताल विस्फोटजन्य बाढी जस्ता जोखिमका कारण हिमाली जिल्लाबाट करिब २ लाख ५० हजार मानिस मुख्यतः काठमाडौं उपत्यकातर्फ बसाइँ सरेका छन्। त्यसैगरी, पहाडी जिल्लामा पहिरो र अनियमित वर्षाले ग्रामीण जीवनयापन र स्थायित्वमा असर पारेपछि करिब ४ लाख मानिस केन्द्रीय शहरी क्षेत्रतर्फ स्थानान्तरण भएका छन्।
आन्तरिक बसाइसराइ सबैभन्दा ठूलो परिमाणमा तराईका जिल्लाबाट भएको देखिन्छ। करिब ६ लाख मानिस बाढी र नदी कटानका कारण बस्ती तथा कृषियोग्य जमिन जोखिममा परेपछि देशका विभिन्न शहर तथा बजारतर्फ स्थानान्तरण भएका छन्।
पुनको अध्ययनले नेपालमा जलवायु परिवर्तनको प्रभाव बढ्दो तापक्रम वा चरम मौसमी घटनामा मात्र सीमित नरहेको देखाउँछ। यसको प्रभाव मानिसको दैनिक जीवन, जीविकोपार्जन र सामाजिक सम्बन्धमा समेत गहिरो रूपमा परेको छ। बाढी, पहिरो, खडेरी र हिमनदी पग्लिने क्रमले कृषि तथा ग्रामीण अर्थतन्त्रमा बढ्दो अवरोध सिर्जना गरिरहेका छन्। यसले धेरै घरपरिवारलाई जीवनयापन र अस्तित्व जोगाउन कठिन निर्णय लिन बाध्य बनाइरहेको छ।
कात्तिक १४, २०८३ शनिबार २१:२९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।