तस्बिरमा हेर्नुहोस् रातो मछिन्द्रनाथ रथ यात्रा

तस्बिरमा हेर्नुहोस् रातो मछिन्द्रनाथ रथ यात्रा

काठमाडौं : धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको रातो मछिन्द्रनाथको यस वर्षको रथ यात्रा मंगलबार सुरु भएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ यात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो। 

साइत हेरेर विधिपूर्वक पाटनको तःबहालस्थित मन्दिरबाट रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर वैशाख शुक्ल प्रतिपदाको दिन पुल्चोकमा बनाइएको रथमा पुर्याई विराजमान गराइएको थियो। 

पुल्चोकमा निर्माण गरिएको ३२ हात लामो र ४८ फिट अग्लो रथमा विराजमान गराइएका मच्छिन्द्रनाथलाई रथ यात्राको पहिलो तानेर गाःबहालसम्म पुर्याइएको छ। काठमाडौं उपत्यकामा वर्षाको आगमन र सहकालको संकेत स्वरूप मानिसहरूले श्रद्धा र उल्लासका परम्परागत बाजागाजासहित रथ यात्रामा सहभागिता जनाउने गर्दछन्।

रातो मच्छिन्द्रनाथको रथ गाःबहालबाट तानेर मंगलबजार, सुन्धारा, लगनखेल हुँदै करिब २ महिनामा जावलाखेलसम्म पुर्याइनेछ। रथ जावलाखेलमा पुर्याइएको तेस्रो दिन राष्ट्रपतिको उपस्थितिमा विशेष समारोह आयोजना गरी ऐतिहासिक ‘भोटो देखाउने’ परम्परा पूरा गरी रथ यात्रा  सम्पन्न गरिन्छ। 

भोटो जात्रा सम्पन्न भए लगत्तै रातो मछिन्द्रनाथको मूर्तिलाई पुनः बुङ्गमति लगिन्छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन छ। सात सय वर्षभन्दा पुरानो रातो मछिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भई आषाढ शुक्ल चतुर्थीसम्म सञ्चालन हुन्छ।

वैशाख ८, २०८३ मंगलबार १९:०३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।