काभ्रे बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौं : काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ।
शनिबार प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो। समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण र जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा गठित समितिको सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश खरेल र इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी हबल्दार बासुदेव खड्का रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटीलाई समितिको सदस्य सचिव तोकिएको छ। बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा परी ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेहरूको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। समितिलाई प्राविधिक पक्ष र मानवीय त्रुटि लगायतका विषयमा केन्द्रित रहेर अनुसन्धान गरी रायसहितको प्रतिवेदन बुझाउन भनिएको छ।
जेठ ३०, २०८३ शनिबार १५:१०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।