सेनासहितको सुरक्षा व्याकअपमा भत्काइयो सुकुमबासी बस्ती, सुरक्षामा प्रहरी र सशस्त्रको ब्यारेक  सुरक्षा प्रणाली

सेनासहितको सुरक्षा व्याकअपमा भत्काइयो सुकुमबासी बस्ती, सुरक्षामा प्रहरी र सशस्त्रको ब्यारेक  सुरक्षा प्रणाली

काठमाडौं : २०८२ भदौ २४ को ध्वंसमा सेना किन १० घण्टा ढिला परिचालित भयो भन्ने प्रश्नमा सेनाले पत्रकार सम्मेलनै गरेर सेना परिचालन सम्बन्धी संवैधानिक व्यवस्था उल्लेख गरेको थियो। भदौ २३ मा सेना सक्रिय थिएन। भदौ २४ विहानैबाट खटिने भने पनि सेना खटिएन। २ बजे प्रधानमन्त्री पदबाट केपी ओलीले राजिनामा दिए पनि सेना सडकमा आउन रातको १० बज्यो।

त्यसपछि सेनाको भुमिकाबारे गम्भिर प्रश्न उठ्यो। यसकझ जवाफमा सेनाले संवैधानिक प्रावधान अनुसार सङ्कटकालको घोषणा वा राष्ट्रिय सुरक्षा परिषद्बाट सेना परिचालनको निर्णय हुँदै मन्त्रीपरिषद्बाट राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतीबाट अनुमोदन भयो भने मात्र सेना परिचालन हुनसक्ने र यी कुनै प्रक्रिया पुरा नभएको भन्दै आफ्नो वचाउ गरिरह्यो।

स्थानीय प्रशासन ऐनमा प्रमुख जिल्ला अधिकारीले सहयोग मागेमा शान्ती सुरक्षा कायम गर्न परिचालित हुनसक्ने प्रावधान छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २३ र २४ दुबै दिन लिखित रुपमा सेनासँग सहयोग मागेको गौरीबहादुर कार्कीको प्रतिवेदनले नै पुष्टी गरेको छ। तर भदौको जेनजी आन्दोलनमा देखिएको निस्क्रियताबारे सेनाले स्थानीय प्रशासन ऐन हैन संवैधानिक व्यवस्था अगाडि सारिरह्यो।

सुधन गुरुङको राजीनामा पछि गृहमन्त्रीको जिम्मेवारी समेत लिएका प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिवार र आइतबार भित्र काठमाडौंको थापाथली अनि मनोहरासहितको नदी किनारमा रहेको सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएको सार्वजनिक भयो।

शनिवार शान्तिनगर क्षेत्रमा सडकमा खटिएको नेपाली सेनाको समूह।तर सरकारका प्रवक्ता सस्मित पोखरेलले बिहीबार मन्त्रीपरिषद्को बैठकपछि काठमाडौंको थापाथली लगायतका क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाउनेबारे सरकारले निर्णय नगरेको दाबी गरेका थिए।

यो बिचमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको सार्वजनिक भएको छैन। मन्त्रीपरिषद्ले सेना परिचालन सम्बन्धी निर्णय गरेको कुनै विवरण सार्वजनिक भएको छैन। अनि राष्ट्रपति कार्यालयबाट सेना परिचालन सम्बन्धी कुनै निर्णय भएको पनि सार्वजनिक भएको छैन।

तर शनिवार थापाथलीसहितको क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाउन नेपाल प्रहरीसशस्त्र प्रहरी र महानगरको नगर प्रहरी खटिएको क्षेत्रमा हतियार र सेनाको सवारीसहित सेना समेत खटिएको देखिए। 

उनीहरू अतिक्रमित क्षेत्रमा हस्तक्षेप गर्ने तहमा परिचालित थिएनन्। तर अतिक्रमित क्षेत्र भन्दा केही पर ब्याकअप शैलीमा शान्तिनगर र थापाथली क्षेत्रमा सैनिकहरू हतियारसहित उपस्थित थिए। उकेरासँग सो क्षेत्रमा सेना खटिएको भिडियो र तस्बिर दुवै सुरक्षित छ।

शनिवार सुकुमबासी बस्ती क्षेत्रमा सेना परिचालित भएकोबारे नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतसँग जिज्ञासा राखेको थियो। तर उनले यो ठाडै अस्वीकार गरे। उनले सेनाको संलग्नता संयोग मात्र हुन सक्ने बताए ।

