‘कुम्भ’ को टिजर सार्वजनिक, नेताको भूमिकामा देखिए सुनिल थापा
काठमाडौं : आगामी जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले एक्सन–ड्रामा जनरामा आधारित यो फिल्मको २ मिनेट २ सेकेण्ड लामो टिजर रिलिज गरेको हो।
कुम्भको टिजरमा स्वर्गिय सुनील थापालाई एक नेताको रुपमा देख्न सकिन्छ। उनी आफ्नो साम्राज्यबाट पराजित भएको र त्यो राज पुन फर्काउने कोसिसमा लागिपरेको देखिन्छ। टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट झल्काउँछ।
यस फिल्मबाट अभिनेता अशोक आर्यनले हिरोको रूपमा डेब्यु गरेका छन्। फिल्ममा अशोक र सुनिल थापाका साथै सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, फिल्ममा दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
रणधीर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा छायांकन गरिएकोले फिल्मलाई दुवै भाषामा डविङ गरिएको हो।
निर्देशक निर्देशक श्रेष्ठ स्वयंले यो फिल्मका गीत लेखेका छन् भने संगीत अनुप तिवारीको रहेको छ। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मको छायांकन तथा सम्पादन पनि स्वयं निर्देशक श्रेष्ठले नै गरेका छन्। सञ्जय थापाको द्वन्द्व निर्देशन रहेको फिल्ममा निर्देशक श्रेष्ठ र राजेश साह निर्माताका रूपमा छन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।
यसअघि अभिनेता सुनील थापाको फिल्म ‘रामनाम सत्य’,‘पहाड’ प्रदर्शनमा आएका छन्, जुन अहिले पनि हलमा चलिरहेका छन्। सुनीलको निधनपछि प्रदर्शनमा आउन लागेको यो उनको तेस्रो फिल्म हो।
वैशाख २०, २०८३ आइतबार १४:३०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।