कर्णाली प्रतिष्ठानका उपकुलपति खरिद मिलेमतोमा मस्त, कुलपति बालेन सुकुमबासी भगाउँदैमा व्यस्त

कर्णाली प्रतिष्ठानका उपकुलपति खरिद मिलेमतोमा मस्त, कुलपति बालेन सुकुमबासी भगाउँदैमा व्यस्त

काठमाडौं : जुम्लास्थित ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सिधै संघमार्फत भएकाले यसको कुलपति हुन् प्रधानमन्त्री वालेन्द्र शाह। सहकुलपति स्वास्थ्यमन्त्री निशा मेहता जसले आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै पार्टीबाट एक पटक सचेत समेत भई सकिन्।

वर्तमान सरकारको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी जेनजी आन्दोलनले उठाएको जबाफदेहिता अनि भ्रष्टाचार नियन्त्रण। तर शाह अनि मेहता दुवैको प्रत्यक्ष नेतृत्वमा रहेको जुम्लास्थित ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले करिब १७ करोडको स्वास्थ्य सामग्रीको खरिद मिलेमतोमा अगाडि बढाएको थियो। त्यसमा एउटा टेन्डर रद्द भयो। तर बाँकी १५ करोडको प्रक्रिया उस्तै छ।

उकेराले सो प्रतिष्ठानले अगाडि बढाएको खरिदको खरिद मापदण्डसहित यसमा भएको मिलेमतो सार्वजनिक गरेपछि ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’को एउटा टेन्डर रद्द गर्यो तर बाँकी टेन्डरका खरिद मापदण्डमा मिलेमतो गरेर निश्चित सप्लायर्स कम्पनीहरूको टेन्डर स्वीकृत गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ।

यसमा उपकुलपति डा. पूजन कुमार रोकाया नै मुख्य रूपमा संलग्न देखिन्छन्। उकेराले वैशाख ९ मा कर्णाली प्रतिष्ठानको टेन्डरमा भएको मिलेमतोबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

उकेराको खुलासापछि कर्णाली प्रतिष्ठानले खरिद प्रक्रिया अगाडि बढाएको १८ किसिमका टेन्डरमध्ये ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’को टेन्डर रद्द गर्यो। १२  किसिमका टेन्डरको मापदण्ड संशोधन गर्यो। पाँच किसिमका टेन्डरको प्राविधिक स्पेशिफिकेशन भने छोएन। बाँकी १७ किसिमका उपकरण लगायतको टेन्डरलाई उसले मिलेमतोमै अगाडि बढाएको छ।

खरिद मापदण्डको अध्ययनमा कर्णालीले एउटा उपकरणको टेन्डर रद्द गरे पनि बाँकी टेन्डर भने मिलेमतो अनुसार चाहेकै निश्चित सप्लायर्स कम्पनीले मात्र पाउन सक्ने गरी प्रक्रिया अगाडि बढाएको देखियो।

संशोधन गरिएका उपकरणको प्राविधिक स्पेसिफिकेशनमा पनि झारा मात्र टारिएको छ। जुन जुन बुँदा सप्लायर्स कम्पनीको स्वार्थमा लक्ड गरिएको छ त्यो चलाइएको छैन।

प्रतिष्ठानले ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’को बोलपत्र रद्द गर्नु परेको कारणमा उपकरण जडानका लागि आवश्यक आरसिसी बेसमेन्ट, ढल तथा निकास प्रणाली, विद्युतीय सामग्री, वायरिङ, पीभीसी  पाइपलाइन तथा अन्य सम्बन्धित सामग्रीहरू लगायतका सिभिल कार्यहरूको लागि लागत अनुमान नगरिएको दाबी गरेको छ।

प्रतिष्ठानले २०८२ चैत २० मा एकै दिन करिब १७ करोड तीन लाख ६ हजार दुई सय ८० को अस्पतालसँग सम्बन्धित उपकरण, फार्मेसीसँग सम्बन्धित औषधी र ल्याब रिएजेन्टजस्ता उपकरण तथा स्वास्थ्य सामग्री खरिद गर्नेगरी टेन्डर अगाडि बढाएको थियो।

