धितोपत्र बोर्डको गोप्य प्रतिवेदनको खुलासा : तीन अर्ब ५० करोडको इन्साइडर ट्रेडिङमा दीपक भट्टदेखि  शेखर गोल्छासम्म

धितोपत्र बोर्डको गोप्य प्रतिवेदनको खुलासा : तीन अर्ब ५० करोडको इन्साइडर ट्रेडिङमा दीपक भट्टदेखि  शेखर गोल्छासम्म

काठमाडौँ : दीपक भट्ट र अर्का व्यवसायी शेखर गोल्छासहितको समूहले आफ्नो लगानी रहेको कम्पनीहरूमार्फत सेयर बजारमा कृत्रिम कारोबार गराएर तीन अर्ब बढीको चलखेल गरेको खुलेको छ। यसमा दुरुपयोग भएका अधिकांश संस्था भट्ट र शंकर समूहले प्रभावमा बीमा प्राधिकरणबाट एकै पटक स्विकृत पाएका कम्पनीहरु हुन्।

नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदन अनुसार भट्ट र भृकुटी स्टकका कार्यकारी प्रमुख संदिप चाचानको योजनामा रोहित गुप्ता, शेखर गोल्छा, सुलभ अग्रवाल, सुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह मिलेर नेपालको सेयर बजारमा तीन अर्ब बढीको इन्साइडर ट्रेडिङ गरेर सेयरको कृत्रिम मूल्य वृद्धि गराएका छन्।

उकेराले प्राप्त गरेको प्रतिवेदनमा यो समूह मिलेर प्रारम्भमा सेयर कारोबार गर्न संयुक्त रकम जम्मा पारेको र त्यसपछि अधिकांश आफ्नै लगानी रहेका कम्पनीहरूमार्फत मिलेमतोमा विभिन्न कम्पनीको शेयर खरिद विक्री गर्ने गरेको विस्तृत विवरण उल्लेख छ। त्यसका लागि उनीहरूले आफ्नै लगानी रहेको एक कम्पनीमा रहेको शेयर किन्ने अनि महँगोमा आफ्नै लगानी रहेको अर्को कम्पनीलाई किन्न लगाउने गरेको देखिन्छ।

यसमा दीपक भट्ट र धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिका कार्यकारी प्रमुख संदिप चाचानले संगठित रूपमा धितोपत्र बजारमा कृत्रिम कारोबारको जालो नै सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।

यसमा हिमालयन रिइन्स्योरेन्स कम्पनी ली, हिमालयन क्यापसर्व ली, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी ली, हिमालय सेक्युरिटिज बैंकर ली, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छा सहयोगी देखिएका छन्।

सुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स ली, ऋषि राज मोर र राज बहादुर शाह समेत नेपाल रिइन्स्योरेन्सको शेयरको मूल्य बढाउने कार्यमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। यसको आधारमा प्रतिवेदनमा यी सबैमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पठाउन उपर्युक्त हुने उल्लेख छ।

प्रतिवेदनमा प्रस्ट भट्ट र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी (ब्रोकर नं. ८२) बीचको मिलेमतोमा धितोपत्र बजारमा ठुलो स्केलको 'इनसाइडर ट्रेडिङ' र कृत्रिम मूल्य वृद्धि भएको सनसनीपूर्ण तथ्यहरू उल्लेख छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि बोर्डले गरेको छानबिनमा भट्टले अर्बौँको सेयर कारोबार विना पैसा 'उधारो'मा गरेको र बजारलाई प्रत्यक्ष प्रभाव पारेको  र त्यसमा गोल्छासहितले सहयोग गरेको गम्भीर विवरणहरू उल्लेख छ।

प्रतिवेदनको निष्कर्षमा उनीहरूले विना पैसा नै उधारोमा अर्बौँको शेयर कारोबार गरेको, सेयरको कृत्रिम माग सिर्जना गरेर सेयरको बजार भाउ बढाएको, भट्टले आफू वास्तविक धनी रहेका वा आफ्नो नियन्त्रणमा रहेका विभिन्न कम्पनीहरूबिच सेयर ओसारपसार गरेर लाभ लिएको विस्तृत विवरण उल्लेख छ।

