चक्रवर्ती हबी कलेजका अध्यक्षविरुद्ध बलात्कार, ठगी र अप्राकृतिक मैथुनसहित तीन मुद्दा दायर

चक्रवर्ती हबी कलेजका अध्यक्षविरुद्ध बलात्कार, ठगी र अप्राकृतिक मैथुनसहित तीन मुद्दा दायर

काठमाडौं : बिजुलीबजारस्थित चक्रवर्ती हबी एडुकेसन एकेडेमी प्रा.लि. (कलेज) का संस्थापक अध्यक्ष एवम् प्राध्यापक देवेन्द्र बहादुर भण्डारीविरुद्ध व्यक्तिगत सहयोगी (पीए) बलात्कार र ठगीसहित काठमाडौं जिल्ला अदालतमा एकैसाथ तीन मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले दायर गरेका यी तीन अभियोगपत्रमा जबरजस्ती करणी, अप्राकृतिक मैथुन र ठगी तथा अपराधिक विश्वासघातका आरोप लगाइएको छ। तीनै मुद्दाका पीडित एउटै परिवारसँग जोडिएका छन्- एक महिला, उनका नाबालक छोरा र उनकी बहिनी।

पहिलो मुद्दा- बलात्कार
पहिलो अभियोगपत्र अनुसार, पीडित महिलाले विसं २०७४ सालमा पतिसँग सम्बन्ध विच्छेद गरी नाबालक छोरासहित काठमाडौं आई बसोबास गर्न थालेकी थिइन्। काठमाडौं आएपछि प्रतिवादी देवेन्द्र बहादुर भण्डारीसँग चिनजान भई कुराकानी हुन थाल्यो।

अभियोगपत्रमा उल्लेख भए अनुसार, भण्डारीले आफू कलेज सञ्चालक भएको र स्वास्थ्य अवस्था कमजोर भएकाले कलेज सञ्चालन गर्न समस्या परेको बताउँदै पीडित महिलालाई कलेजको कार्यकारी प्रमुख र आफ्नो व्यक्तिगत सहायकको रूपमा काम गर्न प्रस्ताव राखे।

२०७४ पुस ०७ गतेदेखि उनलाई नियुक्त गरियो र कलेज परिसर भित्रै छोरासमेत आफ्नो साथमा राखी काम गर्दै आएको थिइन्।

तर केही समयपछि भण्डारीले पीडित महिलासँग रकम भएको थाहा पाएर कलेज नै शेयर गरिदिने झुक्याउँदै बारम्बार रकम लिन थाले। यसबाहेक, आफ्नो जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेकाले महिलालाई विवाह गर्ने, छोरालाई धर्मपुत्र बनाउने र जग्गामा घर बनाइदिने जस्ता प्रलोभन देखाउन थाले।

अभियोगपत्रमा पीडित महिलाको सहमतिविपरीत नाबालक छोराको थर परिवर्तन गरी आफ्नो थर राख्ने प्रयास गरेको, ओखती दिएर गर्भपात गराएको, अप्राकृतिक यौन सम्बन्ध राख्ने, र नाबालक छोरासँग अस्वाभाविक गतिविधि गर्ने कार्य गरेको आरोप लगाइएको छ।

अभियोगपत्रमा अन्तिम पटक २०८२ साउन ३० गते काठमाडौंको थापागाउँस्थित पीडित महिला बस्दै आएको घरमा, २०८१ असार २८ गते ठमेलको काठमाडौं गेस्ट हाउसमा, २०८१ फागुन ५ गते बिजुलीबजारस्थित बार्दली रेष्टो एण्ड रेसिडेन्सीको एम३ क्याबिनमा र २०७४ देखि २०७९ को चैत महिनासम्म कलेज परिसरभित्रको कोठाहरूमा पटक-पटक बलात्कार गरेको उल्लेख छ।

पीडित महिलाले दिएको बयान अनुसार, भण्डारीले उनलाई लामो समयसम्म विभिन्न आश्वासन दिएर झुलाउने, यो विषय कतै भन्ने हो भने कलेजबाट मात्र नभई नेपाल भरि पढ्न नपाउने गरी कारबाही गर्ने धम्की दिएका थिए।

यस्तै नाबालक छोरालाई गुण्डा लगाएर मारेर फ्याँकिदिने जस्ता ज्यान मार्ने धम्की समेत दिएकाले पीडित महिला एकल महिला भएको अवस्थामा लामो समय सम्म कसैलाई भन्न नसकेकको उनले बयानमा बताएकी छन्।

