आईसीसी लिग-२ : यूएईविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालको तीन विकेट खस्यो
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी यूएईविरुद्धको खेलमा नेपालले सुरुआती ब्याटिङ गरिरहेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८.२ ओभरको खेल चलिरहँदा तीन विकेटको क्षतिमा ४५ रन बनाएको छ। अहिले क्रिजमा बसीर अहमद र कप्तान रोहित पौडेल रहेका छन्।
नेपालको सुरुआत सुखद हुन सकेन। एक एन्डबाट सम्हालिएर ब्याटिङ गरिरहेका कुशलले २४ बलको सामना गर्दै ४ चौकाको मद्दतले अविजित २४ रन बनाएर आउट भएका हुन्। कप्तान रोहितले ३ बलमा १ रन बनाएका छन्।
टिमको स्कोर ८ रन हुँदा दोस्रो ओभरको तेस्रो बलमै ओपनर तथा विकेटकिपर आसिफ शेख व्यक्तिगत ७ रन (६ बलमा १ चौका) बनाएर क्लिन बोल्ड हुन पुगे। त्यसपछि क्रिजमा आएका भीम सार्की पनि धेरै बेर टिक्न सकेनन्। उनी छैटौँ ओभरको अन्तिम बलमा १६ बलमा २ चौकासहित १० रन बनाएर क्याच आउट भए।
नेपालका दुवै विकेट यूएईका लागि आजै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा डेब्यु गरेका बलर खुजैमा तनवीरले लिएका हुन्। उनले उत्कृष्ट बलिङ गर्दै आफ्नो ४ ओभरको स्पेलमा १ मेडन राख्दै मात्र १३ रन खर्चेर २ विकेट लिएका छन्। त्यस्तै, जुनैद सिद्दिकीले ३ ओभरमा १ मेडनसहित २१ रन दिएका छन् भने अजय कुमारले १.१ ओभरमा ११ रन खर्चेका छन्।
लिग-२ को यो ९७औं खेल हो। आजको खेलमा यूएईको टोलीमा व्यापक परिवर्तन देखिएको छ। यूएईका आधा दर्जन खेलाडीहरू- अक्षदीप नाथ, अदिब उस्मानी, अजय कुमार, हरप्रित सिंह, खुजैमा तनवीर र निलांश केसवानीले आजको खेलबाट ओडीआईमा डेब्यु गरेका छन्।
वैशाख १२, २०८३ शनिबार १०:२०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।