'हुकुमबासी' भन्दै गिज्याउनेलाई सुकुमबासीको प्रश्न -"हाम्रो जग्गा कहाँ छ, खोजिदेओ !"

'हुकुमबासी' भन्दै गिज्याउनेलाई सुकुमबासीको प्रश्न -

कीर्तिपुर : कीर्तिपुरमा बागमती नदी खोला नजिकै त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर बनाएको राधास्वामी सत्संगको हलमा पुग्दा सरकारले थापाथली र गैरीगाउँबाट उठाएर ल्याएका जग्गाविहीनहरू निकै आक्रोशित देखिए।

“तपाई पनि हामीलाई हुकमबासी कि सुकुमबासी भनेर सोध्न आउनु भएको हो ?” प्रारम्भमै एक महिलाले प्रश्न गरिन् “हाम्रो रमिता हेर्न किन आउँछन् मान्छे ? हाम्रो दुःख नबेच्नुस्।”

उकेराकर्मी सोमबार दिउँसो सरकारले सुकुमबासी क्षेत्रबाट उठाएर राखिएकाहरू रहेको राधा स्वामीको होल्डिङ सेन्टर पुग्दा अधिकांश यस्तैगरी मिडियासँग रिसाइरहेका भेटिए। सरकारले समय पनि नदिई जबरजस्ती बन्दुकको नाल देखाएर उठाउँदा पनि मिडियाले शान्तिपूर्ण भनेर लेखेकोमा उनीहरूले निकै चित्त दुखाए।

उनीहरूलाई सबैभन्दा धेरै चित्त दुखेको रहेछ हुकमबासी शब्दसँग। जो आउँछ क्यामरा तेर्स्याएर ‘सुकुमबासी हो कि हुकुमबासी हो’ भनेर सोध्ने रहेछन्। उकेराकर्मीले केहीसँग कुरा गर्ने प्रयास गर्दा उनीहरूले मानेनन्। उकेरामा सुकुमबासी बस्ती हटाउन सरकारले गरेको मानवहीन अभियानबारे उकेरामा प्रकाशित केही सामग्री देखाएपछि मात्र केही कुरा गर्न राजी भए। तै पनि उनीहरूको आक्रोश उस्तै थियो।

“धेरै मिडियाले हामीलाई हुकुमबासी भने। हाम्रो जग्गा कहाँ छ खोजे भयो त,” जानुका पोखरेल रिसाउँदै भनिन् “हामीलाई कामको व्यवस्था गरिदेओस्, सुकुमबासी बस्तीमा बस्दा पनि कामै गरेर खाएको हो। कसैको सित्तैमा खानु छैन।”

OOO

उकेराकर्मी होल्डिङ सेन्टर छिर्दा त्यहाँ एकै हलमा नम्बर लगाएर परिवार छुट्टाइएको थियो कतै बार थिएन। सत्संगमा प्रयोग हुने हलको भुईँमा म्याट्रेस ओछ्याइएको थियो अनि एउटा ब्लाङ्केट दिइएको देखियो। के महिला, के पुरुष सराबर एकै हलमा राखिएको थियो।

खोला किनारको जग्गा मिचेको भन्दै सरकारले सुरक्षाकर्मीको घेरा हालेर उनीहरूलाई उठाएर ल्याएको थियो। तर उनीहरूलाई जहाँ राखिएको थियो त्यो पनि नदी किनार मिचेरै बनाइएको भवन थियो। आफ्नै छाप्रोमा बस्दा पनि खोला किनारै अनि सरकारले दिएको सेल्टर पनि खोला किनारै। त्यसमा उनीहरू छक्क पनि देखिए।

हलमा पुग्दा यताउति गरिरहेको अवस्थामा भेटिएकी थिइन् जानुका पोखरेल। उनलाई सरकारले थापाथलीको बागमती छेउबाट उठिबास लगाएर यता ल्याएको थियो। पोखरेलका अनुसार उनी ‌ओत खोज्दै थापाथलीको बागमती किनारमा २५ वर्ष अघि पुगेकी थिइन्। त्यहीँ दुख गरेर उनले छाप्रो बनाइन्। छाप्रो अनधिकृत भनेर शनिवार सरकारले उठिबास लगाएपछि ४ जनाको परिवारसहित उनी सत्संगको हलमा पुगिन्। त्यो हलमा अहिले उनीसँगै १ सय ५० जना बसेका छन् । 

“जस्तै भए पनि आफ्नै छाप्रो थियो। आफैँले पकाएर खाएका थियौँ,” जानुकाले भनिन्,“एक दिन काम गरे ६/७ दिन खान पुग्थ्यो। कम्तीमा सुत्न त आफ्नै थियो। यहाँ त सबैलाई सराबर गरेर राखेका छन्। छाप्रै भए पनि सुरक्षित लाग्थ्यो। यहाँ त सुत्न पनि धक लाग्छ। कतिखेर के होला भनेर निदाउनै सकेको छैन।” 

