चिया पिउने क्रममा लडेर गम्भीर घाइते भएका व्यक्तिको मृत्यु

चिया पिउने क्रममा लडेर गम्भीर घाइते भएका व्यक्तिको मृत्यु

धादिङ : धादिङको धुनिवेशी नगरपालिका-४, तेर्सेपानीमा चिया पिउने क्रममा अचानक लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सानुबाबु तामाङ रहेका छन्। 

प्रहरीका अनुसार, वैशाख ७ गते साँझ करिब ५ बजेतिर घरबाट एक किलोमिटर टाढा रहेको चिया पसलमा चिया पिउँदै गर्दा तामाङ अचानक ढलेका थिए। त्यसरी ढल्ने क्रममा उनी करिब २० देखि २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए।

घाइते तामाङलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो। तर, उपचारकै क्रममा सोही राति ९:३० बजे उनको निधन भएको प्रहरीले जनाएको छ। 

अस्पतालमा रहेका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय खानीखोलामा राति ९:३५ बजे घटनाबारे औपचारिक जानकारी आएको थियो।

लगत्तै घटनाको अनुसन्धानका लागि प्रहरी चौकी जीवनपुरबाट प्रहरी सहायक निरीक्षक (असई) दुर्गाबहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा मृतक तामाङलाई छारे रोगको समस्या रहेको बुझिएको प्रहरीले जनाएको छ। छारे रोगकै कारण अचानक बेहोस भई उनी भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको छ।

वैशाख ८, २०८३ मंगलबार ०९:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।