उकेराको खुलासासँगै भरतपुर अस्पतालको एक करोड ८८ लाखको टेन्डर मिलेमतो छानबिन गर्न समिति गठन

उकेराको खुलासासँगै भरतपुर अस्पतालको एक करोड ८८ लाखको टेन्डर मिलेमतो छानबिन गर्न समिति गठन

काठमाडौं : भरतपुर अस्पतालले अगाडि बढाएको एक करोड ८८ लाखको दुई वटा मेसिन खरिद प्रक्रियामा मिलेमतो रहेको उकेराको खुलासासँगै अस्पतालले छानबिन गर्न समिति गठन गरेको छ। उकेराले वैशाख १ मा सो टेन्डरको प्राविधिक स्पेशिफिकेशनमा खेलेर कसरी निश्चित कम्पनीको मेसिन किन्ने तयारी भएको छ भन्नेबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

अस्पतालले एक करोड ८८ लाखमा ‘ल्याप्रोस्कोपी (४के) स्टिम’  र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी)’ मेसिन खरिद गर्ने गरी अघि बढेको टेन्डरमा प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर निश्चित उत्पादक कम्पनीको मात्र प्रस्ताव पास हुनसक्नेगरि मिलेमतो भएको थियो।

अस्पतालका निमित्त निर्देशक डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य उपकरणका व्यापारी अमर श्रेष्ठ र सप्लायर्स कम्पनी खैलुङ कालिका सप्लार्यससँग मिलेमतो गरेर सो टेन्डर प्रक्रिया अगाडि बढाएका थिए। स्वास्थ्य मन्त्रालयले अस्पतालको निर्देशकमा डा विश्वबन्धु बगालेलाई निर्देशकमा पदस्थापन गरेको थियो।

पौडेल जिम्मेवारीहीन हुन अगाडि उनले खरिदको केही प्राविधिक मापदण्ड संशोधन गरे पनि लक्ड गरिएका मुख्य बुँदा भने हटाएका थिएनन्। यसबारे उकेराले विस्तृतमा प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

अस्पतालका निर्देशक डा बगालेले अस्पताल प्रशासनले अगाडि बढाएको खरिदबारे प्रश्न उठेपछि अध्ययनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गर्दै प्रस्ताव गर्ने मिति एक हप्ता पर सारेको बताए।

 “यो खरिदको विषयमा प्रश्न उठेको र स्वास्थ्य मन्त्रालयबाट पनि चासो भयो’,अस्पताल प्रमुख डा. बगालेले उकेरासँग भने,”टेन्डर गरिसक्नुपर्ने अन्तिम समय ३ गतेसम्म मात्रै थियो। त्यसैले पाँच सदस्यीय छानबिन समिति गठन गरेर टेन्डर गरिसक्नुपर्ने समय एक हप्ता थप गर्दै  छानबिन प्रक्रिया अगाडि बढाएका छौँ।”

उकेराको अध्ययनमा भरतपुर अस्पतालले अगाडि बढाएको एक करोड ४० लाखको ‘ल्याप्रोस्कोपी टावर (४के) सिस्टिम’ र ४८ लाखमा ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’ खरिदको टेन्डरमा मिलेमतो भएको प्रमाण फेला पारेको थियो।

यी टेन्डरको मुख्य सेटिङकर्ता भरतपुर अस्पतालका निवर्तमान निमित्त अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा. कृष्णप्रसाद पौडेल हुन्। २०८२ चैत २६ यता भने डा. पौडेलको ठाउँमा अस्पताल प्रमुख (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) का भूमिकामा डा. विश्वबन्धु बगाले हाजिर भएका छन्। 

२०८३ वैशाख ३ बिहीबार (अप्रिल १६)को दिउँसो १२ बजे सम्ममा ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’ र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’ टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको थियो भने सोही दिन दिउँसो एक बजेलाई टेन्डर खुल्ने मिति तोकेको थियो। ।

तर, डा. बगालेले  सो खरिदको विषयमा छानबिन समिति गठन गर्दै टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति एक हप्ता थपेर  वैशाख १० गतेसम्मलाई पुर्याएका छन्।

‘ल्याप्रोस्कोपी (४के) स्टिम’  र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी)’को संशोधित बोलपत्रको सूचनामा ‘बोलपत्र पेस गर्ने अन्तिम मिति र खुल्ने समय २०८३ वैशाख ३ रहेकोमा विशेष कारणवश बोलपत्र पेस गर्ने मिति र खुल्ने परिवर्तन गरी वैशाख १० कायम गरिएको’ उल्लेख छ। 

