पुरातत्त्वका सिडिई श्रेष्ठ र देउकलाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा ४ करोड घुस लिएको आरोप
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
निर्माण ठेक्का प्रक्रियामा सहजीकरण गरिदिए बापत ४ करोड २२ लाख ७५ हजार रुपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा व्यवस्थापन गरेको अभियोगमा बुधबार आरोप पत्र दायर गरिएको हो।
सिडिई श्रेष्ठले पुरातत्त्व विभागबाट भएका ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरका विभिन्न ठेक्काहरूमा निर्माण व्यवसायी तथा संयुक्त उपक्रम (जेभी)लाई सहजीकरण गरिदिए बापत घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ।
उक्त रकम उनले सोही विभागमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको नाममा रहेको बैंक खातामा पटक-पटक जम्मा गर्न लगाएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार घुस बापत प्राप्त गैरकानुनी आम्दानी लुकाउने उद्देश्यले श्रेष्ठ र अधिकारीले आपसी मिलेमतोमा विभिन्न सम्पत्तिहरू खरिद गरेका थिए। उक्त रकमबाट नुवाकोटको सुनखानी र काठमाडौं महानगरपालिका-६ मा घरजग्गा खरिद गरिएको पाइएको छ।
त्यसैगरी, ९९.६८ ग्राम सुनका गहना खरिद गरेको र विभिन्न व्यक्तिहरूलाई भुक्तानी दिई सम्पत्तिको अवैध स्रोत लुकाउने (मनी लाउन्डरिङ) प्रयास गरेको आयोगको ठहर छ।
अनुसन्धानका क्रममा उनीहरूले छद्म स्वामित्व सिर्जना गरेको, प्रभावमा रहेका व्यक्तिहरू प्रयोग गरी चेक सटही गरेको र वास्तविक कारोबार मूल्यभन्दा न्यून मूल्य कायम गरी सम्पत्ति हस्तान्तरण गरेको समेत पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार सजायको मागदाबी गरेको छ।
वैशाख ८, २०८३ मंगलबार १८:२९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।