नेपालविरुद्धको खेलपछि यूएईका कप्तान वसिमलाई आईसीसीको कारबाही
काठमाडौं : कीर्तिपुरमा भएको नेपालविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरको निर्णयलाई लिएर सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि संयुक्त अरब इमिरेट्स (यूएई) का कप्तान मुहम्मद वासिमलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ।
आईसीसीले आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै वासिमलाई उनको म्याच फीको १५ प्रतिशत जरिवाना तिराउने निर्णय गरेको हो।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल र यूएईबीचको दोस्रो खेल सकिएपछि ‘पोस्ट-म्याच प्रेजेन्टेसन’मा बोल्दै कप्तान वासिमले अम्पायरको निर्णय पक्षपाती भएको आरोप लगाएका थिए।
अन्तर्राष्ट्रिय खेलमा म्याच अफिसियल (अम्पायर) को सार्वजनिक आलोचना गर्न नपाइने नियम छ। आईसीसीका अनुसार वासिमले खेलाडी तथा सहयोगी कर्मचारीसम्बन्धी आचारसंहिताको धारा २.७ को ‘लेभल १’ उल्लङ्घन गरेका हुन्।
यस धारामा कुनै पनि अन्तर्राष्ट्रिय खेल, खेलाडी, म्याच अफिसियल वा टोलीको बारेमा अनुचित टिप्पणी गर्न वा सार्वजनिक रूपमा आलोचना गर्न प्रतिबन्ध लगाइएको छ।
यूएईका कप्तानको उक्त अभिव्यक्तिका विषयमा खेलमा खटिएका नेपाली अम्पायरहरूले उजुरी दर्ता गराएका थिए। मैदानमा रहेका अम्पायरद्वय बुद्धि प्रधान र विनय कुमार, तेस्रो अम्पायर दुर्गा सुवेदी र चौथो अम्पायर सञ्जय सिग्देलले उनीविरुद्ध ‘चार्ज’ लगाएका थिए।
आईसीसीको इमिरेट्स इन्टरनेसनल प्यानलका म्याच रेफ्री वेन्डेल ला ब्रोयले प्रस्ताव गरेको सजाय वासिमले स्वीकार गरे। गल्ती स्वीकार गरेसँगै यस विषयमा थप औपचारिक सुनुवाइको आवश्यकता परेन।
१५ प्रतिशत आर्थिक जरिवानाका साथै वासिमको अनुशासन रेकर्डमा एक डिमेरिट पोइन्ट पनि थपिएको छ। पछिल्लो २४ महिनाको अवधिमा यो उनको पहिलो अनुशासनहीन घटना हो।
आईसीसीको नियमअनुसार ‘लेभल १’ को गल्तीमा न्यूनतम आधिकारिक चेतावनीदेखि अधिकतम म्याच फीको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई डिमेरिट पोइन्ट दिइने व्यवस्था छ।
नेपाल र यूएईबीच टी-२० सिरिजको पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको थियो भने मंगलबार दोस्रो खेलमा घरेलु टोली नेपालले पुनरागमन गर्दै ८ विकेटको जित निकालेको थियो।
वैशाख ११, २०८३ शुक्रबार ०८:५९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।