त्यहाँ एकल महिलाहरू पनि देखिए। महिला र पुरुष सराबर राखिएको छ। खुल्ला हलमा कपडा फेर्ने सुरक्षित ठाउँ पनि छैन। त्यसले उनीहरूमा मानसिक प्रभाव पारेको देखियो

“हलमा सिसिटिभी राखेका छौँ भन्छन्। तर महिलाहरू डरले रातभर निदाउन सकेका छैनन्। छाप्रै भए पनि ढोका लगाउन त पाइन्थ्यो। यहाँ त त्यति सुरक्षा पनि भएन” उनले भनिन्।

जानुकाका अनुसार उनी २०४० सालमा मोरङबाट काम खोज्दै श्रीमानसँगै काठमाडौं छिरेका थिए। दुवैले ज्यामी काम सुरु गरे। पहिला महाराजगन्जको सुकुमबासी बस्तीमा बसे। त्यसपछि भक्तपुरतिरको सुकुमबासी बस्तीमा पुगे। पछि थापाथली पुगे।

श्रीमान् बिरामी परे। उमेरसँगै ज्यामी काम गर्न उनको पनि हात थाक्दै गए। छोरीहरूको विवाह भयो। छोराहरू बाँच्न सङ्घर्ष गरिरहेकै छन्। 

“काठमाडौंमा काम पाइन्छ भनेर काठमाडौँ आएको ४० सालमै हो । दुःख सुख गरेर काम गरेरै खाइएको थियो। अब ६० वर्ष कटेपछि सरकारले लखेट्यो। कहाँ राख्छ थाहा छैन” उनले भनिन्।

उनीसँगै भेटिइन् प्रमीला राई। उनी पनि थापाथली सुकुमबासी बस्तीमा २०६२ सालपछि आएकी हुन्। सानैमा उनले खोटाङका राईसँग विवाह गरेकी थिइन्। ज्यामी काम गर्ने उनीहरू पनि महाराजगन्जकै सुकुमबासी बस्तीमै बस्थे। 

१५ वर्ष अघि उनका श्रीमान् साहुको काम गर्न गए । इनार बनाउने काममा गएका उनी फर्किएनन्। इनार खन्दा खसेर मृत्यु भयो। यता १० वर्षकी छोरी हुर्काउन उनलाई सकस  पर्यो। एक्लै उनले ज्यामी काम गरेर छोरी हुर्काइन्। काभ्रे माइती भए पनि उनी गइनन्। घरको सम्पत्ति छैन।

“माइतीको ओत लाग्ने जग्गा त छ नि, तर के गर्नु छोरीलाई अंश दिँदैनन्। त्यसमाथि मैले विवाह गरेको २५ वर्ष भयो। सम्पर्कमै छैनन्,” उनले भनिन्, “ओत लगाउने ठाउँ नभएर २० वर्ष अघि थापाथली आएको, अहिले उठिबास भो।” 

दुख गरेर हुर्काएको छोरीलाई २ वर्ष अघि दुबई पठाइन्। छोरीलाई उतै जन्डिस भएछ। ऋण नतिर्दै उनी नेपाल फर्किइन्। अहिले पनि सहयोगकै भरमा छोरीको उपचार भइरहेको रहेछ।

“ऊ गएको ऋण पनि तिर्न सकेको छैन। म आफैँ युरिक एसिडको बिरामी। १ पटक घुँडाको अप्रेसन गरेँ,” गहभरी आँसु पार्दै उनले भनिन्, “अर्को अप्रेसन पनि गर्नु पर्ने छ। कसरी पैसा जुटाउने थाहा छैन।” 

सेल्टरमा राखेर थकाउने सरकारी नीति

काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार राधास्वामीमा अहिले सम्म १ सय ५० जनाले आश्रय लिइरहेका छन्। बागमती किनारको जग्गामा बसेका सुकुमबासीहरुमध्ये थापाथलीका ३२ परिवार होल्डिङ सेन्टरमा आएका छन् भने अन्य गैरीगाउँका छन्।  

“संख्या घटबढ भएको छ। हिजो २ सय जति थिए,” उनले भने, “कोही आफन्तकोमा बसेका छन्। कोही पुरानै ठाउँमा फर्किए होलान्। बाँकी कति होलान् त्यही अनुसार व्यवस्थापन हुँदै छ।” अब कसरी उनीहरूको व्यवस्थापन हुन्छ भन्नेबारे काफ्लेले प्रस्ट जानकारी दिएनन्।

