गृहमन्त्री बर्खास्तीको मागबीच प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं : सेयर प्रकरणमा मुछिएका गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्नुपर्ने माग चर्किरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरी समय तय गरिएको छ।
गृहमन्त्री गुरुङको लगानी र सम्पत्ति विवरणमा देखिएको विवादलाई लिएर प्रधानमन्त्रीमाथि उनलाई पदबाट हटाउनुपर्ने दबाब बढ्दो छ। प्रधानमन्त्रीले यसबारे लिखित स्पष्टीकरणसमेत लिइसकेका छन्।
गम्भीर राजनीतिक तरंग र जनस्तरबाट समेत चर्को आलोचना भइरहेका बेला बोलाइएको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
मन्त्रिपरिषद्को आजको बैठकमा गृहमन्त्रीको विषयले प्रवेश पाउला वा नपाउला भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ। प्रधानमन्त्री शाहले यसबारे हालसम्म कुनै ठोस निर्णय नलिँदा उनी थप दबाबमा देखिएका छन्।
वैशाख ८, २०८३ मंगलबार १३:१०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।