युएईविरुद्ध नेपालको ८ विकेटको जित

युएईविरुद्ध नेपालको ८ विकेटको जित

काठमाडौं : अन्तरराष्ट्रिय टि-ट्वान्टी पुरुष क्रिकेट श्रृङ्लामा नेपालले युएईलाई आठ  विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा  यूएईले  नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो।

जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले।

त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए। कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।

यूएईका  निलांश केसवानी र मुहम्मद अरफानले समान १-१ विकेट लिए। त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए।

नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १-१ विकेट लिए। दुई खेलको उक्त सिरिजमा दुवै टोलीले एक एक खेल आआफ्नो पक्षमा पारे। हिजो भएको पहिलो खेलमा नेपाल युएईसङ ६ विकेटले पराजित भएको थियो।

वैशाख ८, २०८३ मंगलबार २१:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।