स्वास्थ्य प्रतिष्ठानका एकपछि अर्को खरिदमा मिलेमतो, कर्णाली प्रतिष्ठानको १७ करोडको टेण्डर पनि सेटिङमै, उपकुलपती नै योजनाकार
काठमाडौंः सुशासनको एजेन्डासहित केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार सक्रिय छ। प्रधानमन्त्री बालेन्द्र शाह प्राय हरेक दिन कुन न कुनै जिम्मेवार अधिकारीहरूसँग सुशासनको छलफलमा सक्रिय देखिन्छन्। तर मुख्य गरी स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताहरू भने आर्थिक वर्षको अन्तिम समय ताकेर खरिद अनियमिततामा केन्द्रित छन्।
उकेराले यस अगाडि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिलेमतोमा अगाडि बढाएको खरिदको खुलासा गरेको थियो। जुम्लास्थित ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ले अगाडि बढाएको १७ करोडको खरिद प्रक्रिया र यसको मापदण्ड हेर्दा मदन भण्डारी प्रतिष्ठानलाई माथ गर्ने तथ्यहरू फेला परे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वले अगाडि बढाएको १७ करोड तीन लाखको टेण्डर प्रक्रिया निश्चित सप्लायर्स कम्पनीको मापदण्ड मात्रै पास हुनेगरी अगाडि बढाएको खुल्यो।
प्रतिष्ठानले २०८२ चैत २० मा एकै दिन करिब १७ करोड तीन लाख ६ हजार दुई सय ८० को अस्पतालसँग सम्बन्धित उपकरण, फार्मेसीसँग सम्बन्धित औषधी र ल्याब रिएजेन्टजस्ता उपकरण तथा स्वास्थ्य सामग्री खरिद गर्नेगरी टेण्डर अगाडि बढाएको थियो।
जसमध्ये प्रतिष्ठानले ९ करोड २० लाखको १८ किसिमका उपकरण (हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स), चार करोड ५१ लाख ५५ हजार पाँच सय २० को औषधि (हस्पिटल फार्मेसी मेडिसिन) र तीन करोड ३१ लाख ५० हजार सात सय ६० को ल्याबको सामग्री (ल्याबोरेटोरी कञ्जुमेबल्स–ओपन सिस्टम) खरिदका लागि टेण्डर गरेको छ।
उकेराको खोजमा अधिकांश मेसिन, उपकरण तथा स्वास्थ्य सामग्री मिलेमतोमा चाहेको निश्चित सप्लायर्स कम्पनीलाई लक्षित गरेर प्राविधिक स्पेशिफिकेशन बनाई मिलेमतोमा टेण्डर प्रक्रिया अगाडि बढाएको देखियो।
यहाँ केही उदाहरण हेरौँ।
प्रतिष्ठानले करिब ९ करोड २० लाखको अस्पतालसँग सम्बन्धित १८ किसिमका उपकरणमध्ये ‘पेशेन्ट वार्मिङ सिस्टम’ मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को उत्पादन मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने गरी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्टै देखियो।
प्राविधिक स्पेशिफिकेशनमा कम्पनीको मोडल नम्बर नै खुलाएर लक्ड गरिएको छ। प्रतिष्ठानले टेण्डर गरेको ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’ पनि मेसिन उत्पादक कम्पनी ‘इकोक्लिन बायोमेडिकल लिक्वीड वेस्ट ट्रिटमेन्ट सिस्टम’को प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिनेगरी प्रक्रिया अगाडि बढाएको देखियो।
खरिद प्रक्रियामा रहेको सिआर्म मेसिन जिइलाई दिनेगरी प्राविधिक स्पेशिफीकेशन लक्ड गरिएको छ। ‘ऐनेस्थेसिया वर्क स्टेसन’ मेसिन उत्पादक कम्पनी ‘ड्रागर’को प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने गरी प्रक्रिया अगाडि बढेको देखियो।
यी त केही उदाहरण मात्रै हुन्। १८ किसिमकै उपकरण उसैगरी लक्ड गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिनेगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेतृत्वले टेण्डर प्रक्रिया अगाडि बढाएको देखिएको छ।
