‘फरार’ दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेर दिए गृहमन्त्रीलाई नै चुनौती
काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बिथोल्न खोजेको र हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएकै समयमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजधानीमा पत्रकार सम्मेलन गरेका छन्।
एकातिर कानुनको नजरमा उनी ‘फरार’ छन् भने अर्कोतिर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राज्यसत्ता र सरकारमाथि कडा आक्रोश पोखे। सार्वजनिक मञ्चमा देखा परेका प्रसाईंले आफूलाई ‘माफिया’ भनिएकोमा तीव्र आपत्ति जनाए।
बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई अस्पताल बनाएर सेवा दिँदा पनि राज्यले आफूमाथि विभेद गरेको उनको गुनासो छ। सरकारको निःशुल्क शिक्षा र स्वास्थ्य नीतिको आलोचना गर्दै उनले जनतालाई निःशुल्क बाँड्नुभन्दा किन्न सक्ने हैसियतको बनाउनुपर्ने तर्क गरे।
यति मात्र होइन, उनले नेपालको राज्यसत्ता डिप स्टेटको नियन्त्रणमा रहेको विवादास्पद दाबी समेत गरे। नेपालको अर्थतन्त्र र सत्ता १६ जना मारवाडी र १० जना नेपाली नागरिकको नियन्त्रणमा रहेको भन्दै उनले ती व्यक्तिलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए।
उता अदालतमा साइबर अपराधको मुद्दा
राज्यसत्तालाई यसरी चुनौती दिइरहेका ५३ वर्षीय प्रसाईंविरुद्ध मंगलबार मात्रै काठमाडौं जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी गम्भीर मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको मागदावी गर्दै अभियोगपत्र दायर गरेको हो।
निर्वाचन आयोगको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धान प्रतिवेदनलाई टेकेर यो मुद्दा अघि बढाइएको हो। आयोगले २०८२ माघ २३ गते निर्वाचन आचारसंहिताको बर्खिलाप हुने गरी प्रसाईंले श्रव्यदृश्य सामग्री राखेको भन्दै अनुसन्धानका लागि पत्राचार गरेको थियो।
आयोगको पत्रपछि सोही दिन उनलाई प्रहरीले दक्षिणकाली मुल सडकबाट पक्राउ गरेको थियो। साइबर ब्यूरोमा बयान दिएपछि प्रसाईंलाई उनका छोरा निराजन प्रसाईंको जिम्मा जमानीमा छाडिएको थियो। तर हाल उनी आधिकारिक रूपमा सम्पर्कमा नआएको भन्दै अदालतमा फरार प्रतिवादीकै रूपमा मुद्दा अघि बढाइएको छ।

अभियोगपत्रअनुसार प्रसाईंले आफ्नो फेसबुक एकाउन्टबाट भिडियो सार्वजनिक गर्दै ‘यो चुनाव हुँदैन, चुनाव गर्न दिइँदैन, यो चुनाव गरियो भने नि हाम्रो देश टुक्रन्छ’ जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए।
त्यसैगरी, राजसंस्था र हिन्दू अधिराज्य कायम नहुन्जेल चुनाव हुन नदिने भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालमा जस्तै सेना परिचालन गरेर ‘कू’ गर्नुपर्ने उक्साहटपूर्ण विचार राखेको सरकारी वकिलको दाबी छ। नेताहरूलाई लक्षित गर्दै प्रसाईंले ‘झुण्डाएरै मर्ने, गोली खाएरै मर्ने’ जस्ता अत्यन्तै हिंसात्मक र उत्तेजक धम्की दिएको अभियोगपत्रमा उल्लेख छ।
प्रहरीले अदालतमा प्रमाणका रूपमा भिडियोका लिङ्क, स्क्रिनसट र डिभिडी पेस गरेको छ भने प्रत्यक्षदर्शीहरूको बयानले पनि उनले जानीजानी जनमानसमा त्रास फैलाउन खोजेको पुष्टि गरेको वकिल कार्यालयले जनाएको छ।
वैशाख ९, २०८३ बुधबार १३:४०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।