ओमानसँग नेपाल १ सय २ रनले पराजित
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ।
बुधबार वर्षाले प्रभावित भएको खेलमा ओमानसँग नेपाल 'डीएल' मेथडअनुसार १०२ रनले पराजित भएको हो।
ओमानले दिएको ३०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सुरु हुन नसक्दा डीएल मेथडका आधारमा नतिजा ओमानको पक्षमा गएको हो।
यो खेलमा जित हासिल गरेसँगै ओमानले पहिलो जित दर्ता गरेको छ।
गुल्सन झा १४ र सोमपाल कामी २ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरि ६० रन बनाए भने भिम सार्की २८ रनमा आउट भए। रोहित पौडेलले १०, आरिफ शेखले १४ रन थपे। आशिफ शेखले १९, रोहित कुमार पौडेलले १० रन जोडे। कुशल भुर्तेल र बसिर अहमदले समान १ रन जोडे।
ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमदले २ विकेट लिए। मुहम्मद इमरान र वसिम अलीले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पारेको थियो।
ओमानको विशाल स्कोरमा कप्तान जतिन्दर सिंहले विष्फोटक ब्याटिङ गर्दै मात्र ९६ बलमा १३० रनको सानदार शतकीय इनिङ्स खेले। त्यस्तै, जितेन रामानन्दीले ४३, आर्यन बिष्टले ३५ र हम्माद मिर्जाले ३० रनको योगदान दिए। विनायक शुक्लाले २३ र आशिष ओडेदराले २३ रन जोडे।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। करण केसी, गुल्सन झा, कुशल भुर्तेल र बासिर अहमद भने आज विकेटविहीन रहे।
सिरिजको तेस्रो खेलमा नेपालले पर्सि शुक्रबार युएईसँग पुनः खेल्नेछ।
वैशाख १६, २०८३ बुधबार १७:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।