दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले यूएईलाई जितका लागि २ सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८९ रनको योगफल तयार पारेको हो।
नेपालको इनिङ्समा उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय योगदान दिए। उनले ९४ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा १ सय रन पूरा गरे। एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा दीपेन्द्रको यो दोस्रो शतक हो।
यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध १०५ रन बनाएका थिए। उनी कप्तान रोहित पौडेलपछि ओडीआईमा दुई शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्। दीपेन्द्र इनिङ्सको अन्तिम बलमा रनआउट भएका थिए।
टोलीलाई बलियो स्थितिमा पुर्याउन दीपेन्द्र र गुलशन झाले १०२ रनको महत्त्वपूर्ण साझेदारी गरे। आक्रामक ब्याटिङ गरेका गुलशनले ३८ बलमा ४ चौका र २ छक्कासहित ४४ रन जोडे।
चार वर्षपछि एक दिवसीय टोलीमा पुनरागमन गरेका ३६ वर्षीय विनोद भण्डारीले ५६ रनको अर्धशतकीय पारी खेले। ७९ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए। यससँगै विनोद नेपालका लागि ओडीआईमा अर्धशतक बनाउने सबैभन्दा पाको उमेरका खेलाडीसमेत बनेका छन्।
नेपालले शुक्रबार टोलीमा चार परिवर्तन गर्दै ओपनिङ जोडी फेरेको थियो। ओडीआईमा डेब्यु गरेका अर्जुन कुमाल २२ बलमा ११ रन बनाएर आउट भए। कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए भने आरिफ शेख ११ रनमा आउट भए। भीम सार्कीले भने खाता खोल्न सकेनन्।
बलिङतर्फ यूएईका जुनैद सिद्दीकी र अजय कुमारले समान २-२ विकेट लिए। हैदर अली र खुजैमा तनविरको नाममा १-१ विकेट रह्यो। लिग-२ को अंक तालिकामा नेपाल हाल २२ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ। यूएई समान खेलबाट १२ अंकसहित पुछारमा छ। आजको खेल दुवै टोलीका लागि तालिकामा सुधार गर्न महत्त्वपूर्ण मानिएको छ।
वैशाख १८, २०८३ शुक्रबार १४:१३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।