यो खरिद प्रक्रियाको मुख्य सेटिङकर्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पूजन कुमार रोकाया र रजिस्ट्रार लक्ष्मी चन्द्र महत हुन्। खरिद सेटिङमा अस्पताल निर्देशक डा. कमल प्रसाद थानीको पनि भूमिका हुने नै भयो।
खरिदको यो सेटिङमा प्रतिष्ठान (अस्पताल)मा परामर्शदाता (करार)का रूपमा गएर स्पेशिफीकेशन बनाउने बायोमेडिकल इन्जिनियर नेत्र सापकोटाको सक्रिय सहयोगी भूमिका देखियो।
उनी विभिन्न टेण्डर सेटिङमा सक्रिय पात्र हुन्। खरिद प्रमुखको समेत जिम्मेवारीमा रहेका प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्व बहादुर शाही समेतको सक्रियताबिना खरिद सेटिङ सम्भव हुन्न। खरिद एकाइ तथा प्राविधिक कमिटी, लेखा र प्रशासन प्रमुखका समेतको सहमतिबिना यत्रो खरिद मिलेमतो गर्न सम्भव देखिन्न। यसले यो प्रक्रिया संगठित भ्रष्टाचारको योजनासहित अगाडि बढेको देखियो।
यसबारे जिज्ञासा राख्दा कर्णाली प्रतिष्ठानका उपकुलपति डा. रोकायाले खरिदका विषयमा गुनासो आएको स्विकार्दै प्रि-बिड मिटिङपछि संशोधन गर्ने दाबी गरे।
“काठमाडौंमा हामी हुँदा पनि त्यो कुराहरू उठेको छ। लिखित र मौखिक गुनासो आएको छ,” उपकुलपति डा. रोकायाले भने,” प्रि-बिडमा संशोधन गर्छौँ।”
तर, प्रतिष्ठानको टेण्डर भएको उपकरणको स्पेशिफिकेशन बनाउने बायोमेडिकल इन्जिनियर सापकोटाले उपकुलपति डा. रोकायाको भनाइ भन्दा ठिक विपरीत तर्क गरे।
बायोमेडिकल इन्जिनियर सापकोटाले आफ्नो सप्लायर्स कम्पनी पनि रहेको र प्रतिष्ठानमा आफूले कन्सल्टेन्टका रूपमा (१८ किसिमका) उपकरणको प्राविधिक स्पेशिफिकेशन बनाए पनि लक्ड भने नगरेको दाबी गरे।
तपाईँको सप्लायर्स कम्पनी रहेछ स्वार्थको द्वन्द्व हुँदैन? भन्ने उकेराको जिज्ञासामा बायोमेडिकल इन्जिनियर सापकोटाले भने, “हजुर छ।...(प्रतिष्ठानमा)कन्सल्टेन्सी हो। परामर्श सेवा गर्न त पाइयो त। लक्ड गरेको छैन।’
तर, उकेराको अध्ययनमा उनले बनाएको प्रतिष्ठानको टेन्डरको स्पेशिफिकेशन निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी लक्ड गरेको देखियो।
यसरी लक्ड गरियो प्राविधिक स्पेशिफिकेशन
उकेराको खोजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८२ चैत २० (२०२६, अप्रिल ३) मा एकै दिन १७ करोड तीन लाख ६ हजार दुई सय ८० को मेसिन, उपकरण तथा औषधिलगायत स्वास्थ्य सामग्री खरिद गर्नेगरी अगाडि बढाएका तीन टेन्डरमा चाहेकै उत्पादक कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको प्रस्टै देखियो।
जसमध्ये ९ करोड २० लाखमा १८ किसिमका उपकरण (हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स) खरिद गर्ने गरी प्रतिष्ठानले टेण्डर आह्वान गरेको अधिकांश उपकरणको प्राविधिक स्पेशिफिकेशन मिलेमतो अनुसार नै लक्ड गरेको देखिएको छ।
प्रतिष्ठानले टेण्डर आह्वान गरेको १८ किसिमका उपकरण (हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स) मा ‘पेशेन्ट वार्मिङ सिस्टम’ पाँच सेट, ‘पेशेन्ट मनिटर (७ प्यारामिटर) पाँच सेट, ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’ १ सेट, ‘हाइ इण्ड इसिजी मेसिन’ पाँच सेट, ‘ऐनेस्थेसिया वर्क स्टेसन’ एक सेट, ‘अर्थो ड्रिल मेसिन’ एक सेट, ‘हाइ स्पिड इलेक्ट्रिकल ड्रिल फर न्युरो सर्जरी सर्जरी’ एक सेट, ‘सी–आर्म मेसिन’ एक सेट, ‘पोर्टेबल ए–स्क्यान’ एक सेट, ‘ओसीटी वीथ फण्डुस क्यामेरा’ एक सेट, ‘अप्टिकल माइक्रोस्कोप पोर्टेबल’ एक सेट छन्।
