रास्वपाद्वारा प्रत्यक्षमा नजितेका क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी, कसलाई कहाँको जिम्मा? (सूचीसहित)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूको लागि आफ्ना समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई ‘इन्चार्ज’ को रूपमा खटाइएको हो।
महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको यो निर्णय सार्वजनिक गर्दै प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका क्षेत्रमा संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध स्थापित गर्न सांसदहरूलाई उक्त जिम्मेवारी दिइएको जानकारी दिएका छन्।
पार्टीले सातै प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका लागि सांसदहरूको नाम र सम्पर्क नम्बरसहितको सूची समेत सार्वजनिक गरेको छ।
हेर्नुहोस् कुन जिल्ला/क्षेत्रमा को जिम्मेवार:
कोशी प्रदेश: इलाम-१ मा प्रेम लाल चौधरी, इलाम-२ मा रजनी श्रेष्ठ, खोटाङ-१ मा सृष्टि भट्टराई, पाँचथर-१ मा अफ्साना बानु, भोजपुर-१ मा स्मृति सेन्चुरी, धनकुटा-१ मा सिर्जना श्रेष्ठलगायत अन्य जिल्लामा पनि सांसदहरू तोकिएका छन्।
मधेस प्रदेश: धनुषा-१ मा कामिनी कुमारी र रौतहट-२ मा गजाला शमिम मिकरानीलाई जिम्मेवारी दिइएको छ।
बागमती प्रदेश: सिन्धुपाल्चोक-२ मा प्रमिला कुलुजु र रसुवा-१ मा डा. राम लामालाई खटाइएको छ।
गण्डकी प्रदेश: म्याग्दी-१ मा गंगा छन्त्याल, मुस्ताङ-१ मा शोभा खनाल र मनाङ-१ मा एलिजा गुरुङ जिम्मेवार रहेका छन्।
लुम्बिनी प्रदेश: कपिलवस्तु-३ मा पूनम कुमारी अग्रवाल, बाँके-२ मा सुष्मा स्वर्णकार, रुकुम पूर्व-१ मा रीमा विश्वकर्मा, रोल्पा-१ मा अनुष्का श्रेष्ठ र पाल्पा-१ मा मञ्जु भूषाल रहेका छन्।
कर्णाली तथा सुदूरपश्चिम: कालिकोट-१ मा ज्ञानु पौड्याल, मुगु-१ मा खगेन्द्र कर्ण, अछाम-१ मा टीका संग्रौला, डडेल्धुरा-१ मा करिश्मा कठरिया लगायतका सांसदहरूलाई तोकिएको क्षेत्रको जिम्मेवारी दिइएको छ।
पार्टीले तोकिएको जिम्मेवारीमार्फत संगठनलाई चलायमान बनाउने र जनताका समस्यालाई संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्य राखेको छ। रास्वपाले आफ्नो यस अभियानलाई ‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको कार्यक्षेत्र’ को रूपमा लिएको छ।
वैशाख ८, २०८३ मंगलबार १३:१९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।