राज्यको ‘एक्सन’मा भुइँमान्छेको उठिबास (फोटोफिचर)

राज्यको ‘एक्सन’मा भुइँमान्छेको उठिबास (फोटोफिचर)

काठमाडौं : काठमाडौंको नदी किनारमा वर्षौंदेखि ओत लागिरहेका सुकुम्बासी बस्तीमा जब राज्यको ‘एक्सन’ सुरु भयो, त्यहाँका दृश्यहरू निकै कारुणिक देखिए।

एकातिर लाठी र ढालसहित उभिएका सुरक्षाकर्मीको तैनाथी छ भने अर्कोतिर भत्काइएका टहरा, छरपस्ट सामान र अनिश्चित भविष्यको त्रासमा रुमल्लिरहेका मानिसहरू थिए। राज्यले सार्वजनिक जग्गा खाली गराउँदै गर्दा भुइँमान्छेका सपना र जिन्दगी भने खुला आकाशमुनि अलपत्र पर्यो।

ढाल र लाठी बोकेका सुरक्षाकर्मी बस्तीमा पस्दा स्थानीयको अनुहारमा त्रास प्रस्टै देखिन्छ।

आफ्नो वर्षौं पुरानो बासस्थान भत्किने डरले कोही टहराको छतबाट नियालिरहेका छन्, कोही ढोकाबाट डराउँदै चियाइरहेका छन् त कोही भुइँमा बसेर भताभुङ्ग हुँदै गरेको आफ्नो संसार टुलुटुलु हेर्न विवश छन्। राज्यको शक्तिका अगाडि उनीहरू नितान्त निरीह छन्।

घर भत्किएपछि वा भत्किने डरले निकालिएका सरसामान नदी किनारमा छरपस्ट छन्। ग्यास सिलिन्डर, भाँडाकुँडा, लत्ताकपडा र ओढ्ने-ओछ्याउने सामानको थुप्रो नै अहिले उनीहरूको ‘घर’ बनेको छ। धुलो र माटोको ढिस्कोमाथि झुल टाँगेर बस्न बाध्य बालबालिका र महिलाहरूको दृश्यले जोकोहीको मन चिस्याउँछ।

जस्तोसुकै विपत्ति आए पनि पेटको भोकले कहाँ मान्छ र! आधा भत्किएको टहरा र खुला आकाशमुनि एक महिला भोक टार्नका लागि चुल्हो बालिरहेकी छन्। भताभुङ्ग इँटा र छरपस्ट सामानको बीचमा चिया पाकिरहेको देखिन्थ्यो। बास उठेपनि सास त धान्नैपर्यो।

उठिबासको सबैभन्दा ठूलो मारमा बालबालिका परेका छन्। कलिला अनुहारहरू आज भत्किएका जस्तापाता र पोको पारिएका सामान रुँघेका छन्। झुलभित्र सुतिरहेका अबोध शिशु हुन् वा सामानको थुप्रोको छेउबाट हिँडिरहेकी बालिका- उनीहरूका आँखामा अब कहाँ गएर बस्ने भन्ने त्रास र अन्योलबाहेक केही देखिँदैन।

डोजरले पेलेर सबै नष्ट गरिदिनुअघि केही स्थानीय आफ्नै हातले आफ्नो बासस्थान भत्काउँदैछन्। भोलि कतै ओत लाग्ने ठाउँ पाइहाले यिनै जस्तापाता काम लाग्छन् कि भन्ने झिनो आशमा उनीहरू जतनले किला उखेल्दै सामान जोगाउने अन्तिम कसरतमा छन्। आफ्नै हातले आफ्नो घर भत्काउनुपर्दा मन रुने नै भयो!

​​​​​​​

वैशाख १२, २०८३ शनिबार १३:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।