सिरिज जोगाउने दबाबमा नेपाल, यूएईविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज
काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल आज दोस्रो तथा अन्तिम खेल खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपालका लागि सिरिज जोगाउन गर वा मरको अवस्थामा छ।
साँझ ५ बजेदेखि सुरु हुने ‘डे-नाइट’ खेलमा नेपाल पहिलो खेलमा बेहोरेको हारको बदला लिने र सिरिजलाई १-१ को बराबरीमा ल्याउने लक्ष्यसहित मैदान उत्रनेछ।
यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा ६ विकेटले पराजित भएको थियो। यस जितसँगै यूएईले सिरिजमा १-० को अग्रता बनाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो।
नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ बलमा अविजित ३२ रन बनाए। यस्तै, कुशल मल्लले १७, कुशल भुर्तेलले १६, वसिर अहमदले १४ र नन्दन यादवले १३ रनको योगदान दिए।
नेपालको इनिङ्सलाई सस्तैमा समेट्न यूएईका मोहम्मद जुहैबले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने जुनैद सिद्दिकीको नाममा २ विकेट रह्यो।
वर्षाका कारण खेल १० ओभरमा छोट्याइएपछि यूएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य यूएईले ८.५ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्यो।
यूएईको जितमा कप्तान मोहम्मद वसिमले विष्फोटक ब्याटिङ गर्दै १५ बलमा ३३ रन (३ चौका र ३ छक्का) बनाए। त्यस्तै अलिशन शराफुले १८ र अक्षदीप नाथले अविजित १७ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए पनि टोलीको हार टार्न पर्याप्त भएन। कुशल मल्लले १ विकेट लिएका थिए।
पहिलो खेलमा ३ विकेट लिएका यूएईका मोहम्मद जुहैब ‘प्लेयर अफ द म्याच’ घोषित भए। सोही खेलबाट नेपालका तीव्र गतिका बलर हेमन्त धामीले टी-२० अन्तर्राष्ट्रियमा डेब्युसमेत गरेका छन्।
घरेलु मैदानमा समर्थकको साथ पाएको नेपाललाई आजको खेल जितेर शृङ्खलामा फर्कनुपर्ने दबाब छ।
वैशाख ८, २०८३ मंगलबार १०:२१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।