बढ्यो ‘बाटुलो जुन’ वितरण विवाद, निर्माता र वितरकबीच खटपट

बढ्यो ‘बाटुलो जुन’ वितरण विवाद, निर्माता र वितरकबीच खटपट

काठमाडौं : भुवन केसीद्वारा निर्देशित र अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जुन’ प्रदर्शनमा आउनुभन्दा ६ महिनाअगावै निर्माता र वितरकबीचको आर्थिक लेनदेनमा विवाद चर्किएको छ।

सुरुमा यस फिल्मको वितरण अधिकार 'काफिया फिल्मस्' सँग थियो। तर, निर्मात्री जिया केसीले काफिया फिल्मस्बाट वितरण अधिकार खोसेर अर्का वितरक सुनील मानन्धरको ‘सिंह देवी प्रोडक्सन’लाई १ करोड २० लाखमा बेचेको खबर बाहिरिएपछि दुई पक्षबीच विवाद चुलिएको हो। मानन्धरलाई फिल्मको प्रदर्शन अधिकार दिएको थाहा पाएपछि काफिया फिल्मस्का सञ्चालक गोविन्द शाहीले आफूले निर्मातालाई दिएको रकम फिर्ता मागेका छन्।

गत बुधबार काफिया फिल्मस्का गोविन्द शाहीले निर्मात्री जिया केसीसँग भएको सम्झौता पत्र आफ्नो फेसबुकमा राखेका थिए। जसमा जसमा उनले २४ घन्टाभित्र हिसाब चुक्ता गर्न अल्टिमेटम दिएका छन्। शाहीले फेसबुकमा सम्झौता पत्रसहित असन्तुष्टि पोखेपछि निर्मात्री जिया केसीले पनि आफ्नो तर्फबाट प्रष्टीकरण दिएकी छन्।

निर्मात्री जिया केसीले काफिया फिल्मस्लाई काठमाडौं उपत्यकाभित्रको मात्र वितरण अधिकार दिइएको जिकिर गरेकी छन्।

यो फिल्म आगामी असोज ३० गते अर्थात् दसैँको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको अडान छ। तर, काफिया फिल्म्सले उक्त मितिमा फिल्म प्रदर्शन गर्न नसक्ने नसक्ने बताएपछि आफूहरूले अर्का वितरकलाई  अधिकार दिनुपरेको केसीले बताएकी छन्। 

‘बि.सं २०८२ सालअसार १ गते दुई पक्षबीचभएको सम्झौताबमोजिमकाफियाफिल्मस् प्रालीले हाम्रो चलचित्रको वितरण अधिकार (काठमाडौं उपत्यकाभित्रमात्रै) खरिद गरेको थियो,’उनले शाहीलाई लक्षित गर्दै लेखेकी छन्,‘उक्त समयमा चलचित्रको छायांकन प्रारम्भ हुन बाँकी थियो भने चलचित्रको प्रदर्शन मिति समेत तय भएको थिएन।’

उनी थप्छिन्,‘तत्कालिन सम्झौता बमोजिम काफिया फिल्मस्ले उक्त मितिमा चलचित्र‘बाटुलो जुन’प्रदर्शन गर्न नसक्ने जानकारी गराएको स्पष्ट पार्न चाहन्छौं। कुनै पनिचलचित्रको निर्माणसँगै प्रदर्शन मिति तय गर्नमा प्रथमतः निर्माताको सम्पूर्ण अधिकार रहन्छ। वितरण संस्थालाई जानकारी गराएर नै प्रदर्शन मिति तय गरिएको समेत स्मरण गराउन चाहन्छौं।’

निर्मात्री केसीले यो विषयलाई समाधान गर्न चलचित्र निर्माता संघ र चलचित्र संघसँग छलफल भइरहेको अवस्थामा, गोविन्द शाहीले वदनियतपूर्ण अभिव्यक्तिसहित  सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नो लगानी र सिर्जनामाथि प्रहार गरेको आरोप लगाएकी छन्। उनले आफ्नो कम्पनी ‘सनराइज पिक्चर्स’ उत्पन्न परिस्थितिलाई संवादको माध्यमबाट नै समाधान गर्न सधैँ प्रतिबद्ध रहेको समेत उल्लेख गरेकी छन्।

म्झौतामा के थियो?

सार्वजनिक भएको सम्झौता पत्र अनुसार, काफिया फिल्म्सले सनराइज पिक्चर अर्थात निर्मातालाई १० लाख भुक्तानी गरिसकेको देखिन्छ। वितरण जिम्मेवारीको बदलामा काफिया फिल्मस्ले चार किस्तामा कुल ५० लाख रुपैयाँ दिने सहमति थियो।

यदि फिल्म प्रदर्शनबाट ५० लाख रुपैयाँ उठेन वा फिल्म घाटामा गयो भने, प्रदर्शन सकिएको तीन महिनाभित्र निर्माताले उक्त रकम फिर्ता गर्नुपर्ने शर्त उल्लेख गरिएको छ।

किन आयो विवाद?

यस विवादको खास कारण दसैँको प्रदर्शन मिति नै हो। दसैँमा विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’ प्रदर्शनमा आउने तयारीमा छ, जसको वितरण अधिकार पनि काफिया फिल्मस्ले नै लिएको छ।

एउटै वितरकले एउटै मितिमा दुई वटा ठूला फिल्म प्रदर्शन गर्न नसक्ने भए पनि, भुवन केसी र जिया केसीले दसैँमै ‘बाटुलो जुन’ प्रदर्शन गर्न दबाब दिएका थिए। काफिया फिल्मस्ले सोही मितिमा फिल्म प्रदर्शन गर्न नसक्ने बताएपछि दुई पक्षबीच मनमुटाव सुरु भएको हो।

भुवन केसी निर्देशित ‘बाटुलो जुन’ मा अनमोल केसीका साथै टिकटक स्टार प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्। यस फिल्मको निर्माण जिया केसीको कम्पनी 'सनराइज पिक्चर्स' ले गरेको हो।

वैशाख १९, २०८३ शनिबार १४:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।