ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्बिएको घोषणा, नाकाबन्दी भने जारी

ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्बिएको घोषणा, नाकाबन्दी भने जारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याएको घोषणा गरेका छन्। यद्यपि, उनले इरानमाथिको नाकाबन्दी भने कायमै रहने स्पष्ट पारेका छन्।

आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले पाकिस्तानको आग्रहमा युद्धविराम लम्ब्याइएको जानकारी दिएका हुन्।

ट्रम्पका अनुसार, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख (फिल्ड मार्सल) आसिम मुनिरले इरानी नेताहरू साझा प्रस्ताव लिएर नआउन्जेलसम्मका लागि आक्रमण रोक्न आग्रह गरेका थिए।

ट्रम्पले इरानी सरकार आन्तरिक रूपमा विभाजित रहेको दाबी गर्दै अमेरिकी सेनालाई नाकाबन्दी जारी राख्न र जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहन निर्देशन दिएका छन्।

युद्धविरामको समयसीमा सकिनै लाग्दा गरिएको यस निर्णयको पाकिस्तानी प्रधानमन्त्री सरिफले स्वागत गरेका छन्। सामाजिक सञ्जाल 'एक्स'मार्फत ट्रम्पलाई धन्यवाद दिँदै उनले यस कदमले कूटनीतिक प्रयासलाई सघाउ पुग्ने बताएका छन्।

सरिफले इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी 'शान्ति सम्झौता' हुने विश्वास व्यक्त गरे पनि वार्ताको मिति भने खुलाएका छैनन्।

यसैबीच, इरान तत्काल सम्झौताका लागि तयार नभएको भन्दै अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको प्रस्तावित पाकिस्तान भ्रमण रद्द गरिएको ह्वाइट हाउसले पुष्टि गरेको छ।

इरानी अधिकारीहरूसँगको सम्झौतालाई अन्तिम रूप दिन उनी बुधबार इस्लामाबाद जाने कार्यक्रम थियो। यो महिना मात्र भेन्सको यो दोस्रो प्रस्तावित पाकिस्तान भ्रमण थियो।

‘इरान इज्जत जोगाउन खोज्दैछ’
यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुजको विषयलाई लिएर इरानमाथि कटाक्ष गरेका छन्। ट्रम्पका अनुसार इरान दैनिक ५० करोड डलर आम्दानी गुमाउन नचाहने भएकाले उक्त जलमार्ग खुला नै राख्न चाहन्छ।

‘मैले पूर्ण रूपमा नाकाबन्दी गरिदिएकाले उनीहरू आफ्नो इज्जत जोगाउन मात्र जलमार्ग बन्द गर्ने कुरा गरिरहेका छन्’, ट्रम्पले लेखेका छन्। उनले इरानले जलमार्ग खुलाउन चाहे पनि तत्काल त्यसो गर्दा इरानसँग कहिल्यै सम्झौता हुन नसक्ने दाबी गरेका छन्।

ट्रम्पले युद्धविराम लम्ब्याए पनि इरानी बन्दरगाहहरूमा गरिएको नाकाबन्दी हटाएका छैनन्। अर्कोतर्फ, इरानले भने यो नाकाबन्दीलाई युद्धविरामको ठाडो उल्लङ्घन मान्दै आएको छ।

वैशाख ९, २०८३ बुधबार ०८:०४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।