प्रतिष्ठानले करिब सात करोड ३५ लाखको १७ किसिमका उपकरण (हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स), चार करोड ५१ लाख ५५ हजार पाँच सय २० को औषधि (हस्पिटल फार्मेसी मेडिसिन) र तीन करोड ३१ लाख ५० हजार सात सय ६० को ल्याबको सामग्री (ल्याबोरेटोरी कञ्जुमेबल्स–ओपन सिस्टम) खरिदका लागि टेन्डर गरेर खरिद प्रक्रिया अगाडि बढाएको छ।  

यो खरिद प्रक्रियाको मुख्य सेटिङकर्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पूजन कुमार रोकाया र रजिस्ट्रार लक्ष्मी चन्द्र महत देखिएका छन्। खरिद सेटिङमा अस्पताल निर्देशक डा. कमल प्रसाद थानीको पनि भूमिका हुने नै भयो। खरिदको यो सेटिङमा प्रतिष्ठान (अस्पताल)मा परामर्शदाता (करार)का रूपमा गएर स्पेशिफीकेशन बनाउने बायोमेडिकल इन्जिनियर नेत्र सापकोटाको सक्रिय सहयोगी भूमिका देखियो।

खरिद प्रमुखको समेत जिम्मेवारीमा रहेका प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्व बहादुर शाही समेतको सक्रियताबिना खरिद सेटिङ सम्भव हुन्न। खरिद एकाइ तथा  प्राविधिक कमिटी, लेखा  र प्रशासन प्रमुखका समेतको सहमतिबिना यत्रो खरिद मिलेमतो गर्न सम्भव देखिन्न।

मिलेमतोको ढाकछोप गर्ने दाउ

हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स खरिद गर्ने गरी प्रतिष्ठानले टेन्डर आह्वान गरेको अधिकांश उपकरणको प्राविधिक स्पेशिफिकेशन निश्चित उत्पादन कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरेर लक्ड गरिएको छ।  टेन्डर एउटा रद्द गरेको बाहेक प्रतिष्ठानले रोकेको छैन। प्रि–बिड मिटिङपछि ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’को टेन्डर रद्द गरिए पनि बाँकी १७ किसिमका उपकरण सात करोड ३५ लाखमा खरिद गर्ने गरी अधिकांश टेन्डर मिलेमतो अनुसार नै अगाडि बढेको छ।

प्रतिष्ठान नेतृत्वले टेन्डर कागजातमा ‘२३ लाख वा एकल उपकरणमा मात्र बिड रकमको ३ प्रतिशतले हुन आउने रकम’ बैंक जमानत रकम राख्नुपर्ने सर्त राखिएको थियो। यो टेन्डरमा हाकाहाकी मिलेमतो देखिने बदनियत थियो।

प्रतिष्ठान नेतृत्वले जसलाई टेन्डर दिन चाहेको हो उही सप्लायर्स कम्पनीलाई मात्रै खुसुक्क लागत अनुमान भनिदिने रणनीति बनाएको थियो। यसको खुलासापछि टेन्डर कागजात संशोधन गर्दै टेन्डर गरेको प्रत्येक उपकरणको छुट्टाछुट्टै बोलपत्र जमानत रकम तोकेको छ। तर स्पेसिफिकेशनका मापदण्डहरूमा उत्पादक कम्पनीको क्याटलग नै सर्लक्क राखेर लक्ड गरिएको छ।

खरिद मापदण्डबारे केन्द्रले अध्ययन गराउने हो भने सहजै बदमासी खुल्ने देखिन्छ। तर पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको दाबी गरिए पनि यसमा न स्वास्थ्य मन्त्रालयको नेतृत्वले चासो लिएको देखियो न त कुलपतिको कार्यालयले नै।

के के किन्दै छ प्रतिष्ठानले ?

