छात्रवृत्तिको दबाब र अधुरा सपनाको कथा ‘रोल नं १’
काठमाडौं : ‘पूर्ण बहादुरको सारङ्गी’मार्फत दर्शकको मन जितेका निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘रोल नं १’ निर्माण गरेका छन्। बालबालिकाको शिक्षा र सामाजिक परिवेशलाई मुख्य कथावस्तु बनाएर उनले दोस्रो फिल्म निर्माण गरेका हुन्।
शुक्रबार सार्वजनिक गरिएको ‘रोल नं १’को टिजरमा पढाइको बोझले बालबालिकाको मनोविज्ञानमा पार्ने प्रभाव र गरिब परिवारको शैक्षिक बाध्यतालाई प्रस्तुत गरिएको छ।
सरकारी छात्रवृत्ति प्राप्त गर्न कक्षामा प्रथम हुनै पर्ने कानुनी प्रावधान र त्यसले एउटा विपन्न परिवारको बालकमा पार्ने मानसिक दबाबलाई टिजरमा मुख्य समस्याका रूपमा देखाइएको छ।
अभिभावकले आफ्ना अधुरा सपना र अपेक्षाहरू छोराछोरीमाथि थोपर्दा उनीहरूको स्वभाविक बाल्यकालमा कस्तो असर पुग्छ भन्ने पक्षलाई पनि टिजरले उजागर गरेको छ। हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा छायांकन गरिएको फिल्मले पहाडी भेगको जीवनशैली र शैक्षिक अवस्थाको यथार्थ चित्रण गर्ने संकेत दिएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलाई देख्न सकिन्छ।
महेश दवाडीको लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र मदन घिमिरेको सम्पादन छ। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माताका रूपमा रहेका छन्।
निर्माण पक्षका अनुसार यो फिल्म आउँदो जेठ १५ गते (गणतन्त्र दिवस) देखि नेपालभर र विदेशमा समेत एकसाथ प्रदर्शन हुनेछ। फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले गर्ने जिम्मा लिएका छन्। शैक्षिक प्रणालीका कारण बालबालिकाले भोग्नुपर्ने मानसिक तनाव र सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयास ‘रोल नं १’ले गरेको देखिन्छ।
वैशाख १९, २०८३ शनिबार १८:०३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।