विश्वकप लिग-२ : जतिन्दर सिंहको विष्फोटक शतक, नेपाललाई ३०६ रनको विशाल लक्ष्य
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज कीर्तिपुरमा भइरहेको खेलमा ओमानले नेपाललाई जितका लागि ३०६ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल खडा गर्यो।
ओमानको विशाल स्कोरमा कप्तान जतिन्दर सिंहको मुख्य भूमिका रह्यो। उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ९६ बलमा १३० रनको सानदार शतकीय इनिङ्स खेले।
उनले आफ्नो इनिङ्समा १५ चौका र ५ छक्का प्रहार गरे। जतिन्दरलाई सोमपाल कामीले कट एण्ड बोल्ड आउट गरेका थिए।
त्यस्तै, जितेन रामानन्दीले ४३, आर्यन बिष्टले ३५ र हम्माद मिर्जाले ३० रनको योगदान दिए। विनायक शुक्लाले २३ र आशिष ओडेदराले २३ रन जोडे।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा ५९ रन खर्चेर महत्त्वपूर्ण सफलता दिलाएका हुन्।
स्पिनर सन्दीप लामिछानेले भने आज निकै किफायती (कसिलो) बलिङ गरे। उनले १० ओभरको स्पेलमा मात्र २.४० को इकोनोमीमा २४ रन खर्चेर २ विकेट लिए।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ९ ओभरमा ५६ रन दिएर २ विकेट हात पारे। करण केसी, गुल्सन झा, कुशल भुर्तेल र बासिर अहमद भने आज विकेटविहीन रहे।
नेपालले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। अङ्क तालिकामा कमजोर स्थितिमा रहेको नेपाललाई आफ्नो लय फर्काउन आज ३०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउनुपर्नेछ।
कीर्तिपुरको मैदानमा ३०० माथिको लक्ष्य पछ्याउन नेपालका माथिल्लो क्रमका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ।
वैशाख १६, २०८३ बुधबार १३:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।