ब्लड प्रेसर जँचाउन अस्पताल पुगेका ५५ वर्षीय पुरुषको ढलेर मृत्यु

ब्लड प्रेसर जँचाउन अस्पताल पुगेका ५५ वर्षीय पुरुषको ढलेर मृत्यु

जिरी : दोलखाको जिरी नगरपालिका-५, लिङ्कन बजारका एक पुरुषको अस्पतालमा रक्तचाप (ब्लड प्रेसर) जँचाउने क्रममा अचानक ढलेर मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय सान्तवीर तामाङ रहेका छन्।

प्रहरीका अनुसार, वैशाख ७ गते साँझ स्वास्थ्यमा समस्या देखिएपछि (उच्च रक्तचापका कारण) तामाङलाई उपचारका लागि जिल्ला अस्पताल जिरी लगिएको थियो।

राति करिब ८ बजेको समयमा अस्पतालमा चिकित्सकबाट रक्तचाप परीक्षण गराउँदै गर्दा उनी एक्कासि ढलेर बेहोस भएका थिए। बेहोस भएका उनलाई तत्कालै मृत घोषणा गरिएको थियो।

अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीले घटनाबारे तत्काल इलाका प्रहरी कार्यालय (इप्रका) जिरीलाई जानकारी गराएका थिए।

खबर प्राप्त हुनासाथ इप्रका जिरीबाट प्रहरी सहायक निरीक्षक (असई) लिलाबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो।

हाल मृतक तामाङको शव पोस्टमार्टम तथा कानुनी प्रक्रियाका लागि जिल्ला अस्पताल जिरीकै शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

वैशाख ८, २०८३ मंगलबार ०९:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।