बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु भएपछि दुई चिकित्सकसहित पाँच जना पक्राउ
बुटवल : गर्भपतनका क्रममा बुटवलमा ज्यान गुमाएकी पाल्पाकी गीता पाण्डेको मृत्यु प्रकरणमा जोडिएका दुई चिकित्सकसहित पाँच जना पक्राउ परेका छन्।
आर्थिक लाभको उद्देश्य राखी चिकित्सकले गम्भीर लापरबाही गर्दा २९ वर्षीया पाण्डेको मृत्यु भएको भन्दै उनका श्रीमान् प्रकाश पाण्डेले पाँच जनालक्षित किटानी जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई पक्राउ गरेको हो।
यसअघि मंगलबार बिहानै प्रहरीले जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्तीमगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले उजुरी दर्ता भएसँगै अनुसन्धान अघि बढाइएको र घटनामा संलग्न रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
के थियो घटना?
पाल्पाको बगनासकाली गाउँपालिका-२ घर भई हाल तिलोत्तमाको शंकरनगरमा बस्दै आएकी गीता दोस्रो पटक गर्भवती थिइन्।
करिब १२ हप्ताको गर्भ रहेकी उनलाई परीक्षणका क्रममा भ्रूणमा समस्या देखिएको भन्दै थप जाँचको सल्लाह दिइएको थियो। त्यसैअनुसार उनीहरू चैत २७ गते पहिलो पटक नर्सिङ होम पुगेका थिए भने वैशाख ४ गते पुनः बोलाइएको थियो। तर, त्यसदिन चिकित्सक नआएको भन्दै उनीहरूलाई अर्को दिनका लागि सारिएको थियो।
वैशाख ५ गते पुनः अस्पताल पुगेकी गीतालाई परीक्षणपछि प्रेस्क्रिप्सनसहित नजिकैको फार्मेसीमा पठाइएको थियो। त्यहाँ थप परीक्षणका लागि ठूलो रकम मागिएपछि आंशिक भुक्तानी गरेर औषधि लिई परिवार घर फर्किएको थियो।
साँझ-बिहान सेवन गर्न भनिएको औषधि खाएपछि गीताको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। भोलिपल्ट पुनः फार्मेसी पुग्दा थप औषधि खुवाएर केही समय आराम गर्न लगाइएको परिवारको दाबी छ। औषधि सेवनपछि अचेत भएकी गीतालाई अर्को क्लिनिक हुँदै अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो।
यस विषयमा मृतकका श्रीमान् प्रकाश भन्छन्, ‘भ्रूण असामान्य छ भन्ने बहानामा असुरक्षित तरिकाले गर्भपतन गराउन खोज्दा ज्यान गएको हो।’
नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
यसैबीच, गीता पाण्डेको मृत्यु घटनाको नेपाल मेडिकल काउन्सिलले समेत छानबिन गर्ने भएको छ।
मृतकका आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकको लापरबाहीका कारण मृत्यु भएको भन्दै काउन्सिलमा छानबिनको माग गर्दै निवेदन दिएका थिए।
पीडित परिवारको निवेदनपछि काउन्सिलले यस घटनालाई गम्भीर रूपमा लिँदै समिति नै गठन गरेर छानबिन गर्ने जनाएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिष देउले भने, ‘उक्त घटनालाई काउन्सिलले गम्भीर रूपमा लिएको छ। पीडित पक्षबाट पनि काउन्सिलले निष्पक्ष रूपमा छानबिन गरिदेओस् भनेर निवेदन दिनुभएको छ। सदस्यहरूसँग छलफल गरेपछि समिति गठन गरेर छानबिनलाई अगाडि बढाउँछौँ।’
वैशाख ९, २०८३ बुधबार १४:२९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।