अधुरै रह्यो ‘चित्रा २’, सन्तोषले रोजे ‘तिमी मेरो म तिम्रो’

अधुरै रह्यो ‘चित्रा २’, सन्तोषले रोजे ‘तिमी मेरो म तिम्रो’

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरी चर्चा बटुल्नु सामान्य बनिसक्यो। चर्चा बटुल्न यो सजिलो माध्यम बनेको छ। तर, तामझामका साथ घोषणा गरिएका कतिपय फिल्म घोषणामा नै सीमित भएका उदाहरण प्रशस्त छन्।

निर्देशक घनश्याम लामिछानेको निर्देशनमा दुई वर्षअघि फिल्म ‘चित्रा’को निर्माण तथा प्रदर्शन भएको थियो। उक्त फिल्मले व्यावसायिक रूपमा सफलता प्राप्त गर्न सकेन। निर्माता तथा अभिनेता सन्तोष अधिकारीले निर्माण गरेको उक्त फिल्मको कथा र दृश्यलाई भने दर्शकले रुचाएका थिए। 

त्यसपछि अधिकारीले सोही फिल्मको सिक्वेल निर्माण गर्ने योजना बनाए। गत वर्ष आफ्नो जन्मदिनको अवसर पारेर उनले ‘चित्रा २’ निर्माणको घोषणा गरेका थिए, तर उक्त फिल्मको निर्माण कार्यले अहिलेसम्म गति लिन सकेको छैन।

यसैबीच, शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अधिकारीले अभिनेता भुवन केसीलाई समेट्दै नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ को घोषणा गरेका छन्। ‘चित्रा’कै निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने यस फिल्ममा सन्तोष अधिकारी स्वयं मुख्य भूमिकामा रहनेछन्। 

फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी र नवअभिनेत्री प्रतिमा थापालगायतको मुख्य भूमिका रहने जानकारी दिइयो। अभिनेता अधिकारीले अघिल्लो फिल्म ‘चित्रा’का कमीकमजोरीलाई सुधार गर्दै यस पटक उत्कृष्ट फिल्म बनाउने प्रतिबद्धता व्यक्त गरे।

फिल्मको निर्माण कार्यतालिकाबारे जानकारी दिँदै निर्देशक लामिछानेले आगामी वर्षभित्र फिल्म सम्पन्न हुने बताए। उनले फिल्मको पहिलो चरणको छायांकन असोज-कात्तिकमा हुने र दोस्रो चरणको छायांकन केही समयपछि गरिने जानकारी दिए।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर र आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको प्रस्तुति रहने यस फिल्ममा युग भुसालको सङ्गीत रहनेछ। फिल्मको सह-निर्मातामा राज श्रेष्ठ र आशिष थापा मगर रहेका छन् भने कार्यकारी निर्माता सन्तोष अधिकारी स्वयं हुन्। 

तेजविक्रम केसी लाइन प्रोडुसर रहेको यस फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् भने कथा मनीष गौतमले तयार पारेका हुन्। निर्माण पक्षले हाल प्राविधिक तथा अन्य कलाकारहरूको छनोट कार्य भइरहेको जानकारी दिएको छ। फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

वैशाख २०, २०८३ आइतबार ११:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।