अभियोजन पक्षले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) अन्तर्गत उपदफा (२) बमोजिमको कसुर प्रमाणित भएको ठहर्याउँदै दफा २१९(३)(ङ) बमोजिम ७ देखि १० वर्षसम्म कैद सजाय र दफा २१९(३क)(ग) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गर्न माग गरेको छ।

दोस्रो मुद्दा: ठगी र अपराधिक विश्वासघात
दोस्रो अभियोगपत्र पहिलो घटनाको पीडित महिलाकी बहिनीले दर्ता गराएकी छन्। अभियोगपत्र अनुसार, बहिनी पनि आफ्नी दिदीको ट्र्याकमा नै काठमाडौं आई बसोबास गर्न थालेकी थिइन्। भण्डारीले उनलाई पनि कलेजको कार्यकारी प्रमुख र आफ्नो व्यक्तिगत सहायकको रूपमा नियुक्त गरे।

त्यसपछि भण्डारीले उनलाई चक्रवर्ती हबी एडुकेसन एकेडेमी प्रा.लि.को एक करोड ५० लाख मूल्य पर्ने एक लाख कित्ता शेयर दिने प्रलोभन देखाई उनीसँग भएको रकम र गरगहना सबै लिए। त्यसैगरी, उनले किट्टा नं. ३९७ को १७९.७७ वर्गमिटर जग्गा अस्थायी रूपमा आफ्नो नाममा पास गर्न लगाए।

यसका अलावा भण्डारीले उनी र उनको नाबालक छोरामाथि विभिन्न खाले अन्याय, अत्याचार र अमानवीय व्यवहार थालेपछि कलेज परिसरमा बस्न नसक्ने भई बानेश्वरमा डेरा सरेर बस्न थालिन्।

आफ्नो जग्गा र लिएको रकम फिर्ता माग्दा भण्डारीले उक्त जग्गामा पहिले नै घर बनाइसकेको बताउँदै चार करोड पचास लाख रुपैयाँ तिरेमा मात्र जग्गा फिर्ता गर्ने शर्त राखेको अभियोगपत्रमा उल्लेख छ।

उनले विसं २०८१ वैशाख ३ गते घर जग्गा आफ्नो नाममा पास गराई हक कायम गरिन्। तर त्यसपछि भण्डारीले उनको डेरामा प्रवेश गरी कुटपिट गर्नुका साथै उनी र उनको नाबालक छोराका विभिन्न कागजपत्र लिएर गए।

त्यसपछि प्रहरी सहित भण्डारीले उनलाई केही दिनपछि कलेजमा बोलाई अन्य व्यक्तिहरूको उपस्थितिमा धम्की र दबाब दिई पहिले नै तयार गरेका कागजातमा सही छाप गराई विसं २०८१ असार २५ गते उक्त जग्गा पुनः आफ्नो नाममा पास गराएर लिएको बयानमा भनिएको छ।

अभियोगपत्र अनुसार भण्डारीले कलेजको नाममा झण्डै तीन करोड रुपैयाँ ठगी गरेका थिए। करिब रु. २८ लाख, रु. ५० लाख र रु. २ करोड १७ लाख गरी जम्मा करिब ३ करोड। जग्गा सम्बन्धी कारोबारबाट चार करोड ५० लाख र कलेजको शेयरको नाममा एक करोड ५० लाखसमेत गरी जम्माजम्मी भारी रकम ठगी गरिएको अभियोगपत्रमा उल्लेख छ।

सरकारी वकीलको कार्यालयले भण्डारीविरुद्ध ठगीमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा आपराधिक विश्वासघातमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय मागेको छ।

साथै शेयर र जग्गा बापत रु. १.५ करोड र रु. ४.५ करोड गरी कुल छ करोड रुपैयाँ क्षतिपूर्ति दिलाइ भराउन समेत माग गरिएको छ।

तेस्रो मुद्दा: नाबालक बालकमाथि अप्राकृतिक मैथुन
तेस्रो अभियोगपत्र पहिलो पीडित महिलाका १४ वर्षीय नाबालक छोरामाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारसँग सम्बन्धित छ।

