गृहमन्त्री गुरुङविरुद्ध प्रहरीमा निवेदन, पक्राउ गरी अनुसन्धान गर्न माग

गृहमन्त्री गुरुङविरुद्ध प्रहरीमा निवेदन, पक्राउ गरी अनुसन्धान गर्न माग

काठमाडौं : जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरी तत्काल पक्राउ गर्न र उनीमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको छ। 

मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गरेर प्रहरी प्रधान कार्यालयमा पठाएको निवेदनमा गृहमन्त्री गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिएको छ। उनी पदमा बहाल रहँदा स्वार्थको बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने जेनजी मुभमेन्टको भनाई छ।

यसअघि पनि एक वक्तव्य जारी गरेर जेनजी मुभमेन्टले मन्त्रीमाथि सार्वजनिक भएका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनी पदमुक्त हुनुपर्ने जिकिर गरेको छ। निवेदनमा मुलुकी फौजदारी संहिताको प्रक्रियाअनुसार कुनै पनि व्यक्तिमाथि गम्भीर आरोप लागेमा निष्पक्ष अनुसन्धानका लागि तत्काल पक्राउ गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ। 

पदको ओहोदामा रहँदा प्रमाण नष्ट हुन सक्ने (इभिडेन्स ट्याम्परिङ) र न्याय सम्पादनमा अवरोध (अब्सट्रक्सन अफ जस्टिस) हुन सक्ने देखिएकाले उनलाई नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ। राजनीतिक आधारमा पनि मुभमेन्टले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठाएको छ। 

पानी वितरणका नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा समग्र जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको र राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजेको आरोप उनीमाथि लगाइएको छ। आन्दोलनको दुरुपयोग गरी धन आर्जन, पद प्राप्ति तथा बिचौलियाहरूसँग साँठगाँठले जस्ता कार्यले जेनजी शहीदहरूको बलिदान र आन्दोलनका घाइतेहरूप्रति आघात पुर्याएको उल्लेख छ।

निवेदनमा मुख्य गरी गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने, पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबाबमुक्त अनुसन्धान हुनुपर्ने र अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरिएको छ।

वैशाख ८, २०८३ मंगलबार १५:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।