मदनको नाममा भ्रष्टाचार, उपकुलपति डा. ज्ञवालीको सक्रियतामा साढे तीन करोडको स्वास्थ्य उपकरण खरिद सेटिङ
काठमाडौं : एमालेका महासचिव मदन भण्डारीको नाममा स्थापना गरिएको ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान” नेतृत्वले निश्चित सप्लायर्स कम्पनीको मापदण्ड मात्र पास हुनेगरि करिब तीन करोड ४० लाखको टेन्डर प्रक्रिया अगाडि बढाएको देखिएको छ।
उकेराको खोजमा मकवानपुरस्थित हेटौँडामा रहेको प्रतिष्ठान नेतृत्वले सेटिङ अनुसार चाहेकै निश्चित सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी तीन करोड ४० लाखमा ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको खुलेको हो।
प्रतिष्ठानले यो मेसिन ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन किन्न गरेको टेन्डरको प्रावधान तथा स्पेशिफिकेशनका मापदण्डहरू मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यु’लाई नै लक्षित गरेर बनाएको देखिन्छ। खरिद मापदण्डका प्रावधानहरू हेर्दा ‘स्मिथ एन्ड नेफ्यु’को नेपाली सप्लायर्सलाई दिनेगरी मिलेमतो गरिएको प्रस्टै देखिन्छ।
‘स्मिथ एन्ड नेफ्यु’ कम्पनीको नेपाली एजेन्टका मालिक मेडिकल व्यवसायी उमेश अग्रवाल हुन्। स्थानीय फर्म जुन प्रयोग गरे पनि उनकै सेटिङ अनुसार ‘स्मिथ एन्ड नेफ्यु’को यो मेसिन खरिदका लागि प्राविधिक स्पेशिफिकेशन नै लक्ड गर्नुकासाथै खरिद मापदण्डमा केही अस्वाभाविक सर्त समेत राखेको देखिएको छ।
‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’मेसिनको खरिद प्रक्रियाको मुख्य सेटिङकर्ता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली र रजिस्ट्रार भीम सागर गुरागाईँ हुन्। ज्ञवाली एमाले कोटामा नियुक्त भएका हुन्।
खरिदको यो सेटिङमा प्रतिष्ठान (अस्पताल)का करार बायोमेडिकल इन्जिनियर रजनिश पण्डितको सहयोगी भूमिका हुने नै भयो। उनी यस अगाडिका खरिद मिलेमतोमा समेत जोडिँदै आएका छन्। त्यसैगरी खरिद एकाइ तथा प्राविधिक कमिटी, लेखा र प्रशासन प्रमुखको समेतको सहमतिबिना खरिद सेटिङ सम्भव हुँदैन।
बागमती प्रदेश सरकार अन्तर्गतको यो प्रतिष्ठानको चान्सलरमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ छन्। उनी नेपाली कांग्रेसका सांसद हुन्। प्रो-चान्सलरमा प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगर छन्। मगर एमालेका हुन्।
उपकुलपति डा. प्रदीप ज्ञवालीले आपूर्तिकर्ताबाट माग भएमा खरिद मापदण्ड संशोधन हुने दाबी गरे। उनले खरिद मापदण्डमा कुनै लक्ड भएको देखिए सबै खोलिदिने दाबी समेत गरे।
तर ज्ञवाली खरिद मिलेमतोमा जोडिएको पहिलो पटक हैन। यस अगाडि प्रतिष्ठानबाट भएका अधिकांश खरिदमा समेत मिलेमतो भएको देखिन्छ।
‘डेलिभरी डेट’मा समेत सेटिङ
यो खरिदमा विशेषगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गर्नुकासाथै मेसिन ल्याइदिनुपर्ने समय समेत छोटो राखेर बदमासी गरेको देखिन्छ। प्रतिष्ठानले ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको यो टेन्डरमा पनि एनसिबी गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गर्दै पहिल्यै सामान ल्याएर स्टकमा राखी उपकरण ल्याइदिनुपर्ने समय छोटो राखेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।
आर्थिक वर्ष सुरु हुनासाथ गर्नुपर्ने खरिद ढिला गरी सुरु गरेर सामान ल्याइसक्नुपर्ने समयावधि समेत कम राखेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति अपनाएको प्रस्टै देखिएको छ नै।
