हर्क साम्पाङको गृहमन्त्रीलाई सुझाव - ‘मार्गप्रशस्त गरिदिँदा राम्रो’
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्।
गृहमन्त्रीका गतिविधि र अभिव्यक्तिहरू बारम्बार विवादमा परिरहेको उल्लेख गर्दै साम्पाङले उनलाई पदबाट हटेर 'मार्गप्रशस्त' गर्न सुझाव दिए।
मंगलबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै साम्पाङले गृहमन्त्रीका बारेमा हप्तामा दुई-तीन पटक नकारात्मक वा नयाँ-नयाँ विवादित कुराहरू सुन्नुपर्ने अवस्था आएको बताए।
‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्तामा दुई तीन पटक सुनिरहिन्छ। घरि के घरि के भनेर,’ उनले भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु।’
उनले गृहमन्त्री विवादरहित हुनुपर्नेमा जोड दिए।।
साम्पाङले थपे, ‘त्यो विषयबस्तु त होइन, तर प्रश्न आइहाल्यो। प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला, उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो।’
गृहमन्त्री गुरुङको लगानी र सम्पत्ति विवरणमा देखिएको विवादलाई लिएर उनलाई पदबाट हटाउनुपर्ने दबाब बढ्दो छ।
वैशाख ८, २०८३ मंगलबार १४:४८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।