सहकर्मीलाई विद्यालयमै बलात्कार प्रयास गरेको अभियोगमा को-अर्डिनेटरविरुद्ध मुद्दा दर्ता
काठमाडौं : काठमाडौंको एक विद्यालयमा कार्यरत एक कर्मचारीले सोही विद्यालयकी २२ वर्षीया महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले ४९ वर्षीय अभियुक्त सजन मान श्रेष्ठविरुद्ध बलात्कार प्रयासको कसूरमा सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो।
अभियोग पत्रका अनुसार, पीडित महिला सोही विद्यालयमा रिसेप्सन र डिजिटल मार्केटिङको काम गर्दै आएकी थिइन्।
अभियुक्त श्रेष्ठले विगतदेखि नै विभिन्न बहानामा पीडितको नजिक आउने र संवेदनशील अङ्गमा सुम्सुम्याउने जस्ता अस्वभाविक व्यवहार गर्दै आएका थिए।
गत चैत २३ गते बिहान करिब ७:१५ बजे विद्यालयकै ‘काउन्सिलिङ क्लास’ भित्र पीडित एक्लै बसिरहेको मौका छोपी श्रेष्ठले ‘तिमी कस्तो दुब्लाएको’ भन्दै कम्मरमा समात्ने र कपडा भित्र हात हाली संवेदनशील अङ्गमा छुने र चलाउने गरी जबरजस्ती करणीको प्रयास गरेको दाबी गरिएको छ।
पीडितले श्रेष्ठको प्रतिकार गरी त्यहाँबाट उम्किएर भाग्न सफल भएको जाहेरीमा उल्लेख छ।
घटनापछि पीडितको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट र ‘ब्रिफ हिस्ट्री’ले पीडितले उल्लेख गरेको घटनाको पुष्टि गरेको अभियोग पत्रमा जनाइएको छ।
प्रहरीले घटनास्थल मुचुल्का, साक्षीहरूको बयान र पीडितको किटानी जाहेरीलाई मुख्य प्रमाणका रूपमा पेस गरेको छ।
अभियुक्त श्रेष्ठले भने प्रहरीसँगको बयानमा आफूले पीडितलाई नराम्रो नियतले नभई तौल घटेको विषयमा कुरा गर्दा कम्मरमा मात्र छोएको भन्दै आरोपको इन्कारी बयान दिएका छन्। तर, अन्य परिस्थिति र प्रमाणले उनी दोषी देखिएको सरकारी वकीलको निष्कर्ष छ।
अभियुक्त श्रेष्ठविरुद्ध बलात्कार प्रयासमा मुद्दामा सजाय गर्न माग गरिएको छ भने पीडितलाई परेको मानसिक र शारीरिक चोटको क्षतिपूर्ति स्वरुप अभियुक्तबाट उचित रकम भराउन पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत जम्मा गराउन मागदाबी गरिएको छ।
वैशाख ११, २०८३ शुक्रबार ११:५३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।