गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्र प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्र प्रदर्शन

काठमाडौं : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बिहीबार अपराह्न मन्त्रिपरिषद्को बैठक बसिरहेका बेला निषेधित क्षेत्रभित्र प्रवेश गरी गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नाराबाजी गरेपछि चार जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले सिंहदरबार परिसरभित्रै विरोध प्रदर्शन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

गृहमन्त्री गुरुङ विवादास्पद व्यवसायीसँगको व्यावसायिक साझेदार रहेको खुलेपछि नेविसंघले उनको राजीनामा माग गरेको थियो। उनीहरूले सेयर कारोबारको विवरण सम्पत्ति विवरणमा लुकाएको र मन्त्रीमाथि नैतिकताको प्रश्न उठेकोले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग राखेका छन्। साथै, प्रदर्शनकारीहरूले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने मागसमेत गरे।

नेविसंघका नेता भुवन भट्टले जनताले विश्वास गरेको सरकार र त्यसका मन्त्रीहरू जवाफदेही हुनुपर्ने भन्दै नैतिकताको आधारमा राजीनामाको माग गरिएको बताए। निषेधित क्षेत्रमा नाराबाजी र प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको थियो।

वैशाख ८, २०८३ मंगलबार १७:०३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।