त्यसैगरी ‘पोर्टेबल केराटोमिटर’ एक सेट, ‘एक्स-रे डिआर सिस्टम’ एक सेट, ‘टिस्यु प्रोसेसर’ एक सेट, ‘ब्लड कल्चर सिस्टम’ एक सेट, ‘फ्ल्याट प्यानल’ एक सेट, ‘यूएसजी मेसिन’ एक सेट, ‘बोन डिएक्सए डेन्सिनोमिटर’ एक सेट गरी १८ किसिमका यस्ता उपकरण खरिदका लागि प्रतिष्ठानले टेण्डर गरी खरिद प्रक्रिया अगाडि बढाएको छ।
९ करोड २० लाखमा खरिद गर्ने गरी प्रतिष्ठानले टेण्डर प्रक्रिया अगाडि बढाएको अस्पतालसँग सम्बन्धित उपकरण (हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स) यी १८ वटै किसिमका उपकरण निश्चित मेसिन उत्पादक कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको देखिन्छ।
१८ उपकरणमध्ये केही उदाहरण हेरौँ।
पाँच सेट ‘पेशेन्ट वार्मिङ सिस्टम’ खरिदका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको टेण्डर कागजातमा भएका प्रावधान हेर्दा मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने गरी खरिद प्रक्रिया अगाडि बढाएको देखिएको हो।
उकेराको खोजमा प्रतिष्ठानले ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को मोडल नम्बर ‘केपीडब्लु ३०००’सँग मात्रै मिल्नेगरी ‘पेशेन्ट वार्मिङ सिस्टम’को प्राविधिक स्पेशिफिकेशन बनाएको देखिएको छ।
प्रतिष्ठानले टेण्डर गरेको ‘पेशेन्ट वार्मिङ सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२’, ‘४.३’, ‘४.६’, र ‘५’ भएका मापदण्ड त मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को मोडल नम्बर ‘केपीडब्लु ३०००’ को क्याटलगमा भएका बुँदाहरू हुबहु कपिपेष्ट मात्रै गरिएको छैन। उत्पादक कम्पनीको मोडल नम्बर समेत कपिपेष्ट गरेर प्राविधिक स्पेशिफिकेशन बनाइएको छ।
‘पेशेन्ट वार्मिङ सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२’ मा ‘इट सुड ह्याभ टु इन्डिपेन्डिेन्ट हिटिङ च्यानेल्स वीथ अटोमेटिक आइडेन्टिफाइङ्ग एन्ड टेम्प्रेचर प्रोसेसिङ’ उल्लेख छ।
बुँदा नम्बर ‘४.३’ मा ‘इट सुड प्रोभाइड इफेक्टिभ एन्ड युनिफर्म हिटिङ वीथ एकुरेट टेम्प्रेचर कन्ट्रोल प्लसमाइनस १ डिग्री सेलसियस’ उल्लेख छ। यी दुवै बुँदा ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को मोडल नम्बर ‘केपीडब्लु ३०००’ को मोडलसँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिएको छ।
त्यसैगरी ‘पेशेन्ट वार्मिङ सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.६’ मा ‘इट सुड इन्क्लुड मल्टिपल साइज अफ म्याटेसेस-ब्ल्याङ्केटः फल एक्सेस अन्डर–बडी वार्मिङ म्याट्रेस (१९०००×६००× ३०एमएम), फुल बढी वार्मिङ ब्लाङ्केट (१६६०×८५०×१५एमएम), अप्पर बढी वार्मिङ ब्ल्याङ्केट (१८००×४००×१५एमएम), लोवर बढी वार्मिङ ब्लाङ्केट (१०००×७००×१५एमएम)’ उल्लेख छ। यो बुँदा पनि ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को मोडल नम्बर ‘केपीडब्लु ३०००’ को मोडलसँग मात्रै मिल्नेगरी बनाएको देखिन्छ।
प्रतिष्ठानले टेण्डर गरेको ‘पेशेन्ट वार्मिङ सिस्टम’को बुँदा नम्बर ‘५’ मा ‘एसोसिसिज्, स्पेयर्स र कन्जुमेबल्स’ अन्तर्गत बुँदा नम्बर ‘५.१’ मा राखिएको प्राविधिक स्पेशिफिकेशनको मापदण्ड त झन् मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को क्याटलगमा भएका मोडल नम्बर नै हुबहु कपिपेष्ट गरेको देखिन्छ।
