भ्रष्टाचार मुद्दामा सफाइ पाएका नापी अधिकृत पुरीविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं : गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका नापी अधिकृत राजु पुरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
नापी विभाग काठमाडौंमा कार्यरत रहँदा पुरीले पदीय मर्यादा दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मंगलबार पुनरावेदन दर्ता गरेको हो।
आयोगले पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा विशेष अदालतले २०८१ जेठ ३० गते पुरीलाई सफाइ दिने फैसला सुनाएको थियो। विशेष अदालतको फैसलामा चित्त नबुझेपछि आयोगले २०८३ वैशाख ८ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।
पुरीले सार्वजनिक सेवाको पदमा रहँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको आयोगको दाबी छ। आयोगले उनीविरुद्ध बिगो बमोजिम जरिवाना, कैद सजाय र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत एवं असुल उपर गर्न मागदाबी गरेको छ।
वैशाख ८, २०८३ मंगलबार १८:४४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।