दीपेन्द्रको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालद्वारा यूएईसामु २०१ रनको लक्ष्य प्रस्तुत
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि २०१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २०० रन मात्र बनाउन सक्यो।
नेपालको सुरुवात निकै खराब रहेको थियो। ओपनर आसिफ शेख जम्मा ७ रन बनाएर आउट भए भने अर्का ओपनर कुशल भुर्तेलले २४ रन जोडे।
तेस्रो नम्बरमा आएका भीम सार्की १० रन र कप्तान रोहित पौडेल मात्र २ रन बनाएर पभेलियन फर्किएपछि नेपाल १०.६ ओभरमा ४९/४ को दबाबपूर्ण स्थितिमा पुगेको थियो।
खराब अवस्थामा पुगेको नेपाली इनिङ्सलाई दीपेन्द्र सिंह ऐरीले सम्हालेका थिए। उनले धैर्यतापूर्वक ब्याटिङ गर्दै टोलीका लागि सर्वाधिक ७५ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले।
९० बलको सामना गरेका ऐरीले ५ चौका र २ छक्का प्रहार गरे। अन्तिम विकेटको रूपमा उनी ४९औं ओभरमा जुनैद सिद्दिकीको बलमा क्याच आउट भएका थिए।
त्यस्तै, नेपालका लागि तल्लो क्रममा ब्याटिङ गर्दै करण केसीले २२ रनको योगदान दिए। बसिर अहमदले २०, आरिफ शेखले १५ र सोमपाल कामीले १५ रन बनाए। सन्दीप लामिछाने २ रनमा आउट हुँदा ललित राजवंशी शून्य रनमा अविजित रहे।
नेपाललाई सस्तैमा समेट्न यूएईका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। यूएईका लागि जुनैद सिद्दिकी र आजै एकदिवसीयमा डेब्यु गरेका अजय कुमारले समान ३-३ विकेट लिए। सिद्दिकीले ९.२ ओभरमा ३ मेडनसहित ३३ रन खर्चिए भने अजयले ९ ओभरमा १ मेडनसहित ३४ रन दिए।
त्यसैगरी, अर्का डेब्युटान्ट बलर खुजैमा तनवीरले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। हैदर अली र मुहम्मद शाहदादको नाममा समान १-१ विकेट रह्यो।
यस खेलमा यूएईका तर्फबाट अक्शदीप नाथ, अदीब उस्मानी, अजय कुमार, हरप्रीत सिंह, खुजैमा तनवीर र निलांश केसवानी गरी ६ जना खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्।
अहिले इनिङ्स ब्रेक भएको छ र २०१ रनको विजयी लक्ष्यसहित यूएईले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
वैशाख १२, २०८३ शनिबार १३:४०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।