यसरी हेर्दा टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणबाटै टेन्डर पर्ने पक्का गरेर आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै सामग्री नेपाल भित्राएर स्टक राखेको सहजै अनुमान लगाउन सकिने आधार देखिन्छ।
करिब तीन करोड ४० लाखको यति ठूलो रकमको मेसिनमा टेन्डर हात पार्ने सप्लायर्स कम्पनीले टेन्डर पाएर सम्झौता भएको ४५ दिन भित्रमा मेसिन ल्याइदिनुपर्ने सर्त राखिएको छ। स्पेशिफिकेशन (टेन्डर कागजात)मा ‘वीधिन ४५ डेज् फ्रम दी डेट अफ साइनिङ अफ कन्ट्रयाक’ भन्ने सर्त राखिएको छ।
प्रतिष्ठानले अगाडि बढाएको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन नेपालमा बन्दै बन्दैन। विदेशबाट नै ल्याउनुपर्ने हुन्छ। सामान्यतया टेन्डर पाएर सम्झौता भएपछि यति ठूलो रकमको यो मेसिन विदेशबाट ल्याएर टेन्डर पाएको संस्थामा पुर्याएर ४५ दिनभित्रमा जडान गर्न असम्भव नै देखिन्छ।
अनि टेन्डर पाउने निश्चित नभई यति ठूलो रकमको मेसिन सप्लायर्सले नेपालमा ल्याएर स्टोरमा थन्क्याएर राख्ने कुरा पनि स्वाभाविक हैन। किनकि कुन संस्थाले कहिले कस्तो किसिमको मेसिन माग्छ भन्ने एकिन नै हुँदैन।
यसअघि केही टेन्डर हेर्दा यसरी नै ढिलो खरिद प्रक्रिया सुरु गरेर सेटिङ भए अनुसारको सप्लायर्स कम्पनीको सामग्री स्टकमा राखेर सामग्री किन्ने गरेको विषयमा उकेराले खुलासा गर्दै आएको छ। यसका लागि ‘डेलिभरी डेट’को समयमा खेलेर सामान ल्याइदिनुपर्ने समय छोटो तोकिदिँदा सेटिङ गरेका बाहेक अन्यले सामानै ल्याउन नभ्याउने भएकाले खरिद प्रक्रियाको प्रतिस्पर्धामै सहभागी हुँदैनन्।
त्यसैले यो टेन्डरमा पनि ४५ दिनमा ल्याइदिनुपर्ने प्रावधान राख्नुले समेत सेटिङ अनुसार नै पहिल्यै जसले टेन्डर पाउने हो उसले मेसिन नेपाल ल्याएर स्टकमा राखेपछि बल्ल टेन्डर प्रक्रिया सुरु गरेको आधार देखिन्छ।
यसरी गरियो खरिदमा मिलेमतो
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबीएएचएस) ले २०८२ चैत १० (२०२६, मार्च २४) मा हेटौँडा अस्पतालका लागि ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन खरिद गर्नेगरी टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको छ।
प्रतिष्ठानले यो मेसिन खरिदका लागि २०८२ चैत २७ (२०२६, अप्रिल १०) मा ‘प्रि–बिड’ मिटिङको समय तोकेको थियो। प्रि–बिड मिटिङमा सप्लायर्स कम्पनीहरूले स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। त्यसपछि आवश्यकता अनुसार टेन्डर गर्ने संस्थाले स्पेशिफिकेशन संशोधन गर्न सक्छ।
यो मेसिनको ‘प्रि–बिड’ मिटिङपछि २०८३ वैशाख ३ सम्ममा प्रतिष्ठानले प्राविधिक स्पेशिफिकेशन संशोधन गरेको छैन।
यसरी बदनियतले अगाडि बढाएको प्रतिष्ठान नेतृत्वले २०८३ वैशाख १० (अप्रिल २३)को दिउँसो १२ बजे सम्ममा ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दिउँसो एक बजेलाई टेन्डर खुल्ने मिति तोकेको छ।
प्रतिष्ठानले टेन्डर गरेको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘एमबीएएचएस-एचएच-गुड्स-इन्डोआथ्र्र्रो एनसीबी-१एस२इ-२०८२-०८३–२४’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ,‘द प्रक्रुमेन्ट अफ सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ इन्डोयुरोलोजी वीथ आर्थोस्कोपी सेटअप फर एमबीएएचएस, हेटौँडा अस्पताल।’
प्रतिष्ठानले टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाएको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेकिसन ठूलो घाउ नबनाई स–साना प्वाल बनाएर गरिने शल्यक्रियाका लागि प्रयोग हुन्छ।
