आईसीसी विश्वकप लिग-२ मा यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

आईसीसी विश्वकप लिग-२ मा यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी शृंखलामा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

त्रिवि क्रिकेट खेलमैदानमा यूएईविरुद्धको खेलमा टस जित्दै नेपाली कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन्।

आजको खेलमा नेपाली टोलीका चार खेलाडी परिवर्तन भएका छन्। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखसँगै बसिर अहमद र करण केसीको स्थानमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललित राजवंशी प्लेइङ-११ मा समेटिएका छन्। 

यो सँगै विनोद भण्डारीले लामो समयपछि सिनियर टोलीमा पुनरागमन गरेका छन् भने  अर्जुन कुमालले राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका छन्। 

जारी शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको थियो।

वैशाख १८, २०८३ शुक्रबार ०९:५४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।