सरकारले अघि बढायो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया

सरकारले अघि बढायो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया

काठमाडौं :  सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन तीन सदस्य सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिको सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेका छन्। केही दिनअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि सरकारले उक्त रिक्त पद पूर्तिका लागि समिति गठन गरिएको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त पदहरूमा पनि नियुक्ति र मनोनयन गरेको छ। समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ। 

यस्ता छन् मुख्य निर्णयहरू :
१. नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल, काठमाडौं सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने ।
२. नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।
३. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
४. मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
५. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।

वैशाख ८, २०८३ मंगलबार १७:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।