भेटिएका महानगरका एक कर्मचारीसँग अबको योजनाबारे जिज्ञासा राख्दा उनले औपचारिक रूपमा बोल्न मानेनन्। नाम उल्लेख नगर्ने सर्तमा भने बोल्न तयार भए। उनले दिएको जानकारी अनुसार तत्काल यहाँ राखिएकाहरूलाई अन्यत्र लैजाने योजना छैन।

तत्काल सबैलाई अन्त लैजान नसक्ने भएकाले केही दिन उनीहरूलाई होल्डिङ सेन्टरमै राख्दा विकल्प खोजेर लाखापाखा लाग्न सक्ने उनीहरूको अनुमान रहेछ। अन्तमा विकल्पै नभएकाहरू जसरी पनि यही होल्डिङ सेन्टरमा बस्छन् अनि उनीहरूलाई मात्र अन्यत्र लैजाने महानगरको रणनीति देखियो।

“कोहीका आफन्त होलान्। कोही यहाँ बस्न दिक्क लागेर कोठा खोजेर पनि जालान्,” उनले भने  “ त्यसपछि जति बाँकी हुन्छन् उनीहरूलाई नागार्जुन र इचङ्गुमा लगिदिने हो। अहिले त त्यहाँ बस्न सक्ने ठाउँ छैन। मर्मत भइरहेको सुनेको हो।” 

बालबच्चाको स्कुल कुन हो?

उकेराकर्मी होल्डिङ सेन्टर पुग्दा केही बालबालिका खेलिरहेका थिए। तीमध्ये २१ जना बालबालिका थिए जो सुकुमबासी बस्ती नजिकैको सरकारी स्कुल पढ्दै आएका थिए। सरकारले बास उठाएर कीर्तिपुर ल्यायो। स्कुल त उतै गैरीगाउँ र थापाथलीमै छ। त्यही भिडमा एक जना कक्षा १२ को विद्यार्थी पनि भेटिइन्।

स्थानीय तहले वैशाख १५ बाट स्कुल खोल्ने निर्णय गरिसकेका छन्। ती २१ बालबालिका अब कहाँ पढ्ने अन्योलमा देखिए। पढिरहेको विद्यालय एकातिर छ। सरकारले राखे पनि नागार्जुन र इचङ्गु लैजान्छु भनिरहेको छ।

“यहाँ कति समय राख्ने हो थाहा छैन। कहाँ लगेर राख्छ त्यो पनि थाहा छैन। भर्ना सुरु गर्ने बेला भइसक्यो । स्कुल कता हाल्ने हो सरकारले केही भनेको छैन” एक अभिभावकले भनिन्।

धक र डरले रातभरि सुत्दैनन् महिला

एकल महिला समेत रहेकी प्रमीला राई महिला पुरुष एकै ठाउँमा राख्दा कपडा फेर्नसम्म नपाएको बताउँछिन्। सुत्दा पनि केही होला कि भनेर डर लाग्ने गरेको उनले बताइन्। 

“विवाह गरेको २५ वर्ष बढी भयो। थापाथली आउनु अघि सुकुमबासी बस्तीमै भाडा तिरेर बसेको हो। आफ्नो जमिन के हो थाहा छैन,” उनले भनिन्, “जसरी यहाँ ल्याएर राखियो  यसमा भन्नु मेरो केही छैन। हामीलाई काम र घर छिटै दिइयोस्।”

होल्डिङ सेन्टरमा रहेका स्कुल जाने बालबालिकाहरु।थापाथलीकै केही सुकुमबासीलाई महानगरले लजमा लगेर राखेको छ। लज कहाँ हो खुलाएको छैन। जानुकालाई लज पुगेका छिमेकीहरूले फोन गरेर पानीदेखि खानासम्मको समस्या सुनाइरहेका रहेछन्। साना बच्चाहरूलाई समेत समयमा खाना नदिँदा समस्या भएको सुनाउने गरेको उनले बताइन्।

“धेरै साथीहरूले फोन गरेर लजमा कतै धारा बिग्रेको त कतै खाना समयमा नआएर तनाव भएको बताएका छन्,” उनले भनिन्, “घरबास उठाएसी त राम्रोसँग राख्नु नि।” 

जानुकाका राधास्वामीमा रहेकामध्ये २ जना गर्भवती। धेरैजसो वृद्धबुद्धाहरु पनि छन्। सबैलाई  दिनको २ पटक एकै खालको खाना दिइरहेका छन्। कमसेकम वृद्धबुद्धाको स्वास्थ्य अवस्था अनि गर्भवतीलाई आवश्यकता अनुसार खाना दिए हुने भन्ने लाग्ने रहेछ। तर लागेर के गर्नु।

वैशाख १४, २०८३ सोमबार १९:३७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।