‘पेशेन्ट वार्मिङ सिस्टम’को बुँदा नम्बर ‘५.१’ मा स्याल कम वीथः ‘१ × फुल एक्सेस अन्डर–बढी वार्मिङ म्याटे«स (केपीडब्लु३१०)’, ‘१ × फुल बढी वार्मिङ ब्लाङ्केट (केपीडब्लु३२०)’, ‘१ × अप्पर बढी वार्मिङ ब्ल्याङ्केट (केपीडब्लु३३०)’ र ‘१ × लोवर बढी वार्मिङ ब्ल्याङ्केट (केपीडब्लु३४०)’...’ उल्लेख छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘५.१’ मा भएको यी प्राविधिक मापदण्ड त मोडल नम्बर सहित नै मेसिन उत्पादक कम्पनी ‘कीवेल मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेड’को कपिपेष्ट गरेको देखियो।
कम्पनीको मोडल नम्बर नै खुलाएर प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिने बदनियत राख्नु नीतिगत भ्रष्टाचार नै हुने देखिन्छ।
प्रतिष्ठानले टेण्डर गरेको ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’ पनि मेसिन उत्पादक भारतीय कम्पनी ‘इकोक्लिन बायोमेडिकल लिक्वीड वेस्ट ट्रिटमेन्ट सिस्टम’को प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने रणनीति देखिएको छ।
उकेराको खोजमा ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’को प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी ‘इकोक्लिन बायोमेडिकल लिक्वीड वेस्ट ट्रिटमेन्ट सिस्टम’को मोडल नम्बर ‘इकोक्लिन बीएमएल–४८’सँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिन्छ।
प्रतिष्ठानले टेण्डर गरेको ‘लिक्वीट वेस्ट म्यानेजमेन्ट सिस्टम’को प्राविधिक स्पेशिफिकेशनका बुँदा नम्बर ‘४.२’, ‘४.३’, ‘४.४’, ‘४.५’, ‘४.६, ’, ‘४.७’, ‘४.९’, ‘४.१०’, ‘४.११’, ‘४.१२’, ‘४.१३’, ‘४.१४’, ‘४.१६’, ‘४.१७’ लगायतका बुँदाहरू मेसिन ‘इकोक्लिन बायोमेडिकल लिक्वीड वेस्ट ट्रिटमेन्ट सिस्टम’को मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिएको छ।
प्रतिष्ठानले टेण्डर गरेको ‘ऐनेस्थेसिया वर्क स्टेसन’ पनि मेसिन उत्पादक कम्पनी कम्पनी ‘ड्रागर’को मोडल नम्बर ‘ड्रागर पेरसेयूस–ए५००’को प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने रणनीति देखिएको छ।
‘ऐनेस्थेसिया वर्क स्टेसन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.४’, ‘४.५’, ‘४.६’, ‘४.१३’, ‘४.१८’, ‘४.२४’, ‘४.३०’, ‘४.५५’, ‘५.३’ जस्ता बुँदाहरू मेसिन उत्पादक कम्पनी कम्पनी ‘ड्रागर’को मोडल नम्बर ‘ड्रागर पेरसेयूस–ए५००’को प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने रणनीति देखिएको हो।
टेण्डर कागजातमा ‘२३ लाख वा एकल उपकरणमा मात्र बिड रकमको ३ प्रतिशतले हुन आउने रकम’ बैंक जमानत रकम राख्नुपर्ने सर्त राखिएको छ। यो टेन्डरमा भएको अर्को बदनियत यही नै हो। यो सर्त हेर्दा प्रतिष्ठान नेतृत्वले जसलाई टेण्डर दिन चाहेको हो उही सप्लायर्स कम्पनीलाई मात्रै खुसुक्क लागत अनुमान भनिदिने अनि त्यही लागत अनुमानको सिलिङ भित्र रहेर आर्थिक मूल्याङ्कनको चरणमा समेत उसले टेण्डर हात पार्ने रणनीति देखिन्छ।
यसरी अगाडि बढाइयो खरिद प्रक्रिया
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८२ चैत २० (२०२६, अप्रिल ३) मा एकै दिन १७ करोड तीन लाख ६ हजार दुई सय ८० को मेसिन, उपकरण तथा औषधिलगायत स्वास्थ्य सामग्री खरिद गर्नेगरी टेण्डर आह्वान गरेको हो।
जसमध्ये ९ करोड २० लाखको प्रतिष्ठानले उपकरण (हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स), चार करोड ५१ लाख ५५ हजार पाँच सय २० को औषधि (हस्पिटल फार्मेसी मेडिसिन) र तीन करोड ३१ लाख ५० हजार सात सय ६० को ल्याबसँग सम्बन्धित सामग्री (ल्याबोरेटोरी कञ्जुमेबल्स (ओपन सिस्टम)) खरिदका लागि टेण्डर गरेको हो।