भरतपुर अस्पतालले टेन्डर गरेको ‘ल्याप्रोस्कोपि टावर (४के) सिस्टिम’ टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएच–एनसीबी–गुड्स–३८–२०८२–०८३’ भने ‘ओर्थोप्यान्टामोग्राम मेसिन वीथ सेफालोग्राम (ओपीजी वीथ सेप) टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएच–एनसीबी–गुड्स–३९–२०८२–०८३’ हो।

यो समयसिमा अनुसार वैशाख ५ गते शुक्रवार छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ।

डा. पौडेलले यसरी अगाडि बढाएका थिए खरिद 

‘ल्याप्रोस्कोपी (४के) स्टिम’  र ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी)’को टेन्डरका सबै कागजपत्रहरूको अध्ययन गर्दा यी दुवै मेसिनको प्राविधिक र आर्थिक दुवै पाटो चाहेकै निश्चित मेसिन उत्पादक कम्पनीको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी प्रक्रिया अगाडि बढेको थियो।

‘ल्याप्रोस्कोपी (४के) स्टिम’ उपकरण किन्न गरेको टेन्डरको प्रावधान तथा  स्पेशिफिकेशनका मापदण्डहरू जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’लाई लक्षित गरेर बनाएको खुलेको थियो। यसले खरिद प्रक्रिया नै कार्ल स्टोर्जको नेपाली सप्लायर्सलाई दिनेगरी अगाडि बढाइएको देखिएको थियो। 

‘कार्ल स्टोर्ज’ कम्पनीको नेपाली एजेन्टका मालिक मेडिकल व्यवसायी अमर श्रेष्ठ हुन्। उनी यस अगाडि नै भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका बदनाम सप्लायर्स हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले किनेको सिटी स्क्यान मेसिनमा मिलेमतो गरेको भन्दै अख्तियारले प्रतिष्ठानको तत्कालीन उपकुलपति संगीता राज भण्डारी र श्रेष्ठसहित १९ जना विरुद्ध माघ १५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सामान्यतः श्रेष्ठले ‘हिमालयन मेडिकल टेक्नोलोजी प्रालि (एचएमटी)’बाट टेन्डर प्रस्ताव गर्ने गरेको देखिन्छ। स्थानीय फर्म जुन प्रयोग गरे पनि सरकारी अस्पतालमा ‘कार्ल स्टोर्ज’को ल्याप्रोसकोपीको टेन्डर श्रेष्ठकै सेटिङ अनुसार उनैले पाएका उदाहरणको रूपमा भरतपुर अस्पताल र निजामती कर्मचारी अस्पताललाई नै लिन सकिन्छ।

यही मिलेमतो अनुसार भरतपुर अस्पताल नेतृत्व (डा. पौडेल)ले टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाएको ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को स्पेशिफिकेशन पनि उसैगरी सेटिङ अनुसार नै लक्ड गरेको देखिएको थियो। 

उकेराको खोजमा  अस्पताल नेतृत्वले मेसिन उत्पादक कम्पनी ‘भ्याटेक’लाई लक्षित गरेर प्राविधिक स्पेशिफिकेन बनाइ उसैको नेपाली सप्लायर्सलाई ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को टेन्डर दिने रणनीति लिएको देखिएको थियो। 

‘भ्याटेक’को नेपाली सप्लायर्स कम्पनी ‘खैलुङ कालिका’ले नै यो टेन्डर प्रस्ताव गर्न सक्ने देखिन्छ। तर, फर्म जुन प्रयोग गरे पनि ‘सेफालोग्राम सहितको ओर्थोप्यान्टामोग्राम (ओपिजी) मेसिन’को यो टेन्डर ‘भ्याटेक’कै नेपाली सप्लायर्सलाई दिनेगरी खरिद प्रक्रिया अगाडि बढेको देखिएको थियो। 

यी दुवै  मेसिनको खरिद प्रक्रियाको मुख्य सेटिङकर्ता निवर्तमान निमित्त अस्पताल प्रमुख डा. पौडेल र अस्पतालका करार बायोमेडिकल इन्जिनियर तुलसी खनाल देखिएका छन्। यी दुवै भरतपुर अस्पतालको खरिदमा मिलेमतोका लागि बदनाम पात्र हुन्। खरिद एकाइ तथा  प्राविधिक कमिटी, अस्पतालको लेखा  र प्रशासन प्रमुखको समेतको सहमतिबिना खरिद सेटिङ सम्भव हुँदैन।