उनीहरूले वास्तविक स्वामित्व परिवर्तन नहुने गरी सेयर खरिद-बिक्री गराएर 'झुटो कारोबार' गरिएको विवरणहरू समेत प्रतिवेदनमा उल्लेख छ।

मुख्य योजनाकार भट्ट र चाचान

प्रतिवेदनमा यो तीन अर्बको कारोबारको चलखेलमा मुख्य योजनाकार दीपक भट्ट देखिएका छन्। उनले अग्रिम रकम नदिई अर्बौँको 'उधारो' कारोबार गर्ने, आफ्नै नियन्त्रणमा रहेका कम्पनीहरूबिच ऋणपत्र खरिद–बिक्री गराएर मूल्य बढाउने र व्यक्तिगत लाभ लिने काम गरेको प्रतिवेदनमा उल्लेख छ।

अर्का मुख्य खेलाडी हुन् संदिप चाचान। भृकुटी स्टक ब्रोकिङ्गका सिइओ रहेका उनले भट्टलाई नियम विपरीत उधारोमा कारोबार गर्न सघाउने र कोल्याट्रल विना नै अर्बौँको सेयर खरिदको सीमा उपलब्ध गराउने गरेको प्रतिवेदनमा उल्लेख छ।

अन्यमा सुभी अग्रवालले अग्रिम रकम नदिई सेयर कारोबार गरेको, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्य बढाउन सक्रिय भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

ऋषि राज मोर र राज बहादुर शाहले दीपक भट्टले जस्तै अग्रिम रकम नदिई सेयर खरिद गरी मूल्य वृद्धि गराउन सहयोग गरेको र बजारलाई झुक्क्याउने कार्यमा संलग्न रहेको देखिन्छ। रोहित गुप्ता र शेखर गोल्छाले भट्टलाई कारोबारमा सघाएको प्रतिवेदनमा उल्लेख छ।

संलग्न संस्थाहरू र तिनको भूमिका

यसमा सेयर बजारमा कृत्रिम कारोबार मार्फत सेयरको भाउमा तलमाथि गराएर लाभ लिने मुख्य योजना भट्टले बनाएको देखिन्छ। त्यसमा भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी (ब्रोकर नं. ८२): भट्टलाई विना पैसा कारोबार गर्न दिने र अन्य ग्राहकको पैसा भट्टको राफसाफमा प्रयोग (नेटिङ्ग) गरिदिने मुख्य संस्थागत माध्यम बनेको  थियो।

धितोपत्र बोर्डले अनुसन्धान गरेर सम्पत्ती शुद्धिकरण विभागमा पठाएको प्रतिवेदनको अंश।त्यसमा यही समूहको लगानी रहेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ऋणपत्र भट्टले न्यून मूल्यमा किनेर अन्य कम्पनीलाई महँगोमा बेचेका थिए। यो संस्था नेपाल रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीकोको मूल्य बढाउने कार्यमा सहभागी देखिएको छ।

दीपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.५% स्वामित्व रहेको हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले सञ्चालन गरेको 'एचएलआई लार्ज क्याप फण्ड' ले भट्टले किनेका ऋणपत्रहरू किनेर उनलाई आर्थिक लाभ दिलाएको खुलेको छ।

गार्डियन, क्रेष्ट, प्रोटेक्टिभ, नेपाल र लिबर्टी माइक्रो लाइफ बीमा कम्पनीहरू दीपक भट्ट वा हिमालयन रिइन्स्योरेन्सको नियन्त्रणमा रहेका छन्। भट्टले खरिद गरेका महँगा ऋणपत्रहरू 'भिराउने' ठाउँका रूपमा यी संस्थाहरू प्रयोग भएका छन्।

प्रतिवेदन अनुसार हिमालयन क्यापसर्भ र हिमालय सेक्युरिटिज बैंकरले वास्तविक स्वामित्व परिवर्तन नहुने गरी 'झुटो कारोबार' गर्न र सेयर मूल्य बढाउन सहयोगीको रूपमा प्रयोग भएका छन्।

