करणको बलिङ र दीपेन्द्रको अर्धशतकको मद्दतमा नेपाल विजयी

करणको बलिङ र दीपेन्द्रको अर्धशतकको मद्दतमा नेपाल विजयी

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ३७ रनले पराजित गर्दै सिरिजमा सुखद सुरुवात गरेको हो।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई १६३ रनमा समेटियो। युएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रनको योगदान दिए। त्यस्तै, कप्तान मुहम्मद वसिमले ३४ र अर्षदीप नाथले ३० रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। ओपनर आर्यांश शर्मा १८ रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

युएईको ब्याटिङ लाइनलाई ध्वस्त पार्न नेपालका तीव्र गतिका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरे। नेपालको जीत निश्चित गर्न उनी एक्लैले ४ विकेट लिए। उनले ९.२ ओभरमा मात्र १९ रन खर्चिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीको नाममा १-१ विकेट रह्यो।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको महत्त्वपूर्ण इनिङ्स खेले। ९० बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यो दीपेन्द्रको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) करियरको छैटौं अर्धशतक हो।

नेपालको सुरुवात भने कमजोर रहेको थियो। ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए भने आशिफ शेख ७ र कप्तान रोहित पौडेल मात्र २ रनमा पेभेलियन फर्किए। अन्य ब्याटरहरूमा करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५-१५ तथा भीम सार्कीले १० रन जोडे।

बलिङतर्फ युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान ३-३ विकेट लिए। खुजैमा तनविरले २ तथा हैदर अली र मुहम्मद सहदादले १-१ विकेट हात पारे। जितसँगै नेपालले लीग तालिकामा १४ अङ्क पुर्याएको छ। नेपालले अब आफ्नो दोस्रो खेल बुधबार ओमानसँग खेल्नेछ। 

वैशाख १२, २०८३ शनिबार १७:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।