प्रतिष्ठानले यी तीन वटै टेन्डरको खरिदका लागि २०८३ वैशाख १० (२०२६, अप्रिल २३) मा ‘प्रि-बिड’ मिटिङको समय तोकेको छ। प्रतिष्ठानले अस्पतालसँग सम्बन्धित उपकरणको वैशाख १० गते दिउँसो दुई बजे, औषधिको ३ बजे र ल्याबसँग सम्बन्धित सामग्रीको ४ बजेलाई प्रि-बिड मिटिङको समय तोकेको हो।
प्रि–बिड मिटिङमा सप्लायर्स कम्पनीहरूले स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। त्यसपछि आवश्यकता अनुसार टेन्डर गर्ने संस्थाले स्पेशिफिकेशन संशोधन गर्न सक्छ। प्रि–बिड मिटिङपछि कर्णाली प्रतिष्ठानले यी टेन्डरका प्राविधिक लगायतका स्पेशिफिकेशन संशोधन गर्छ वा गर्दैन? गरे कसरी संशोधन गर्छ? त्यो हेर्नै बाँकी छ।
तर, उकेराको खोजमा प्रतिष्ठानले टेण्डर गरेको यी उपकरणको प्राविधिक लयागतका स्पेशिफिकेशन निश्चित उत्पादक कम्पनीको प्राविधिक स्पेशिफीकेशन मात्रै मिल्नेगरी मापदण्ड बनाएर टेण्डर आह्वान गर्दै चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिने प्रस्ट रणनीति लिएको देखिएको छ।
यसरी बदनियतले अगाडि बढाएको प्रतिष्ठान नेतृत्वले यी तीन वटै टेन्डरको २०८३ वैशाख २० (मे ३)को दिउँसो १२ बजे सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दिउँसोलाई टेन्डर खुल्ने मिति तोकेको छ।
प्रतिष्ठानले करिब ९ करोड २० लाखमा खरिद गर्ने गरी टेण्डर गरेको सो उपकरणको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केएएचएस-एनसीबी-एचइ-०१-०८२-०८३’ हो। यो खरिदको टेण्डर कागजातमा लेखिएको छ,‘दी प्रक्रुमेन्ट अफ हस्पिटल रिलेटेड इक्वीप्मेन्ट्स।’
प्रतिष्ठानले करिब चार करोड ५१ लाख ५५ हजार पाँच सय २० को औषधि (हस्पिटल फार्मेसी मेडिसिन्स्)को टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केएएचएस-एनसीबी-एचपी-०२-०८२-०८३’ हो। यो खरिदको टेण्डर कागजातमा लेखिएको छ,‘दी प्रक्रुमेन्ट अफ हस्पिटल फार्मेसी मेडिसिन।’
तीन करोड ३१ लाख ५० हजार सात सय ६० को ल्याबसँग सम्बन्धित सामग्री (ल्याबोरेटोरी कञ्जुमेबल्स्) को टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केएएचएस-एनसीबी-ल्याब-ओपन-०१-०८२-०८३’ हो। यो खरिदको टेण्डर कागजातमा लेखिएको छ,‘(दी) प्रक्रुमेन्ट अफ ल्याबोरेटोरी कन्जुमेबल्स् (ओपन सिस्टम)।’
औषधि र ल्याबको दुई टेण्डर कागजातमा त टेन्डरको आर्थिक वर्ष ‘२०८२-०८३’ हुनुपर्नेमा कतै कतै ‘२०८१-०८२’ राखेर त्रृटी समेत गरिएको छ। ठेक्का नम्बरमा पनि त्रृटी देखिन्छ।
नियमको छिद्रा समातेर १७ करोडको खरिदमा सेटिङ
कर्णालीले स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालसँग सम्बन्धित उपकरण, ल्याब सामग्री र फार्मेसी गरी करिब १७ करोड तीन लाख ६ हजार दुई सय ८० को तीन वटै टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिंगल स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाएको छ।
सार्वजनिक खरिद नियमावली अनुसार ‘सिंगल स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘एक खाम विधि’बाट गरिने खरिदको विधि हो।
प्रतिष्ठानले यी तीन खरिदमा ‘सिंगल स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाउनुपर्ने थियो। ‘सिंगल स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘दुई खाम विधि’ हो।
सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ज’ मा दुई खाम विधिबाट गरिने खरिदको कार्यविधिका बारेमा उल्लेख छ। नियम ‘३१ज’ को उपनियम (१) मा भनिएको छ,‘बोलपत्रदाताको योग्यताको आवश्यक पर्ने किसिमको मालसामान खरिद वा दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य गर्नुपर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग अलग खाममा राखी पेस गर्नुपर्ने छ।’
