‘टिकटको पैसा बढी भएर दर्शक नआएका हुन् कि !’
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले त्रिवि क्रिकेट मैदानमा दर्शकको उपस्थिति न्यून भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
युएईविरुद्धको खेलमा सानदार शतक प्रहार गरेपछि आयोजित पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै उनले दर्शक नआउनुको कारण महँगो टिकट पो हो कि भन्दै आशङ्का व्यक्त गरे।
लगातार तीन खेलमा दर्शकको उपस्थिति अत्यन्तै कम भएको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ऐरीले भने, ‘पहिले विश्वकप नहुँदा पनि दर्शकहरू आइरहनुहुन्थ्यो। तर अहिले टी-२० मा पनि, नाइट गेममा पनि दर्शक आउनुभएन। अहिले पनि आउनुभएको छैन। खै के हो थाहा छैन, सायद टिकटको पैसा बढी राखेको हो कि! तर दर्शक चाहिँ आउनुपर्ने थियो।’
दर्शकको साथले खेलाडीलाई धेरै ऊर्जा मिल्ने बताउँदै उनले विदेशमा खेल्दा पनि नेपाली दर्शकको साथ पाइने तर आफ्नै घरेलु मैदानमा दर्शक नदेख्दा दुःख लाग्ने बताए।
‘हामी अमेरिका खेल्न जाँदा वा इन्डिया जाँदा पनि त्यहाँ दर्शकहरू हुनुहुन्थ्यो। तर नेपालमा नहुँदा चाहिँ एकदमै दुःख लाग्दो कुरा हो’, उनले भने।
नेपाल क्रिकेट संघले नेपालसहित युएई र ओमान सम्मिलित एकदिवसीय क्रिकेट खेलको टिकट मूल्य चार सय रुपैयाँ तोकेको छ।
‘अरूको रन नबन्दा मेरो जिम्मेवारी बढेको छ’
युएईविरुद्धको खेलमा आफ्नो एकदिवसीय करियरको दोस्रो शतक प्रहार गरेका ऐरीले आफ्नो फर्म र टोलीप्रतिको जिम्मेवारीबारे पनि खुलेर कुरा गरे। पछिल्लो समय टोलीका अन्य ब्याट्सम्यानहरूको रन नबनिरहेको अवस्थामा आफूले सकेजति योगदान दिइरहेको उनले बताए।
‘अहिले रिसेन्ट गेमहरूमा मैले राम्रो खेलिरहेको छु। अरूको त्यस्तो रन लागिरहेको छैन भने अहिले मेरो मात्र लागिरहेको छ। त्यसैले आफ्नो टिमको लागि जति रन बन्छ, त्यो गरिरहेको छु। कहिले कसैले राम्रो खेल्छ, कहिले कसैले, तर जति खेलिन्छ त्यो टिमलाई दिनुपर्छ’, ऐरीले भने।
आफ्नो प्रदर्शनमा कन्सिस्टेन्सी आइरहेको र खेलमा आफू धेरै फोकस भएको उनले बताए।
डेथ ओभर र टोलीमा परिवर्तन
युएईविरुद्धको खेलमा डेथ ओभरमा स्पिनरको साटो फास्ट बलरलाई नै बलिङ गराउने निर्णय कप्तानको रहेको उनले स्पष्ट पारे।
‘हाम्रो फास्ट बलरले जहिल्यै राम्रो गरिरहेको छैन भन्ने थियो। त्यसैले फास्ट बलरलाई नै ब्याक गरौँ भन्ने कुरा भयो। क्रिजमा दुई जना राइट ह्यान्डर ब्याट्सम्यान भएकोले अफ स्पिनरलाई भन्दा फास्ट बलरलाई नै सजिलो हुन्छ भनेर कप्तानले फास्ट बलर युज गर्यो’, ऐरीले प्रष्ट पारे।
टोलीमा एकैपटक चार जना अनुभवी खेलाडी परिवर्तन गरिएको विषयमा उनले यो निर्णय कोच र कप्तानको भएको बताए। अनुभवी खेलाडी विनोद भण्डारीको कमब्याक राम्रो भएको र युवा खेलाडी अर्जुनले पनि राम्रो गरिरहेको भन्दै उनले टोली सन्तुलित रहेको दाबी गरे।
साथै, नेपाल ‘ए’ टोलीले खेलिरहेको आन्तरिक सिरिजले सिनियर टोलीलाई फाइदा पुग्ने उनले बताए। ‘नेपाल ए मा पनि राम्रो प्रदर्शन भइरहेको छ। यदि सिनियर टिममा कसैले प्रदर्शन गर्दैन भने त्यहाँबाट प्रदर्शन गर्ने खेलाडीलाई ल्याउन सकिन्छ। यसले टिममा राम्रो प्रतिस्पर्धा बनाएको छ’, उनले थपे।
सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध खेल्दा सकारात्मक सोचका साथ मैदान उत्रिने र राम्रो साझेदारी बनाएर सुखद नतिजा निकाल्ने लक्ष्य रहेको ऐरीले बताए।
वैशाख १९, २०८३ शनिबार ०७:३८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।