प्रतिष्ठानले २३ लाख ८३ हजारमा पाँच सेट ‘पेशेन्ट वार्मिङ सिस्टम’, ३२ लाख ५५ हजारमा पाँच सेट ‘पेशेन्ट मनिटर (७ प्यारामिटर), १४ लाख १६ हजारमा पाँच सेट ‘हाइ इण्ड इसिजी मेसिन’, ७१ लाखमा एक सेट ‘ऐनेस्थेसिया वर्क स्टेसन’,  ५० लाख ६६ हजारमा एक सेट ‘अर्थो ड्रिल मेसिन’, ५० लाख ३३ हजारमा एक सेट ‘हाइ स्पिड इलेक्ट्रिकल ड्रिल फर न्युरो सर्जरी  सर्जरी’, ७८ लाख १७ हजारमा एक सेट ‘सी–आर्म मेसिन’ र ९ लाखमा एक सेट ‘पोर्टेबल ए–स्क्यान’मा खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको हो।

एक करोड ४३ लाख ३३ हजारमा  एक सेट ‘ओसीटी वीथ फण्डुस क्यामेरा’, १६ लाख ३३ हजारमा एक सेट ‘अप्टिकल माइक्रोस्कोप पोर्टेबल’, १३ लाखमा एक सेट ‘पोर्टेबल केराटोमिटर’,  ८२ लाखमा एक सेट ‘एक्स–रे डिआर सिस्टम’,  ४१ लाखमा एक सेट ‘टिस्यु प्रोसेसर’, १८ लाखमा एक सेट ‘ब्लड कल्चर सिस्टम’, १६ लाख ३३ हजारमा एक सेट ‘फ्ल्याट प्यानल’, ४७ लाखमा एक सेट ‘यूएसजी मेसिन’ र ५९ लाखमा एक सेट ‘बोन डिएक्सए डेन्सिनोमिटर’ खरिद गर्ने गरी प्रतिष्ठानले टेन्डर प्रक्रिया अगाडि बढाएको छ। उकेराले यो विषयमा समाचार प्रकाशित गरेपछि मात्रै यसरी कुन सामग्रीको कति सम्भावित मूल्य पर्छ भन्ने विषयमा प्रत्येक उपकरणको जमानत रकम प्रतिष्ठानले सार्वजनिक गरेको हो।

दोब्बर कमिसनमा ‘जिइ’को ‘सी–आर्म’ खरिद

एक सेट ‘सी–आर्म मेसिन’ खरिदका लागि भएको टेन्डरको प्राविधिक स्पेशिफिकेशन संशोधन त गर्यो तर मिलेमतोको बुँदा हटाएन। उकेराको खोजमा ‘सी–आर्म मेसिन’को प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी ‘जिइ हेल्थ केयर’को ‘ओइसी सिरिज’लाई लक्षित गरेर बनाएको देखियो। यसको आधारमा यो टेन्डर उसको नेपाली सप्लायर्सले पाउने देखिन्छ।

यो मेसिनको स्पेशिफिकेशन हेर्दा ७८ लाख आधुनिक सुविधायुक्त मेसिन आउने भए पनि दोब्बर कमिसनको खेलमा पुरानो मोडलको मेसिन खरिद गर्ने गरी खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

प्रतिष्ठानले प्रक्रिया अगाडि  बढाएको ‘सी–आर्म प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.४’ अन्तर्गतका ‘४.४.१’, ‘४.४.२’, ‘४.४.३’ र ‘४.४.४’ लगायतका बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘जिइ हेल्थ केयर’को क्याटलगमा भएका बुँदाहरू नै हुबहु कपिपेष्ट गरिएको छ।

उदाहरणका रूपमा बुँदा नम्बर ‘४.४.३’ मा ‘दी डिजिटल इमेजिङ सिस्टम मस्ट ह्याभ इमेज प्रोसेसिङ म्याट्रिक्स एट लिस्ट १के × १के’  भन्ने प्रावधान राखिएको छ। जुन प्रावधान उत्पादक कम्पनी ‘जिइ हेल्थ केयर’को क्याटलगबाट हुबहु कपिपेष्ट गरेर राखिएको छ।

प्रतिष्ठानले प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.४’, ‘४.१.१’, ‘४.१.६, ‘४.२.२’, ‘४.४.१’, ‘४.४.२’, ‘४.४.५’ र ‘४.६.१’ जस्ता बुँदाहरू झारा टार्ने किसिमले मात्रै संशोधन गरेको देखिएको छ।

