ओमानद्वारा नेपाल ‘ए’लाई २८१ रनको लक्ष्य, आकाशले एक्लैले लिए चार विकेट
काठमाडौं : नेपाल ‘ए’ विरुद्धको एकदिवसीय (ओडी) अभ्यास सिरिजमा ओमानले जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रनको योगफल तयार पारेको हो।
ओमानलाई बलियो स्थितिमा पुर्याउन मध्यक्रमका ब्याटर मुजिबुर अलीले सर्वाधिक ७२ रनको अर्धशतकीय पारी खेले। उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।
त्यसैगरी, ओपनर तथा कप्तान जतिन्दर सिंहले विस्फोटक सुरुवात दिलाउँदै ४८ बलमा ९ चौका र १ छक्कासहित ५८ रन जोडे।
ओमानका लागि आक्रामक ब्याटिङ गरेका हशिर दफेदारले ४१ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए।
त्यस्तै, आशिष ओडेदराले २७, विनायक शुक्लाले २५ र जिटेन कुमार रामानन्दीले अविजित १७ रनको योगदान दिए। ओमानले पहिलो विकेटका लागि १३.५ ओभरमा ७९ रनको राम्रो साझेदारी गरेको थियो।
बलिङतर्फ नेपाल ‘ए’ का तीव्र गतिका बलर आकाश चन्दले उत्कृष्ट प्रदर्शन गरे। उनले आफ्नो ९ ओभरको स्पेलमा ३३ डट बल फाल्दै मात्र ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
त्यसैगरी, सन्तोष यादवले निकै कसिलो बलिङ गर्दै ६ ओभरमा १५ रन मात्र दिएर २ विकेट आफ्नो नाममा गरे। शहाब आलम, शेर मल्ल र राशिद खानले समान १-१ विकेट लिए। हेमन्त धामी, रिजन ढकाल, युवराज खत्री र इशान पाण्डेले भने विकेट निकाल्न सकेनन्।
खेलमा अब नेपाल ‘ए’ ले २८१ रनको विशाल लक्ष्य पछ्याउँदै केही बेरमा आफ्नो जवाफी ब्याटिङ सुरु गर्दैछ।
वैशाख ९, २०८३ बुधबार १३:५७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।