थापाथली अनि शान्तिनगर दुवै ठाउँमा सवारीसाधनमा मात्रै हैन सवारीसाधनबाट उत्रिएर सडकमा हतियारसहित पोजिसनमा सेना देखिएकोबारे जिज्ञासा राख्दा उनले उकेरासँग भने, "हामी यसमा खटिएको अवस्था छैन। हाम्रो विशेषगरि बिदाको दिनमा प्रशासनिकदेखि लिएर विभिन्न किसिमको मुभमेन्ट भइराखेको हुन्छ। हाम्रो टोली त्यस समय त्यो बाटो हिँडेको हुन चैँ सक्छ। तर हामी यसैको लागि भनेर खटिएको छैनौ।"

तर उकेराकर्मीले खिचेको भिडियो अनि तस्बिर दुबैमा सो क्षेत्रमा सेना सामान्य मुभमेन्टका क्रममा देखिएको देखिदैन। उनीहरू बकाइदा सवारीसाधनबाट सडकमा परिचालित अवस्थाकै पोजिसनमा देखिएका छन्।  यस अगाडि पनि काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रको नदी किनारमा रहेको सुकुमबासी बस्ती खाली गराउन आफ्नै नगर प्रहरी परिचालित गरेको थियो। तत्कालीन महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले कमान्ड गरेका थिए। तर सुकुमबासी बस्तीमा रहेकाहरूको प्रतिरोध र प्रहरीको असहयोगमा कारण उनीहरू असफल भए। बालेन्द्र शाह मेयरका रूपमा सुकुमबासी बस्ती खाली गराउन सफल भएनन्।

उनी प्रधानमन्त्री भएपछि नगर प्रहरी हैन नेपाल प्रहरी अनि अर्ध सैनिक बल सशस्त्र प्रहरी परिचालन गरे। त्यसमा सेनाले ब्याकपमा सघाएको देखियो। प्रहरी  संगठनका सदस्यहरू शनिवार बिहान थापाथलीको सुकुम्वासी बस्ती खाली गर्न काठमाडौँ नगरप्रहरीसँगै थापाथली पुलदेखि मदन भण्डारी कलेजसँगको रुद्रमती पुलसम्म लहरै घेराबन्दीको शैलीमा खटिएका थिए।

त्यहाँ प्रहरी संगठन भित्र रहेको जनपद समूहका प्रहरी मात्र खटिएका थिएनन्, दंगा नियन्त्रण गर्ने प्रहरीहरू समेत घातक हतियारसहित खटिएका थिए। सम्भावित झडप भएमा हस्तक्षेप गर्न पानीको फोहरा हान्ने गाडी समेत लगिएको थियो।

उनीहरूले थापाथली पुलदेखि रुद्रमती पुलसम्मै घेरा हालेर त्यहाँभित्र आम नागरिक मात्रै हैन समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरूलाई समेत छिर्न दिएका थिएनन्।

शनिवार बिहान पाँच बजे देखि दिउँसो करिब एक बजेसम्मकै सुरक्षाकर्मीको घेरामा बस्ती भित्र सात डोजर चलाइयो। बाहिर विकल्पमा थप पाँच डोजर राखिएको थियो।

ललितपुर जिल्लामा पर्ने थापाथली पारिपट्टि भने घेराबन्दी थिएन। त्यता सञ्चारकर्मी र रमितेहरूको भिड थियो। भित्रिबाटो हुँदै उकेराकर्मी थापाथली बस्ती नजिक पुग्दा डोजर बस्ती भित्र छिरेर भत्काउन सुरु भइसकेको थियो।

यत्रतत्र थुपारिएको घरको सामान र पोकोपन्तुराले सडक भरिएको थियो। डोजर, प्रहरीको गाडी र सामान सार्न आएको स-सानो गाडीहरू आउजाउले सडक व्यस्त थियो। चारैतिर सुरक्षाकर्मीको घेरा भएकाले सुकुमबासी बस्तीमा बस्नेहरुले विरोध गर्ने हिम्मत गरेनन्। सुरक्षाकर्मीले जे जे भने उनीहरुले लुरुलुरु माने।

वैशाख १२, २०८३ शनिबार २१:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।