पेशेन्ट वार्मिङ ‘कीवेल’को खरिदमा पनि मिलेमतो

टेन्डर गरेको पाँच सेट ‘पेशेन्ट वार्मिङ सिस्टम’ मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को  उत्पादन मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाइएको छ।

पाँच सेट ‘पेशेन्ट वार्मिङ सिस्टम’ खरिदका लागि प्रतिष्ठानले गरेको टेन्डर कागजातमा भएका प्रावधान हेर्दा ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को मोडल नम्बर ‘केपीडब्लु ३०००’सँग मात्रै मिल्नेगरी ‘पेशेन्ट वार्मिङ सिस्टम’को प्राविधिक स्पेशिफिकेशन बनाएकोबारे उकेराले यस अगाडि नै खुलाएको थियो ।

मिलेमतोबारे उकेराको खुलासापछि प्रतिष्ठानले ‘पेशेन्ट वार्मिङ सिस्टम’को विशेषगरी बुँदा नम्बर ‘४.६’, र  ‘५.१’मा भएका मोडल नम्बर हटायो। अनि अन्य केही सामान्य ‘४.१’, ‘४.२’,  ‘४.४’, र  ‘७.२’ मा भएका केही सामान्य बुँदा संशोधन गरे पनि खरिदमा गरिएको लक्ड खुल्ने गरी संशोधन गरेको देखिएन।

प्रतिष्ठान  नेतृत्वले ‘पेशेन्ट वार्मिङ सिस्टम’को प्राविधिक स्पेशिफिकेशन झारा टार्ने किसिमले संशोधन गरेर मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’कै नेपाली सप्लायर्सलाई टेन्डर दिने करिब निश्चित छ।

कम्पनीको मोडल नम्बर नै खुलाएर प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने बदनियत राख्नु नीतिगत भ्रष्टाचार नै हुने देखिन्छ।

‘ऐनेस्थेसिया वर्क स्टेसन’ ‘ड्रागर’को खरिद हुने

टेन्डर गरेको ‘ऐनेस्थेसिया वर्क स्टेसन’ पनि मेसिन उत्पादक कम्पनी ‘ड्रागर’को मोडल नम्बर ‘ड्रागर पेरसेयूस–ए५००’को प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति देखिन्छ। यसको खुलासापछि  ‘ऐनेस्थेसिया वर्क स्टेसन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२’, ‘४.४’, ‘४.१३’, ‘४.१८’, ‘४.२६’, ‘४.३०’, ‘५.३’, ‘६.३’ जस्ता बुँदाहरू संशोधन गरियो।

तर प्राविधिक स्पेशिफिकेशनका मुख्य बुँदा लक्ड नै भएकाले केही बुँदा संशोधन गरिए पनि मेसिन उत्पादक कम्पनी ‘ड्रागर’कै नेपाली  सप्लायर्सलाई टेन्डर दिने रणनीति कायम देखियो।

‘यूएसजी’ ‘साम्सुङ मेसिन’को किन्ने रणनीति

एक सेट ‘यूएसजी मेसिन’ मेसिनका लागि गरेको टेन्डरको पनि  प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘६’, ‘९’ र ‘१०’ लगायतका बुँदाहरू प्राविधिक स्पेशिफिकेशन नै नबनाई टेन्डर गरेझैँ अन्धाधुन्ध किसिमले संशोधन गरिएको छ।

तर, ‘यूएसजी मेसिन’ मेसिनको प्राविधिक स्पेशिफिकेशन हेर्दा मेसिन उत्पादक कम्पनी ‘साम्सुङ मेसिन’को मोडल नम्बर ‘एचएस ४०’लाई मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति देखिन्छ।

‘यूएसजी मेसिन’ बुँदा नम्बर ‘१’ र ‘२’ लगायतका बुँदा त मेसिन उत्पादक कम्पनी ‘साम्सुङ मेसिन’को मोडल नम्बर ‘एचएस ४०’ हुबहु नै कपिपेष्ट गरेको देखियो। 