तर, यो नियमलाई लत्याउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिदमा एक खाम विधि अपनाएको छ। यो तथ्यले समेत निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर चाहेकै कम्पनीलाई ठेक्का दिन थप सहज बनाइएको प्रस्टै देखिन्छ।
नियम अनुसार प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर आह्वान गर्ने संस्थाले टेन्डर दिन्छ। टेन्डर स्वीकृतपछि निश्चित प्रक्रिया पूरा गरेर टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ।
तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने प्राविधिक र आर्थिक दुवै एकैचोटी मूल्याङ्कन गरेर चाहेकै उत्पादक कम्पनीको सामग्री छनोट गरेर सेटिङ अनुसारकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति प्रस्टै देखिन्छ।
दुई खाम विधिबाट गरिने खरिदमा नियम अनुसार टेन्डरको लागि सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ।
पहिला टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेशिफिकेशन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ। प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।
दुई खाम विधिमा प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरागरी सामग्री ल्याइदिन्छन्।
तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको यी टेन्डरको सवालमा भने टेन्डर प्रस्ताव गर्ने कम्पनीले एउटै टेन्डर कागजातमा प्राविधिक र आर्थिक प्रस्ताव गर्नुपर्ने गरी एक खाम विधिको प्रावधान राखियो।
टेण्डर कागजातमा राखिएको यो मापदण्ड अनुसार प्रतिष्ठानले गरेको १७ करोड तीन लाख ६ हजार दुई सय ८० को अस्पतालसँग सम्बन्धित उपकरण, औषधि र ल्याबसँग सम्बन्धित सामग्रीको टेन्डरमा भने सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नै पाउँदैनन्।
यसरी हेर्दा प्रतिष्ठानको यी टेन्डरमा प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खुल्ने भएको छ। प्रतिष्ठानले गरेको १७ करोड तीन लाख ६ हजार दुई सय ८० को टेण्डर मध्ये ९ करोड २० लाखको अस्पतालसँग सम्बन्धित उपकरण, चार करोड ५१ लाख ५५ हजार पाँच सय २० को औषधि र तीन करोड ३१ लाख ५० हजार सात सय ६० को ल्याबसँग सम्बन्धित सामग्रीको टेण्डर हो।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)का अनुसार यसरी दुई करोडभन्दा माथिको रकमको टेन्डरमा ‘सिङ्गल-स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर (एक खाम विधि)’ गर्नै पाइँदैन। दुई करोड भन्दा बढी रकमको टेन्डरमा ‘सिंगल स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर (दुई खाम)’ विधि अपनाउनुपर्ने हुन्छ। तर, नियम नै पेलपाल बनाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक खाम विधि अपनाएर कमिसनको खेलमा खरिद सेटिङलाई थप बलियो बनाएको देखिएको छ।
‘दुई करोड भन्दा मुनिको ‘सिङ्गल-स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ गर्न पाइन्छ,’पीपीएमओका एक कर्मचारीले भने,
‘दुई करोड भन्दा माथिको (सिंगल–स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर गर्न) मिल्दैन,’पीपीएमओका एक कर्मचारीले भने,‘टेक्निकली हेरेरै गर्नुपर्ने छ भने ‘सिंगल स्टेज: टु इन्भेलोप बिडिङ प्रोसेड्युर’मा नै जानुपर्छ।’