यो ४के ल्याप्रोस्कोपिमा आथ्रोस्कोपि सेभर सिस्टम, आर्थोस्कोपी आरएफ सिस्टम, स्पोर्टस् मेडिसिन इन्टेग्रेटेड सिस्टमजस्ता बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यु’को प्राविधिक स्पेशिफिकेशनका बुँदाहरूसँग हुबहु मिलेको देखियो।
उकेराको खोजमा प्रतिष्ठानले टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाएको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यु’सँग मात्रै मिल्नेगरी लक्ड गरेर बनाएको देखिएको छ।
‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिनको प्राविधिक स्पेशिफिकेशनको विशेषगरी बुँदा नम्बर ‘३.४’, ‘३.६’, ‘३.७’, ‘३.९’, ‘३.१३’, ‘३.१४’, ‘३.१८’, ‘१०’, ‘११.२’, ‘११.३’, ‘११.५’, ‘११.८’, ‘१३.१’, ‘१३.३’, ‘१३.६’, ‘१३.८’ जस्ता बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यू’सँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिन्छ।
उदाहरणका रूपमा प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘११.२’ मा स्पिड: फरवार्ड–८००० आरपीएम म्याक्स, रिभर्स–८००० आरपीएम म्याक्स, ओएस्सीः ३००० आरपीएम म्याक्स’ उल्लेख छ। यो मापदण्ड हेर्दा मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यू’को क्याटलगमा भएको बुँदा हुबहु कपिपेष्ट गरेको देखिन्छ।
प्राविधिक स्पेशिफिकेशनको ‘३.१३’ मा ‘११ इन्चको वा सोभन्दा ठूलो डिजिटल डकुमेन्टेशन ट्याब्लेट’ हुनुपर्ने र ‘३.१४’ मा रिपोर्ट सम्पादन र लाइभ स्ट्रिमिङ जस्ता सुविधा हुनुपर्ने प्रावधान राखेर लक्ड गरिएको छ। उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यु’मा लेन्स सिस्टममा मात्र वायरलेस ट्याब्लेटबाटै क्यामेरा सेटिङ कन्ट्रोल गर्ने र रिपोर्ट बनाउने फिचर भएको देखिन्छ। अन्य कम्पनीलाई यो ट्याब्लेटको ‘लाइभ च्याट’ र ‘सिमलेस एप इन्ट्रिगे्रेसन’जस्ता सर्तले यो टेन्डरमा फालिने देखिन्छ।
त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.१८’ र ‘११.७’ मा ‘साभर, आरएफ र पम्पलाई कुनै बाहिरी हार्डवेयर वा सफ्टवेरबीना नै क्यामेरा कन्सोलबाट कन्ट्रोल गर्न सक्नुपर्ने प्रावधान राखिएको छ। इन्ट्रिगेशन मेसिन उत्पादक कम्पनी स्मिथ एन्ड नेफ्युको टावरको मात्रै विशेष विशेषता भएकाले यी बुँदाबाट पनि अन्य उत्पादक फालिने देखिन्छ।
प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.९’, मा क्यामेराको सेटिङ ‘एप’बाट पनि परिवर्तन गर्न सकिने उल्लेख गरिएको छ। यो विशेषता उत्पादक कम्पनी ‘स्मिथ’ एन्ड नेफ्युको सफ्टवेयर इकोस्टिममा मात्र भएको देखिएकाले यो बुँदा पनि उसैसँग लक्ड छ।
यसरी प्राविधिक स्पेशिफिकेशनमा ‘एकीकृत इकोसिस्टम डिजाइन (सेभर, आरएफ र इमेजिङ तथा एकल कन्सोल)’ जस्तो प्रावधान राखिनुले नै ‘मेसिन उत्पादक कम्पनी ‘स्मिथ एन्ड नेफ्यु’सँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी लक्ड गरिएको प्रस्टै हुन्छ।
त्यसैगरी दोहोरो सेभर नियन्त्रण, आरपिएम तथा दुई वट ह्याण्डपिस एकैसाथ नियन्त्रण गर्न सकिने, आरएफ प्रणालीमा एआई जस्ता विशेषता राख्नुले ‘स्मिथ एन्ड नेफ्यु’सँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिन्छ।
प्राविधिक चरणबाटै अन्यलाई फाल्ने रणनीति
‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ खरिदमा प्राविधिक मूल्याङ्कनको चरणबाटै टेन्डर दिन चाहेको मात्रै सप्लायर्स कम्पनीको टेन्डर छनोट गरेर आर्थिक चरणमा समेत उसैलाई छनोट गरेर टेन्डर दिने रणनीति अपनाएको देखिन्छ। त्यसैगरी यो टेन्डरमा अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धालाई निषेध गरेर राष्ट्रिय प्रतिस्पर्धामा खुम्च्याएको छ।
