रविलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको रिट दरपीठ
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार उक्त रिट निवेदनलाई दरपीठ गर्ने निर्णय भएको हो।
अधिवक्ता आयुष बडालले सभापति लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा विचाराधीन रहेको दाबी गर्दै उनलाई सांसद पदबाट स्वतः निलम्बन हुनुपर्ने मागसहित सोमबार रिट पेस गरेका थिए।
निवेदकले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अन्तिम किनारा लागेर सफाइ नपाउँदासम्म सांसद पद स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको जिकिर गर्दै सोको कार्यान्वयनका लागि परमादेशको माग गरेका थिए। उक्त निवेदनमाथि अध्ययन गरेपछि सर्वोच्च प्रशासनले मंगलबार साँझ दरपीठ गर्ने निर्णय गरेको हो।
निवेदकले कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको विषयलाई आधार बनाएका थिए। यसअघि सोही विषयमा भएको निलम्बनको प्रक्रियालाई समेत निवेदकले सन्दर्भका रूपमा प्रस्तुत गरेका थिए।
वैशाख ८, २०८३ मंगलबार २१:०३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।