कर्णाली करिडोरमा भिरबाट खसेको ढुङ्गा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु

कर्णाली करिडोरमा भिरबाट खसेको ढुङ्गा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिकास्थित थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।

 जङ्गलमा गाईगोरु चराउन गएका बेला आज बिहान करिब १०:३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए। 

घटनाको जानकारी पाउनसाथ ११:५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस्ता  दुर्घटनाहरू दोहोरिन नदिन सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन र स्थानीयको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न स्थानीय बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

जेठ ३०, २०८३ शनिबार १५:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।