सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका-१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ करिब ५ बजे स्थानीय ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) आफ्नो मकैवारिमा पुगेका बेला जंगली बँदेलले क्षति पुर्याएको देखेपछि उक्त बँदेललाई पछ्याएका थिए।
सोही क्रममा पिडखोल्सीमा बँदेलले एक्कासि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते थिङलाई तत्काल उपचारका लागि लाल बन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे साँझ ७ः३० बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी परवानीपुरबाट प्रहरीको टोली खटिएको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लाल बन्दीबाट एसओसीओसहित ७ जनाको टोली खटिएको जनाएको छ। उक्त स्थान परवानीपुर प्रहरी चौकीबाट करिब १।५ किलोमिटर उत्तर पूर्वमा पर्छ।
अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
वैशाख १४, २०८३ सोमबार ०९:१४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।