‘यूएसजी मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘१’ मा २१” अर मोर हाइ–रेजुलेशन कलर एलइडि वीथ रिशोलुशन अफ १९२० × १०८० एन्ड वीथ आर्टिकुलेटिङ फ्रिली मोबाइल आर्म फर अप-डाउन साइड टु साइड मुभमेन्ट’  उल्लेख छ।

त्यसैगरी बुँदा नम्बर ‘२’ मा १०” अर मोर लिड टच प्याड वीथ रिजोलुशन अफ १२८० × ८०० फर बेटर युजर कन्ट्रोल’ उल्लेख छ।  प्रतिष्ठानले ‘यूएसजी मेसिन’को राखेको यो मापदण्ड मेसिन उत्पादक कम्पनी कम्पनी ‘साम्सुङ मेसिन’को क्याटगमा भएका बुँदा झुक्क्याउने किसिमले भाषा मात्रै मिलाएर कपिपेष्ट गरेर लक्ड गरी उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति अपनाएको प्रस्टै देखिन्छ।

‘बोन डिएक्सए डेन्सिनोमिटर’मा पनि लक्ड

एक सेट ‘बोन डिएक्सए डेन्सिनोमिटर (डेक्सा स्क्यानर)’को प्राविधिक स्पेशिफिकेशन संशोधन गरिएको छैन। यो मेसिनको प्राविधिक स्पेशिफिकेशन अध्ययन गर्दा मेसिन उत्पादक कम्पनी ‘डीएमएम’लाई लक्षित गरेर प्राविधिक स्पेशिफिकेशन बनाएको देखिएकाले उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति देखिन्छ।

ड्रिल मेसिन ‘एनएसके’को खरिद गर्ने रणनीति

प्रतिष्ठान नेतृत्वले एक सेट ‘अर्थो ड्रिल मेसिन’ र एक सेट ‘हाइ स्पिड इलेक्ट्रिकल ड्रिल फर न्युरो सर्जरी  सर्जरी’ खरिदका लागि गरेको टेन्डरको प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी ‘एनएसके’लाई लक्षित गरी बनाएर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति देखिन्छ।

प्रतिष्ठानले यी दुवै उपकरणको प्राविधिक स्पेशिफिकेशन संशोधन नै नगरी चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति बनाएको देखियो।

पेशेन्ट मनिटरको झुक्क्याउने संशोधन

पाँच सेट ‘पेशेन्ट मनिटर (७ प्यारामिटर) को प्राविधिक स्पेशिफिकेशनका  बुँदा नम्बर ‘४.२’, ‘४.४’, ‘४.६’, ‘६.७’, ‘५.१’, ‘५.२’ ‘५.११’  ‘५.१४’ जस्ता बुँदाहरू जथाभाबी संशोधन गरेको देखियो।

उदाहरणका रूपमा ‘पेशेन्ट मनिटर (७ प्यारामिटर)को बुँदा नम्बर ‘५.१’ मा ‘एचआर एप्रोक्सिमेट्ली १५ टु ३५०बीपीएम ?३बीपीएश्र’राखिएको मापदण्ड झुक्क्याउने किसिमले संशोधन गर्दै ‘२० टु ३५०बीपीएम अर बेटर’ बनाइएको छ। अन्य बुँदाहरू पनि यसैगरी झुक्क्याउने किसिमले संशोधन गरेको देखियो। यसले पनि संशोधनको खास अर्थ देखिएन। यो पनि लक्ड नै देखियो।

‘पोर्टेबल ए–स्क्यान’को झुक्क्याउने संशोधन

प्रतिष्ठानले एक सेट ‘पोर्टेबल ए–स्क्यान’ खरिदका लागि भएको टेन्डरको प्राविधिक स्पेशिफिकेशनका पनि चार वटा बुँदा झारा टार्ने किसिमले संशोधन गरेको छ। प्रतिष्ठानले ‘पोर्टेबल ए–स्क्यान’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘५’, ‘६’, ‘१२ र  ‘१२.६’मा भएका प्रावधान सामान्य संशोधन गरेको छ।