कर्णाली प्रतिष्ठानले गरेको यी तीन टेन्डरको सामग्रीको प्राविधिक र आर्थिक दुवै मुल्यांकन गर्नुपर्ने भएकाले एक खाम (सिंगल–स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर) विधि अपनाउनै नमिल्ने भए पनि प्रतिष्ठानले नियमलाई समेत लत्याउँदै टेण्डर गरेको देखिन्छ।
यसरी हेर्दा प्रतिष्ठान नेतृत्वले मिलेमतोमा प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खोलेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको प्रस्टै देखिन्छ।
प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक गर्ने अनि एकै पटक प्राविधिक र आर्थिक प्रस्ताव खोलेर बढी रकममा स्वास्थ्य उपकरण, औषधि र ल्याबसँग सम्बन्धित सामग्री ल्याइदिने कबुल गर्ने कम्पनीलाई समेत प्राविधिक रूपमा छनोट गर्ने रणनीति देखिन्छ।
त्यति मात्रै हैन एक खाम विधि अपनाउँदा जुन सप्लायर्स कम्पनीलाई टेन्डर दिन चाहेको हो त्यस्तो सप्लायर्सले पेस गरेको प्राविधिक स्पेशिफिकेशनमा केही कमजोरी रहेछन् भने पनि त्यस्तो कम्पनीको प्राविधिक स्पेशिफिकेशन तानतुन गरेर मूल्याङ्कन गरी छनोट गर्न सक्ने जोखिम समेत उत्तिकै देखिन्छ।
अन्तर्राष्ट्रिय बोलपत्रलाई निषेध
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यति ठुलो रकमको टेन्डर आव्हान गर्दा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) को सट्टा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) नै गर्यो। यसबाट समेत अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर कमिसनको खेलमा खरिदलाई राष्ट्रिय प्रतिस्पर्धामा खुम्च्याएको देखिन्छ।
यसरी हेर्दा खरिदमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर राष्ट्रिय प्रतिस्पर्धामा मात्रै खुम्च्याउनुले समेत चाहेकै कम्पनीलाई दिनेगरी सेटिङ गरेर यी तीन टेन्डर प्रक्रिया अगाडी बढेको देखिन्छ।
सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ङ’मा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिने विषयका बारेमा उल्लेख छ। नियम ‘३१ङ’ को उपनियम (१) मा भनिएको छ,‘ऐनको दफा ११ को उपदफा (२) बमोजिम एक चरणको खुला बोलपत्र आह्वान गर्दा दुई करोड रुपैयाँभन्दा बढी र पाँच अर्ब रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्था बाहेक राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्नेछ।’
सार्वजनिक खरिद ऐन, २०६३ को दफा–१५ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नेसम्बन्धी व्यवस्था छ। ऐनको दफा–१५ को उपदफा (१) को (क) मा सार्वजनिक निकायको माग अनुरूपको मालसामान वा निमार्ण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल अधिराज्यभित्रका एक भन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने अवस्थामा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नुपर्ने उल्लेख छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद प्रक्रिया अगाडि बढाएको यी उपकरण नेपालमा उत्पादन हुने कुरै भएन। विदेशबाट नै खरिद गरेर ल्याउने हो। अनि यसरी विदेशबाट खरिद गरेर ल्याउने सामग्रीमा अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धा नै नगराई निश्चित सप्लायर्स कम्पनीको स्वार्थ अनुरूप खरिद प्रक्रिया अगाडि बढाउनुले नै मिलेमतो देखाउँछ नै।
वैशाख ९, २०८३ बुधबार ००:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।