सिनेमामा बदलिँदै चरित्र : हिजोका डरलाग्दा खलपात्रलाई बेरोजगार बनाइदिए सिकुटे शिशिरले

सिनेमामा बदलिँदै चरित्र : हिजोका डरलाग्दा खलपात्रलाई बेरोजगार बनाइदिए सिकुटे शिशिरले

काठमाडौं : बलिष्ठ शरीर, सुगठित पाखुरा र भारी आवाज- कुनै समय नेपाली फिल्ममा खलनायक हुन अनिवार्य शर्त मानिन्थ्यो। पर्दामा देखिने खाइलाग्दो ज्यान, ठूलो स्वर नै खलनायकको चरित्र थियो। तर अहिले त फू गर्दा ढल्ने ज्यान भए पनि खलनायक हुन थालेका छन्। त्यसको प्रभावले पुराना बलिष्ठ शरिर भएका खलनायकहरु बेरोजगार भएका छन्।

विशेष गरी एक्सन प्रधान फिल्महरूमा खलनायकलाई बलियो बनाउन उसको शारीरिक बनोट र संवाद शैलीलाई बढी प्राथमिकता दिइन्थ्यो। जब पर्दामा 'राते काइँला'हरू गर्जिन्थे वा मुकुन्द थापाहरूले आँखा तर्थे, दर्शकको सातो जान्थ्यो। फिल्मको हिरोइज्मसमेत त्यही डरको जगमा बन्थ्यो। 

तर, पछिल्लो १० वर्षयता खलनायकको परिभाषा बदलियो। मसल्सभन्दा चरित्र बलियो खोज्ने आधुनिक सिनेमाले हिजोका ती डरलाग्दा पात्रहरूलाई कि त बेरोजगार बनाएको छ, कि त पलायनको बाटो रोजाइदिएको छ। अहिले खलनायकको चरित्रमा पनि कथाको माग र स्थानीय लवजका पात्रहरूले प्राथमिकता पाउन थालेका छन्।

फिल्मका विषयवस्तुमा आएको यही परिवर्तनका कारण राजेन्द्र खड्गी, मुकुन्द श्रेष्ठ र राजीव मानन्धर जस्ता पुराना पुस्ताका खलनायकहरू मुख्यधाराबाट विस्थापित जस्तै देखिन्छन्। बरु खिरिलो ज्यानका शिशिर वाङदेललाई अहिले भ्याइनभ्याई छ खलपात्रमा।

त्यो सुनिल थापाको जमाना

फिल्ममा निर्वाह गरेको खलपात्रको भूमिकाका कारण नेपालमा सुनिल थापालाई दर्शकले वास्तवमा पनि खलपात्रको रूपमा लिन्थेँ। निर्देशक तुलसी घिमिरेको चलचित्र ‘चिनो’बाट खलपात्रको रूपमा उदाएका थापाको अभिनय यति जीवन्त हुन्थ्यो कि उनलाई देख्दा दर्शकहरू भयभीत हुन्थे।

पर्दामा उनको उग्र स्वभाव र हाउभाउका कारण धेरैले उनलाई वास्तविक जीवनमा पनि त्यस्तै कठोर ठान्थे, तर उनी अत्यन्तै सरल र कोमल हृदयका थिए। करिब एक महिनाअघि सुतिरहेकै अवस्थामा उनको असामयिक निधन भयो।

जीवनको उत्तरार्धमा पनि उनी अभिनयमा उत्तिकै सक्रिय थिए। बिराज भट्टको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’मा खलनायककै भूमिकामा अभिनय गरिरहेका उनले उक्त चलचित्रको अन्तिम दृश्य (क्लाइमेक्स) भने छायांकन गर्न पाएनन्।

यसअघि उनले तुलसी घिमिरेकै चलचित्र ‘पहाड’मा गाउँको मुखियाको भूमिका निर्वाह गरेका थिए। यद्यपि, ‘राते काइँला’को उपनामले एक दशकअघि उनले जुन चर्चा र प्रभाव बनाएका थिए, पछिल्ला भूमिकामा भने उनको उति सारो चर्चा थिएन। उनी बाचुन्जेल राते काइँलाकै परिचयमा बाँचे।

नेपालमा अर्का खलनाकका रूपमा स्थापित भएका कलाकार हुन्, मुकुन्द थापा (भिमसेन खत्री)। उनका यतिबेला कुनै फिल्म हलमा प्रदर्शन भएका छैनन्। फुर्सदिला बनेका उनी परिवारसहित तिर्थ घुमिरहेका छन्।