‘पोर्टेबल ए–स्क्यान’को संशोधन भएको उदाहरणका रूपमा बुँदा नम्बर ‘६’लाई हेरौँ। बुँदा नम्बर ‘६’ मा ‘दी बायोमेट्रिक रेन्ज सुड बी फ्रम १३ टु ४०एमएम अर बेटर’ भन्ने सर्त राखिएको बुँदा संशोधन गरेर ‘दी बायोमेट्रिक रेन्ज सुड बी फ्रम १५ टु ४०एमएम अर बेटर’ भन्ने बनाइयो। यसरी हेर्दा ‘१५ देखि ४०एमएम’मा खुम्च्याएर यो बुँदा झन् पो लक्ड गरिएको देखिएको देखिन्छ।

ओसीटी र इसिजी मेसिन’को तजबिजी रणनीति

एक सेट ‘ओसीटी वीथ फण्डुस क्यामेरा’ खरिदका लागि भएको टेन्डरको पनि प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.४’, ‘४.५’, ‘४.६, ‘४.७’, ‘४.१२’, ‘४.१३’ र ‘४.२२’, ‘४.२३’ र ‘४.२५’ र ‘४.२६’ जस्ता बुँदाहरू संशोधन गरिएको छ। यसको संशोधन गरिएका बुँदाहरू हेर्दा तजबिजी निर्णय गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिन मिल्नेगरी खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ।

पाँच सेट ‘हाइ इण्ड इसिजी मेसिन (१२ च्यानेल)’ खरिदका लागि भएको टेन्डरका पनि प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२’, ‘४.३’, ‘४.६’, ‘४.१४’, ‘४.१५’, ‘४.१६’ र ‘७.२’ जस्ता बुँदाहरू झारा टार्ने किसिमले मात्रै संशोधन भएको छ। यसमा पनि लक्ड गरिएका पक्ष खुला गरिएको छैन।

 डिआर, फ्ल्याट प्यानल र केराटोमिटर र माइक्रोस्कोपको झुक्क्याउने संशोधन

प्रतिष्ठानले एक सेट ‘एक्स–रे डिआर सिस्टम’ खरिदका लागि टेन्डर भएको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘९.४’, ‘९.५’, ‘९.६, ‘११.३’, ‘११.४’, ‘११.५’, ‘१२.१’, ‘१२.२’, ‘१२.३’, ‘१२.५’, ‘१२.६’, ‘१२.७’, ‘१२.८’, ‘१२.१०’, ‘१२.११’, ‘१२.१३’, ‘१२.१५’, ‘१२.१७’, ‘१२.१८’, ‘१६.२’ जस्ता बुँदाहरू संशोधन गरिएको छ।

संशोधन गरिएका यी बुँदा हेर्दा एकातर्फ पहिले जसलाई टेन्डर दिने हो उसैको मेसिन उत्पादक कम्पनीलाई लक्षित गरी प्राविधिक स्पेशिफिकेशन बनाएको देखिन्छ। मिलेमतोको पोल खुलेपछि झुक्क्याउने किसिमले प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदाहरू जथाभाबी संशोधन गरेको देखिन्छ।

एक सेट ‘फ्ल्याट प्यानल’ खरिदका लागि भएको टेन्डरको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१४’ मा भएको ‘४०एलपी÷सेन्टिमिटर ग्रिड सुड बी एभाइलेबल’ प्रावधान संशोधन गर्दै ‘३५एसपी-सेन्टिमिटर  अर मोर’ भन्ने प्रावधान राखिएको छ।

संशोधन गरेर राखिएको यो प्रावधान पनि झुक्क्याउने किसिमले नै राखेको देखिन्छ। किनकि ‘४०एसपी-सेन्टिमिटर’ राखिएकोमा संशोधन गरेर ‘३५एसपी-सेन्टिमिटर अर मोर’ बनाइएकाले ४० कै लागि हो भन्ने बुझ्न कठिन हुने देखिँदैन।

प्रतिष्ठानले एक सेट ‘पोर्टेबल केराटोमिटर’को पनि प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘७.७’ मा भएको एउटा प्रावधान झुक्क्याउने किसिमले नै संशोधन गरेको छ। एक सेट ‘अप्टिकल माइक्रोस्कोप पोर्टेबल’ खरिदका लागि भएको टेन्डरको पनि प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१’, ‘४.३’, ‘४.६, ‘४.७’, ‘४.१३’ जस्ता बुँदाहरू झारा टार्ने किसिमले मात्रै संशोधन गरेको देखिएको छ।

