कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न प्रचण्डको आह्वान, भने- ‘सबै वामपन्थी शक्ति एकजुट होऔँ’

कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न प्रचण्डको आह्वान, भने- ‘सबै वामपन्थी शक्ति एकजुट होऔँ’

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७औं दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा सामन्ती निरङ्कुशताको अन्त्य भए पनि समाजमा शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेको प्रचण्डले बताएका छन्।

साँचो अर्थमा जनताको व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ।’

समतामूलक समाज निर्माण गर्दै समाजवाद र साम्यवादको लक्ष्य प्राप्त गर्न सबै वामपन्थी शक्तिबीचको एकता आजको ऐतिहासिक आवश्यकता बनेको उनको भनाइ छ। 

वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अघि बढिरहेको भन्दै उनले लेनिनका शिक्षा र आदर्श आज अझ सान्दर्भिक भएको दाबी गरेका छन्।

साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई जोगाउन र विकास गर्न शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिहरूबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा उनले विशेष जोड दिएका छन्। गरिब किसान र श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी कम्युनिष्टहरूको काँधमा रहेको उनले बताएका छन्। 

वि.सं. २००६ साल वैशाख ९ गते सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी सत्ता स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। सोही अवसरमा प्रचण्डले आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा बेपत्ता परिवारजनप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उनले विगतको समीक्षा र वैचारिक संश्लेषणसहित वामपन्थी आन्दोलन पुनर्गठनको सङ्कल्प लिन सम्पूर्ण नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

वैशाख ९, २०८३ बुधबार १०:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।