"अहिले खासै काम छैन। यो समयमा घुमघाम गरिरहेको छु। यसैमा रमाइलो लागिरहेको छ" उनले थपे, "आफूले खेल्ने र वजनदार भूमिकाको फिल्म आइरहेका छैनन्। बरु घुमघाममा नै रमाइलो मानिरहेको छु।"

एक दशक अघिसम्म नेपाली फिल्ममा उनको माग उच्च थियो। तर, फिल्मको कथावस्तु बदलिएसँगै खलपात्रको चरित्र पनि बदलिन थाल्यो। दर्शकको रोजाइ बदलिएसँगै पुराना खलपात्र बेरोजगार हुन थाले।

कमेडिन खलनायकका रूपमा चर्चा कमाएका मुकुन्द श्रेष्ठ कुमार कट्टेलको फिल्म ‘लाज शरणम्’मार्फत १२ वर्षपछि कम्ब्याक गरेका थिए। तर, त्यसपछि उनी परिवारसहित तिर्थमा लागे। उनी यतिबेला लामो तथा छोटा दुरीका मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने गर्छन्। यो फिल्मपछि उनी ‘लालीबजार’मा देखिँदै छन्। त्यसपछि ‘सारथी’ नामक फिल्ममा काम गर्दैछन्। तर पहिलाको जस्तो दर्शकमाझ उनको चार्म भने देखिँदैन।

पर्दाका अर्का खतरनाक भिलेन हुन्, सुशील पोखरेल। दर्शकमाझ उनको हाउभाउले दर्शकलाई वास्तविक खलनायकको जस्तो आभास दिलाउथ्यो। उनी पछिल्लो समय पनि फिल्ममा देखिन्छन्। फिल्ममा छिटपुट रूपमा काम गरिरहे पनि दश वर्षअघिको जस्तो क्रेज अहिले छैन। 

पोखरेल भन्छन्, "पहिलाको तुलनामा काम त कमै हो। पहिलाको जुन गतिमा हुन्थ्यो त्यो छैन।"

फिल्म निर्माणको शैली र कथामा आएको परिवर्तनले खलनायकको स्थितिमा पनि परिवर्तन आएको उनको बुझाइ छ। तीन दशकअघि फिल्म ‘ज्वाला’मार्फत खलनायक भूमिकाबाट दर्शकमाझ चर्चामा आएका उनी अहिले पहिलेको फिल्ममा जस्तो  चर्चा नहुनुमा बहुपक्षि परिवर्तन भएको सुनाउँछन्।

"फिल्म पाउने र नपाउने कुरामा टिमको ठुलो भूमिका रहन्छ," उनले भने, "म अघिल्ला पुस्ताको टिमको कलाकार भएँ। अहिलेको पुस्ताको टिमको छनोटमा हामी त्यति पर्दैनौं। कसैले सम्झिए भने खेलिहाल्छु। नत्र छैन। मेरो अब एउटा फिल्म ‘कुम्भ’ भन्ने रिलिज हुँदैछ। त्यस्तै हो। अहिले चलेको र स्थापित भएको ब्यानरमा चाहिँ म खासै छैन। त्यो टिमभन्दा बाहिरको टिम भए। खासै बोलाउँदैनन्।"

फिल्ममा पहिलोको जस्तो भूमिकामा देखिन निर्माण टिमको भूमिका हुन्छ र भन्ने जिज्ञासामा उनले भने, "टिमले फरक परिहाल्छ नि। टिम हुँदा एक खाल्को सहजता हुन्छ। यहाँ यसो गर्छु, उसो गर्छु भन्ने हुन्छ। राम्रै र गतिलै टिम भएता पनि कस्तो के छ, के छ। उसको व्यवहारको बारेमा थाहा हुँदैन। काम गर्दा आफ्नो टिम जस्तो सहजता नहुन सक्छ।"

अभिनेता हुँदै खलनायक बनेका दिनेश शर्मा यतिबेला अमेरिका पलायन भइसकेका छन्। कुनै समय उनको क्रेज नायकमाभन्दा बढी खलनायकमा थियो। तर फिल्ममा काम पाउन छाडेपछि करिब ५ वर्षअघि उनी अमेरिका लागे। नगेन्द्र रिजाल पनि पलायन भइसके।

हेमन्त बुढाथोकी पनि छिटपुट रूपमा फिल्ममा देखिन्छन्। अघिल्लो वर्ष सन्तोष सेनको फिल्म ‘बलिदान’मा उनी खलपात्रमा थिए। यो फिल्मको व्यापारले निर्मातालाई सन्तोष रूपमा राख्न सकेन। यस फिल्मको चर्चाको क्रेडिट समीर भट्टले खाए। उनी बाहेक यो फिल्ममा काम गरेका कसैको पनि खासै चर्चा हुन सकेन।