यो अनुसन्धानको सबैभन्दा महत्वपूर्ण भिन्न भिन्न कम्पनीले कारोबारकाक्रममा प्रयोग गरेको आइपी एड्रेस हो। यी सबैले सेयर कारोबारकोक्रममा टिएमएस खाता प्रयोग गर्दा एकै आइपी एड्रेस देखिएका छन्। यसले एकै आइपी एड्रेसमार्फत उनीहरूले योजनाबद्ध रूपमा सेयरको मूल्यमा चलखेल गरी सर्वसाधारण लगानीकर्तालाई झुक्क्याउने काम गरेको प्रतिवेदनको निष्कर्ष छ।

विना पैसा अर्बौँको 'उधारो' कारोबार

प्रतिवेदन अनुसार दीपक भट्टले भृकुटी स्टक ब्रोकिङ्ग मार्फत मिति २०८२/०४/०५ देखि २०८२/१२/०१ सम्ममा कुल ३ अर्ब ८० करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको धितोपत्र खरिद गरेका छन्।

अचम्मको कुरा के छ भने, यो परिमाणको कारोबार गर्दा उनले ब्रोकरलाई कुनै पनि अग्रिम रकम (कोल्याट्रल) बुझाएका थिएनन्। हालसम्म पनि उनले ब्रोकरलाई २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी रहेको 'उधारो' देखिन्छ।

ब्रोकर कम्पनीले भट्टबाट पैसा लिनुको साटो अन्य लगानीकर्ता वा संस्थाहरूलाई दिनुपर्ने रकम प्रयोग गरेर भट्टको खरिदलाई राफसाफ गरेको थियो। यसमा भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्गस्, ४.५% स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्स, र उनकै लगानी रहेका नेपाल माइक्रो इन्स्योरेन्स लगायतका संस्थाहरूको रकम नेटिङ्ग प्रणालीमा प्रयोग गरिएको देखिन्छ।

कृत्रिम मूल्य वृद्धि र बजार प्रभाव

प्रतिवेदनले भट्ट र उनका सहयोगीहरूले नेपाल रिइन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्सको सेयर मूल्यमा कृत्रिम माग सिर्जना गरी मूल्य बढाएको निष्कर्ष निकालेको छ।  उनीहरूले पैसा लेनदेन नगरी सेयर खरिद-बिक्री देखाएर नेपाल रिइन्योरेन्सको मूल्य रु. १,४६१ बाट बढाएर रु. १,६८६ सम्म पुर्याइएका थिए।

एनएलजी इन्स्योरेन्सको मूल्य बढाउन सुभी अग्रवाल, हिमालयन रिइन्स्योरेन्स लगायतका १० भन्दा बढी संस्थाहरूको संलग्नता देखिएको छ। शेयर लगानी र त्यसबाट लाभ लिन उनीहरूले आफू सम्बद्ध कम्पनीहरूबिच न्यून मूल्यमा सेयर खरिद गरी उच्च मूल्यमा बिक्री गरेर व्यक्तिगत लाभ लिएका थिए।

प्रतिवेदनमा उल्लेख भए अनुसार उनीहरूले हिमालयन रिइन्स्योरेन्सबाट रु. १,०८० मा खरिद गरेको ऋणपत्र आफ्नै नियन्त्रणमा रहेका गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफलाई रु. १,१८५ सम्ममा भिडाएर मूल्य वृद्धि गराएका थिए।

भट्टले खरिद गरेका ऋणपत्रहरू आफ्नी पत्नी आयुष्मा नेपालको ८.५% स्वामित्व रहेको हिमालयन इन्भेस्टमेन्ट बैंकर अन्तर्गतको फण्डलाई बिक्री गरेर लाभ लिने गरेका थिए।

यी सबै प्रकरणको प्राविधिक अनुसन्धानमा दीपक भट्ट, सुलभ अग्रवाल, हिमालयन रिइन्स्योरेन्स र अन्य ७ वटा कम्पनीहरूको अनलाइन कारोबार खाता एउटै आइपी एड्रेसबाट चलाइएको भेटिएको थियो। यसले यी सबै कारोबारहरू एकै ठाउँबाट योजनाबद्ध रूपमा गरिएको पुष्टि गर्छ।

वैशाख ८, २०८३ मंगलबार २२:५९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।