अभियोगपत्रमा समाविष्ट बालकको बयानमा ‘आमा-बाबाको सम्बन्ध विच्छेद भएपछि आमासँग काठमाडौं आएपछि भण्डारी सर घरमा आउन-जान गर्न थाले। सुरुमा उसले भण्डारीको व्यवहार बुझ्न नसकेन, तर पछि बुझ्न थालेपछि मनोवैज्ञानिक समस्याहरू देखिन थालेको’ उल्लेख गरिएको छ।

अभियोगपत्र अनुसार, भण्डारीले बालकलाई सिलडेनाफिल, यासागुम्बा लगायतका अन्य औषधिहरू खुवाउने, शरीरम तेल लगाउन लगाउने, कलेजको कोठामा अश्लील भिडियोहरू देखाएर अश्लिल हर्कत गर्ने गरेको भन्ने गम्भीर आरोपहरू छन्।

दुर्व्यवहारको कारण बालकमा गम्भीर मानसिक असर परेको, विद्यालयबाट निष्कासन हुने अवस्था आएको, खाना राम्ररी खान छोडेको, बोलाएपछि ३-४ पटक बोलाउनुपर्ने भएको, अरूले छुँदा कराउने भएको, साथीहरूबाट भाग्ने, रिसाउने र डराउने जस्ता समस्याहरू देखिन थालेको मनोसामजिक परामर्शदाताको रिपोर्टमा उल्लेख छ। हाल बालक विभिन्न अस्पताल र मनोपरामर्श केन्द्रमा उपचार भइरहेको छ।

अप्राकृतिक मैथुनको कसुर प्रमाणित भएको ठहर्याउँदै, पीडित बालकको उमेर १४ वर्ष रहेकाले दफा २२६(३) बमोजिम कठोर सजायको माग गरिएको छ। अनुमानित सजाय ७ वर्षदेखि माथि हुन सक्ने देखिन्छ। साथै दफा ३क(क) बमोजिम सात लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा जम्मा गरिनुपर्ने माँग पनि गरिएको छ।

भण्डारीको इक्नकारी बयान- ‘म ह्वीलचेयरमा हिँड्ने मान्छे हुँ’
अनुसन्धानको क्रममा देवेन्द्र बहादुर भण्डारीले तीनै मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन्। आफू विसं २०६९ सालमा पक्षाघात भएकाले बायाँ खुट्टा चलाउन नसक्ने र ह्वीलचेयरमा मात्र हिँडडुल गर्ने बताएका छन्।

पहिलो मुद्दामा उनले पीडित महिला कलेजकी विद्यार्थी रहेको र उनलाई मासिक तीस हजार रुपैयाँमा पीए नियुक्त गरेको स्वीकार गर्दै पनि जबरजस्ती करणी गरेको र बालकलाई धम्की दिएको नभएको दाबी गरे।

दोस्रो मुद्दामामा उनले जग्गा पास गर्दा आफूले एक करोड ५९ लाख रुपैयाँ नै दिएको र कलेजको शेयर दिने कुनै सम्झौता नभएको बताए। उनले जग्गा कारोबार सम्बन्धी बैनापट्टाको कागज नक्कली भएको र उनको नाममा भएको सहीछाप आफूले नगरेको दाबी समेत गरे।

तेस्रो मुद्दामामा उनले बालकलाई कहिल्यै देखेको वा चिनेको नभएको, अश्लील भिडियो देखाउने, शारीरिक दुर्व्यवहार गर्ने वा वेलनेस सेन्टरमा लग्ने जस्ता कुनै काम नगरेको दाबी गरे।

देवेन्द्र बहादुर भण्डारीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा चैत १९ गते कलेज परिसरबाटै पक्राउ गरिएको थियो। उनी हाल काठमाडौं जिल्ला प्रहरी परिसर, भरकालीमा थुनामा रहेका छन्। तीनै अभियोगपत्र वैशाख महिनाभित्र काठमाडौं जिल्ला अदालतमा दायर भएका हुन्।

चक्रवर्ती हबी एडुकेसन एकेडेमी प्रा.लि. पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कानुन कलेज हो। विसं २०१० सालमा स्थापित यस संस्थाको अध्यक्षका रूपमा देवेन्द्र बहादुर भण्डारी करिब २२ वर्षदेखि सक्रिय छन्। संस्थाको वेबसाइटमा अध्यक्षको सन्देशमा उनको तस्बिर र सन्देश अझै उपलब्ध छ।

वैशाख ९, २०८३ बुधबार १२:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।