यो खरिदमा दुई खाम विधि (सिंगल–स्टेज: टु इन्भेलोप गुड्स बिडिङ प्रोसड्युर) त अपनाइएको छ। दुई खाम विधिबाट गरिने खरिदमा नियम अनुसार टेन्डरको लागि सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ।
पहिला टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेशिफिकेशन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ। प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।
प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरागरी सामग्री ल्याइदिन्छन्। त्यसपछि टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ। यसरी प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर आह्वान गर्ने संस्थाले टेन्डर दिइन्छ।
तर, दुई खाम विधिमा पनि सेटिङको एउटा जोखिम जहिल्यै हुन्छ। यो विधिमा जसलाई टेन्डर दिनेगरी सेटिङ गरिएको छ, उसलाई मात्रै प्राविधिक चरणमा छनोट गरेर आर्थिक मूल्याङ्कन गरिन्छ। अनि आर्थिक मूल्याङ्कनको चरणमा आफूले चाहेकै सप्लायर्सलाई छनोट गरेर टेन्डर दिने रणनीति भएको प्रशस्तै उदाहरण छन्। प्रतिष्ठानको यो खरिदमा पनि त्यही रणनीति देखिएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन नदिने खेल
यति ठूलो रकमको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ खरिद गर्दा मदन भण्डारी प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) को सट्टा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) गरेको छ। यो खरिदमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर राष्ट्रिय प्रतिस्पर्धामा मात्रै खुम्च्याउनुले समेत चाहेकै कम्पनीलाई दिनेगरी सेटिङ गरेर टेन्डर प्रक्रिया अगाडी बढेको देखिन्छ।
सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ङ’मा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिने विषयका बारेमा उल्लेख छ। नियम ‘३१ङ’ को उपनियम (१) मा भनिएको छ,‘ऐनको दफा ११ को उपदफा (२) बमोजिम एक चरणको खुला बोलपत्र आह्वान गर्दा दुई करोड रुपैयाँभन्दा बढी र पाँच अर्ब रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्था बाहेक राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्नेछ।’
सार्वजनिक खरिद ऐन, २०६३ को दफा–१५ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नेसम्बन्धी व्यवस्था छ। ऐनको दफा–१५ को उपदफा (१) को (क) मा सार्वजनिक निकायको माग अनुरूपको मालसामान वा निमार्ण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल अधिराज्यभित्रका एक भन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने अवस्थामा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नुपर्ने उल्लेख छ।
मदन भण्डारी प्रतिष्ठानले खरिद प्रक्रिया अगाडि बढाएको ‘आर्थोस्कोपी सहितको इन्डोयुरोलोजी सेटअप’ मेसिन नेपालमा उत्पादन हुने कुरै भएन। यो विदेशबाट नै खरिद गरेर ल्याउने हो। अनि यसरी विदेशबाट खरिद गरेर ल्याउने सामग्रीमा अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धा नै नगराई एउटा निश्चित सप्लायर्स कम्पनीको स्वार्थ अनुरूप खरिद प्रक्रिया अगाडि बढाउनुले नै मिलेमतो देखाउँछ नै।
वैशाख ४, २०८३ शुक्रबार २१:१२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।