सप्तरी भेटेरेनरी अस्पताल भवन निर्माणमा एक करोड २६ लाख बढी घोटाला, कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

सप्तरी भेटेरेनरी अस्पताल भवन निर्माणमा एक करोड २६ लाख बढी घोटाला, कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं : सप्तरीस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणका क्रममा एक करोड २६ लाख बढी भ्रष्टाचार भएको खुलेको छ।

भेटेरेनरी अस्पताल सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झाले अरू तीन जनासँग मिलेर बोलपत्र प्रक्रियामा मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखायो।

आयोगले बिहीबार प्रमुख झासहित हनुमाननगर कङ्कालिनी नगरपालिकाका इन्जिनियर अशोककुमार सिंह, असिस्टेन्ट सब-इन्जिनियर प्रेमकुमार सिंह र मतियार बनेको अभियोगमा निर्माण व्यवसायीका तर्फबाट राधा कृष्ण निर्माण सेवाकी प्रबन्धक कौशल्या कुमारी रजकविरुद्ध भ्रष्टाचारको मुद्दा दाय गर्यो।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा भेटेरेनरी कार्यालय भवन निर्माणका लागि ठेक्का आह्वान गर्दा प्रचलित कानुनको उल्लङ्घन गरिएको थियो। सौर्य दैनिकमा सूचना नै प्रकाशन नगरी नक्कली पत्रिकाको प्रति तयार गरेर बोलपत्र आह्वान भएको देखियो। 

बोलपत्र मूल्याङ्कनका क्रममा कम कबोल गर्ने श्री राम निर्माण सेवालाई नियतवश प्राविधिक रूपमा अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने राधा कृष्ण निर्माण सेवालाई छनोट गरिएको आरोप पत्रमा उल्लेख छ।

निर्माण कार्यका लागि श्री राम निर्माण सेवाले करसहित दुई करोड ८९ लाख रुपैयाँ प्रस्ताव गरेको थियो। तर, कार्यालय प्रमुख झाको निर्देशनमा उक्त प्रस्तावलाई पन्छाएर चार करोड १६ लाख रुपैयाँ कबोल गर्ने राधा कृष्ण निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो। 

न्यूनतम कबोल गर्ने कम्पनीको आर्थिक प्रस्ताव नै नखोली बढी मूल्यमा सम्झौता गर्दा राज्यकोषलाई १ करोड २६ लाख ९६ हजार पैसा थप भार पर्न गई सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी भएको आयोगले जनाएको छ।

आयोगले तत्कालीन कार्यालय प्रमुख झा, इन्जिनियर सिंह र असिस्टेन्ट सब-इन्जिनियर प्रेम कुमार सिंहलाई मुख्य प्रतिवादी बनाएको छ। उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ र दफा १९ बमोजिम बिगो बमोजिम जरिवाना, कैद र बिगो असुलीको मागदाबी गरिएको छ।

त्यस्तै, निर्माण सेवाकी प्रबन्धक रजकलाई भ्रष्टाचारमा मतियार बनेको अभियोगमा मुख्य कसुरदार सरह नै सजाय र बिगो असुलीको माग गरिएको छ। गलत मूल्याङ्कन प्रतिवेदन दिएर भ्रष्टाचारमा सहयोग पुऱ्याएको भन्दै उनीहरू सबैलाई कानुन बमोजिमको हदैसम्मको कारबाही गर्न माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

जेठ २८, २०८३ बिहीबार २१:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।