डा. पौडेलले भरतपुर अस्पतालमा लामो समयदेखि  खरिद सेटिङमा एकछत्र राज गर्दै आएका बदनाम पात्र हुन्। प्रायः जो स्वास्थ्यमन्त्री आए पनि उनी अस्पताल प्रमुखमा टिकिरहेका थिए। उनी दसौँ तहका हुन्। सरकार बदलिएसँगै चैत १८ मा स्वास्थ्य मन्त्रालयले डा. विश्वबन्धु बगालेलाई भरतपुर अस्पतालमा पदस्थापन गरे पनि डा. पौडेलले नछोडेपछि पदस्थापन भएको आठौँ दिन चैत २६ मा मात्रै बल्ल डा. बगालेले अस्पताल प्रमुखका (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट)का रूपमा जिम्मेवारी सम्हालेका थिए। 

डा. बगालेले अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेपछि डा. पौडेल अस्पतालको निमित्त निर्देशकबाट स्वतः हटे। तर, उनले आफू हट्ने अन्तिम समयमा समेत खरिद सेटिङलाई प्राथमिकता दिँदै आफू अनुकूलकै सप्लायर्स कम्पनीलाई टेन्डर पारिदिनेगरी यी दुई खरिदको चैत २४ मा प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन गरेका थिए। 

डा. पौडेलले मेसिनको प्राविधिक स्पेशिफिकेशन संशोधन गरेर चैत २४ मा सूचना प्रकाशित गर्न लगाए। चैत २५ गते अस्पतालको वार्षिक उत्सव कार्यक्रम मनाउँदा उनै पौडेल प्रमुखको भूमिकामा बसे। डा. बगाले २६ गते अस्पतालको प्रमुखको रूपमा हाजिर भएपछि डा. पौडेल अस्पताल प्रमुखबाट हटे। त्यसपछि डा. बगालेले यी दुई खरिदका विषयमा ‘एक्सन’ लिएका हुन्।

ट्रमाको खरिदमा पनि मन्त्रालयको चासो 

विभिन्न देशमा उत्पादित मेसिनको नेपाली सप्लायर्स रहेका श्रेष्ठ मिलेमतोबाट टेन्डर पार्न सक्रिय रहेको विभिन्न खरिद प्रकरणले देखाउँछ। उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा सात करोड ३१ लाख अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका प्रतिवादी समेत हुन्। 

राप्तीमा भएको खरिद विरुद्ध  .डा. संगीता सिंह भण्डारी र हिमालयन मेडिटेक प्रालिका मालिक श्रेष्ठ सहित २० जना विरुद्ध विशेष अदालतमा दायर भएको मुद्दा टुंगिएको छैन। एक वर्ष अघि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा पनि प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’कै नेपाली सप्लायर्स (एचएमटी)ले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को  टेन्डर पाउने करिब निश्चित भएको थियो। तर, सो विषयमा उकेराले सप्रमाण खुलासा गरेपछि २०८२ जेठमा विभागले अघि बढाएको सो टेन्डर रद्ध भएको थियो।

अहिले नेशनल ट्रमा सेन्टरले अगाडि बढाएको सिटीको टेन्डर समेत उनै श्रेष्ठलाई सहज हुनेगरी अगाडि बढाइएको देखियो। त्यसमा ट्रमाका निर्देशक रुद्र मरासिनी र बायोमेडिकल इन्जिनियर सुरेश महर्जन प्रत्यक्ष संलग्न देखिन्छन्। 

मन्त्रालयका एक अधिकारीले ट्रमाले अगाडि बढाएको खरिद प्रक्रियाबारे चासो रहेको र यसबारे बुझ्ने काम भइरहेको बताए।

"त्यहाँको खरिद प्रक्रिया निश्चित सप्लायर्सको स्वार्थमा अगाडि बढेको भन्ने आएको छ। अहिले त्यसबारे मन्त्रालयतहबाट बुझ्ने काम भइरहेको छ। मिलेमतो देखिएर छानबिन र कार्वाही प्रक्रियामा जान्छौँ" मन्त्रालयका एक अधिकारीले उकेरासँग भने।

सम्बन्धित समाचार

वैशाख ३, २०८३ बिहीबार १७:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।