अघिल्लो पुस्ताका चर्चित खलनायक राजेन्द्र खड्गी बेलाबेलामा युट्युवतिर विवादित अन्तरवार्तामा देखिने बाहेक फिल्मको पर्दामा अटेका छैनन्। सामाजिक सञ्जाल फेसबुक र युटुबमा भ्लग नै अहिले दर्शकसम्म पुग्ने उनको मुख्य माध्यम बनेको छ।

यता अर्को खलनायक ‘टार्जन’ उपनामबाट चिनिने अभिनेता राजीव मानन्धर भारत र नेपाल घुमिरहेको देखिन्छन्। ठुलो ज्यान, बलिया पाखुरा भएका उनलाई नेपाली फिल्मका कथाले नमागेको लामै समय भइसक्यो। अन्य भिलेनको पनि खासै चर्चा छैन। गुमनाम जस्तै अवस्थामा उनीहरू छन्। 

बरु अहिले नपत्याउँदा शिशिर वाङ्देल खलपात्रमा व्यस्त छन्। खिरिलो ज्यान भए पनि फिल्ममा उनको चरित्रलाई दर्शकले पत्याइरहेका छन्। उनको हस्की तर अस्पष्ट स्वर भए पनि दर्शक रमाउँछन्। अनि निर्देशकले पनि उनलाई नै खलपात्रमा लिन थालेका छन्।

चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा यसलाई स्वभाविक रुपमा हेर्छन्। उनी हरेक समयसँगै चलचित्रका कलाकार र दर्शकको रुचिमा परिवर्तन आउँने बताउँछन्। दर्शकको चाहना र कथा भन्ने शैली बदलिँदै जाने भएकाले समयसँगै खलनायकहरूको क्रेज बदलिएको उनको बुझाइ छ।

सुब्बा भन्छन्, "त्यो समयमा चरित्र खलनायकमा काम गरेकाहरुको भने समय अहिले पनि छ। जस्तो नीर शाह,रवि गिरी,म जस्ता चरित्र अभिनेताहरु बाँच्न सफल भयौँ। जो अहिले पनि काम गरिरहेका छौँ। तर जो खलनायककै रुपमा स्थापित थिए, उनीहरुलाई अहिलेको फिल्मको कथा र दर्शकले स्वीकार गर्न छाडे।"

अहिले कथाले छुट्याउँछ हिरो र भिलेन

दश वर्षयता अघिल्लो पुस्ताका 'हिरो र भिलेन' कथा जस्तै भएका छन्। कसलाई हिरो बनाउने र कसलाई भिलेन भन्ने विषय अब कथाले छनोट गर्न थालेको छ। स्थानीय लवजका फिल्म र त्यहाँ हुने कथाका पात्रलाई फिल्मले हिरो र भिलेन छुट्याउँछ।

पछिल्लो समयका खलनायकमा रूपमा उदय भएका छन्, शिशिर वाङ्देल। नेपाली फिल्ममा पछिल्लो समयका खतरनाक भिलेनका रूपमा शिशिर छनोटको शीर्ष स्थानमा छन्। यस बाहेक केही फिल्ममा अर्पण थापा पनि छन्। ‘नाङ्गो गाउँ’मा उनीहरू दुवै जनालाई खलनायक पात्रमा देखिएका छन्। यसअघि अर्पणलाई दर्शकले फिल्म ‘विर विक्रम’मा खलनायकको पात्रमा देख्न सकिन्छ। 

करिब एक दशकअघिका फिल्महरूमा राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट र रमित ढुङ्गाना जस्ता नायकहरूको गर्जन र सुनिल थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा एवं सुशील पोखरेल जस्ता खलनायकहरूको डरलाग्दो आवरणले दर्शकमा छुट्टै प्रभाव पार्ने गर्थ्यो।

त्यस समयमा कलाकारको शारीरिक बनावट र पर्दामा देखिने हाउभाउका आधारमा नै को नायक र को खलनायक भन्ने प्रस्ट हुन्थ्यो। तर, अहिलेका फिल्महरूमा भने कलाकारको आवरणभन्दा पनि कथाको माग र चरित्र चित्रणले नायक र खलपात्रको निर्धारण गर्ने गरेको देखिन्छ।

वैशाख २०, २०८३ आइतबार १८:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।