रास्वपाका सांसद 'निन्द्रा'मा, नवलपुर-२ का मनिष मात्र व्युँझिए
काठमाडौं : सत्ताको गतिविधीमाथि जायज/नाजायज प्रश्न गर्दै जेनजी आन्दोलन र वालेन्द्र शाहको क्रेजको बलमा सांसद बन्न सफल १८२ मध्ये १५ जना सरकारमा छन्। बाँकी साँसद 'निन्द्रा'मा।
त्यसैले नदी किनारमा सुकुमबासी बस्ती हटाउन उनीहरूको मतको बलमा प्रधानमन्त्री बनेका शाह नेतृत्वको सरकारले अपनाएको अमानविय दृष्य देखेका छैनन्। कतिसम्म भने सुकुमबासीको छोरो सांसद हुँदैछ भनेर निर्वाचनमा मत मागेका केपी खनाल समेत मौन छन्। शहरको फोहोर सफा गर्दै बालेन टिमको चिया दोकानको मालिकसम्म भएका उनले पनि सायद नदी किनारमा बस्नेलाई शहरी फोहोरै देखेकी।
जायज विषयमा जोकसैलाई प्रश्न गर्ने राजनीतिक संस्कार सिकेका बिघठित विवेकशीलका रन्जु दर्शनादेखि पुकार बमसम्म बागमती किनारमा मनको पिरले मारिएका दुई सुकुमबासीप्रति समेत मौन छन्।
तथ्यांकले भन्छ भूमीहिनहरूमा सबैभन्दा धैरै दलित छन्। मारिएका दलितलाई न्याय दिन आफ्नै सरकार विरूद्द धर्ना कसेर छानबीन समिती बनाउन बाध्य पार्ने खगेन्द्र सुनारदेखी रीमा विश्वकर्माले सुकुमबासी बस्तीबाट लखेटेर छाप्रोहिन बनाएका दलित देखेका छैनन्। सायद ज्युँदा घरवारविहिन बन्दा छानबीन किन भन्ने लागेको होला।
रवि लामिछानेको निन्द्रा ब्युझिए पनि सरकारले गरेको काम जे देखियो त्यही बोल्ने क्षमता देखिएन। सायद अर्ध निन्द्रामा थिए होलान्। जेनजी आन्दोलनका घाइतेलाई भाई भन्दै फलफुलको पोका र नगद बोकेर पुग्ने आशिका तामाङ गायब छिन्। होल्डिङ सेन्टरमा चिसो भुईमा रहेका सुत्केरीलाई बहिनी भन्दै तातो सुप बोकेर गएको दृष्य देखिएको छैन।
धन्न, नवलपुर-२ का सांसद मनिष खनाल ब्युझिएछन् बेलैमा। विवेकशील अभियानका उज्जवल थापाले "जसले गलत गरे पनि प्रश्न गर्न छाड्न हुन्न" भनेर दिएको प्रशिक्षण बिर्सिएका रहेनछन्। बालेन टिमको कालोसूचीमा पर्ने भय देखिएन मनमा र जे देखे सन्जालमा भए पनि बोले।
उनले लेखे :
राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो। सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दु:खद घटनाले मलाई स्तब्ध बनाएको छ।
हामीले सधैं 'विस्थापन होइन, सुरक्षित व्यवस्थापन'को मान्यतालाई प्राथमिकता दिँदै आएको छौं। यद्दपि, एउटा बस्तीको व्यवस्थापन गर्ने क्रममा त्यहाँका बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावका विषयमा हामी सबैले अझ बढी संवेदनशीलता अपनाउनु पर्ने महसुस गरेको छु। हामी आज जुन जिम्मेवारीमा छौं, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैं हृदयमा राख्नुपर्छ।
हाम्रा प्रयासहरूले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा हामी सचेत छौं- रहौं। सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा 'न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ' भन्ने मान्यतालाई अझ प्रगाढ बनाउँदै लैजाओस् भन्ने मेरो चाहना छ। सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास पनि छ।
मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
वैशाख १९, २०८३ शनिबार १७:०४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।