‘अप्टिकल माइक्रोस्कोप पोर्टेबल’को बुँदा नम्बर ‘४.७’लाई नै हेरौंन। बुँदा नम्बर ‘४.७’ मा ‘दी माइक्रोस्कोप सुड अफर डियोप्टर एडजस्टमेन्ट फ्रम मिनिमम अफ –६डि टु +६डि’ राखिएको प्रावधान संशोधन गर्दै ‘दी माइक्रोस्कोप स्याल प्रोभाइड डियोप्टर एडजस्टमेन्ट विधिन अ मिनिमम रेन्ज अफ प्लस–माइनस ५डि अर बेडटर’ भन्ने झुक्क्याउने किसिमको सर्त राखिएको छ।

 प्रतिष्ठानले खरिद प्रक्रिया अगाडि बढाएको एक सेट ‘टिस्यु प्रोसेसर’ र एक सेट ‘ब्लड कल्चर सिस्टम’ खरिदका लागि भएको प्राविधिक स्पेशिफिकेशन संशोधन गरिएन।

खराब जग बसालेर टेन्डर हान्ने रणनीति

प्रतिष्ठानले तीन वटै टेन्डरको खरिदका लागि २०८३ वैशाख १० (२०२६, अप्रिल २३) मा ‘प्रि–बिड’ मिटिङको समय तोकेको थियो। प्रतिष्ठानले अस्पतालसँग सम्बन्धित उपकरणको वैशाख १० गते दिउँसो दुई बजे, औषधिको ३ बजे र ल्याबसँग सम्बन्धित सामग्रीको ४ बजेलाई प्रि–बिड मिटिङको समय तोकेको थियो।

प्रि–बिड मिटिङमा सप्लायर्स कम्पनीहरूले स्पेशिफिकेशन संशोधनको माग गरेकाले प्राविधिक स्पेशिफिकेशनका सर्त झारा टार्ने किसिमले संशोधन गरेको देखिएको हो। तर, झारा टार्ने किसिमले।

यसरी बदनियतले अगाडि बढाएको प्रतिष्ठान नेतृत्वले यी तीन वटै टेन्डरको २०८३ वैशाख २० (मे ३) को दिउँसो १२ बजे सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दिउँसोलाई टेन्डर खुल्ने मिति तोकेको छ।

प्रतिष्ठानले करिब सात करोड ३५ लाख ९७ हजारमा खरिद गर्ने गरी टेन्डर गरेको सो उपकरणको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केएएचएस–एनसीबी–एचइ-०१-०८२-०८३’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ,‘दी  प्रक्रुमेन्ट अफ हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स।’

प्रतिष्ठानले करिब चार करोड ५१ लाख ५५ हजार पाँच सय २० को औषधि (हस्पिटल फार्मेसी मेडिसिन्स्)को टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केएएचएस–एनसीबी–एचपी-०२-०८२-०८३’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ,‘दी  प्रक्रुमेन्ट अफ हस्पिटल फार्मेसी मेडिसिन।’

तीन करोड ३१ लाख ५० हजार सात सय ६० को ल्याबसँग सम्बन्धित सामग्री (ल्याबोरेटोरी कञ्जुमेबल्स्) को  टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केएएचएस–एनसीबी–ल्याब–ओपन-०१-०८२-०८३’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ,‘(दी) प्रक्रुमेन्ट अफ ल्याबोरेटोरी कन्जुमेबल्स् (ओपन सिस्टम)।’

कर्णालीले स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालसँग सम्बन्धित उपकरण, ल्याब सामग्री र फार्मेसीको यी तीन वटै टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिंगल स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाएर यो गल्ती जारी नै राखेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई समेत यी टेन्डरमा खुम्च्याइएको छ। यसरी प्रतिष्ठान नेतृत्वले खरिदको खराब जग बसालेर टेन्डर हान्ने रणनीति लिएको देखिएको छ। 

वैशाख १८, २०८३ शुक्रबार २३:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।